एमसीसी सम्झौता अनुमोदनमा प्रतिपक्षी एमालेको भूमिका सकारात्मकः नेपाली कांग्रेस



काठमाडौं । नेपाली कांग्रेसले एमसीसी सम्झौता अनुमोदन गर्न एमालेले राम्रो सहयोग गरेको बताएको छ । संसदबाट एमसीसी अनुमोदन भएको भोलिपल्ट अर्थात् सोमबार पार्टीको धारणा सार्वजनिक गर्दै कांग्रेसले एमसीसी सम्झौता अनुमोदन गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अन्य कारणले संसदीय प्रक्रियामा सहभागी नभए पनि सहयोग गरेको बताएको छ ।

नेपाली कांग्रेस पार्टी सत्य र यथार्थको धरातलमा उभिएर सत्तामा हुँदा र नहुँदा सधैं देश र जनताको हितमा एकनाससँग लागिरहेको जनाएको छ ।

एमसीसीको सन्दर्भमा पार्टीको दृष्टिकोणमा एकरुपता र निरन्तरता रहेको जारी विज्ञप्तिमा उल्लेख छ । अन्ततोगत्वा नेपाली जनताको निर्वाचित संसदले यसलाई अनुमोदन गरेको स्मरण गराएको छ ।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जारी गरेको विज्ञप्तिमा एमसीसी सम्झौता पारित गर्न पक्षमा मतदान गर्ने सबै राजनीतिक दल तथा सांसदहरुलाई धन्यवाद दिएको छ ।

कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुबीच सहमति जुटाउन गरेको निरन्तर प्रयास, देखाएको धैर्यता, अपनाएको लचकता तथा सुझबुझपूर्ण र परिपक्क निर्णय प्रशंसनीय रहेको उल्लेख छ ।

एमसीसी पारित गर्न गठबन्धनमा रहेका राजनीतिक दलका नेताहरुको सहमतिमा सरकारले ल्याएको व्याख्यात्मक घोषणाले यसका सम्बन्धमा विभिन्न क्षेत्रबाट उठाइएका भ्रम र सन्देहलाई चिर्न ठूलो मद्दत पुर्याएको जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्झौता पारित भएपछि अमेरिकाले समेत स्वागत गरिसकेको बताउँदै कांग्रेसले एमसीसी अनुदान सहयोग अन्तर्गतका परियोजनाहरु कार्यान्वयनमा जाने सुनिश्चित भएको बताएको छ ।


क्लिकमान्डु