रुसमाथि पश्चिमा देशले लगाएको आर्थिक प्रतिबन्धको असरः ब्याजदर बढेर २०% पुग्यो



तस्बिर: रोयटर्स

रुसले युक्रेनमाथि सैन्य आक्रामण गरेको निन्दा गर्दै युरोपियन देशहरुले लगाएको प्रतिबन्धको असर देखिन थालेको छ । यसैबीच रुसको केन्द्रीय बैंकले ब्याजदरमा भारी अंकले वृद्धि गरेको छ ।

रुसको केन्द्रीय बैंकले ब्याजदर ९.५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याएको छ । यसलाई त्यहाँको केन्द्रीय बैंकले आपतकालिन कदम भनेको छ ।

पश्चिमा देशहरुले लगाएको आर्थिक प्रतिबन्धका कारण रुसको मुद्रा रुबलको घट्दो मूल्य र बढ्दो महंगीका कारण यो कदम उठाइएको हो ।

रुसको आर्थमन्त्रालयका अनुसार मस्कोका कम्पनीहरुलाई विदेशी मुद्रा राजस्वको ८० प्रशितमा बिक्री गर्न आदेश समेत दिइएको छ ।

केन्द्रीय बैंकले मूल्यवृद्धि ४ प्रतिशतमा सीमित गर्ने र यसका लागि हरसम्भवका प्रयास गर्ने समेत जनाएको छ । ब्याजदर बढाउँदा निक्षेप बढ्ने अपेक्षा गरिएको छ ।

यसअघि सन् २०१४ मा रुसले युक्रेनको क्रिमियामाथि हस्तक्षेप गर्दा ब्याजदर १७ प्रतिशतसम्म पुगेको थियो । तत्कालीन समयमा पनि पश्चिमा देशहरुले केही रुसका बैंकहरुलाई स्वीफ्ट इन्टरनेशनल पेमेन्ट सिस्टमको पहुँचमा प्रतिबन्ध लगाएका थिए ।

केन्द्रीय बैंकले जारी गरेको बयान अनुसार रुसको अर्थव्यवस्थाको बाहिरी आवरण निकै धेरै परिवर्तन भएको छ ।- बीबीसी


क्लिकमान्डु