दुध बोकेको गाडी तोडफोड, क्षतिपूर्ति दिन डेरी एशोसिएसनको आग्रह



काठमाडौं । बन्द हडतालका कारण आज बिहान दुध बोक्ने गाडीमा तोडफोड भएको छ । एमसीसी पास भएको विरोधमा विभिन्न राजनीतिक दलले गरेको बन्दले काभ्रेको बनेपामा रहेको शुभारम्भ डेरीबाट बिहान दुध ढुवानीमा आउँदा काठमाडौंको सुकेधारामा बिहन ६ बजे तोडफोड भएको हो ।

सरकारले दुग्ध क्षेत्र अति आवश्यक वस्तुको सुचीमा राखेको छ । विगतदेखि नै बन्द, हड्ताल, कोभिड वा अन्य जुनसुकै अवस्थामा पनि बिना रोक ढुवानी भैरहेकोमा यसपटक गाडी तोडफोड एवं ढुवानीमा समेत अवरोध सृजना भएकोमा नेपाल डेरी एशोसिएसनले दुख व्यक्त गरेको छ ।

राज्यले नीति नियम बनाउने तर गरिने व्यवहारम भने त्यो अनुसार नगर्दा समस्या पर्न गएको एशोसिएसनको भनाइ छ ।

सरकारले दुध तथा दुग्ध पदार्थ ढुवानीमा सहजता हुनुपर्ने भन्दै आएकोमा बन्द, हडताल, नाकाबन्दी, लकडाउन जस्ता समयमा सहज होस् भनि राष्ट्रिय दुग्ध विकासको नेतृत्वमा प्रतीक चिन्ह (लोगो) निर्माण गरी सञ्चालनमा ल्याएको थियो । तर, अहिले सो व्यवस्था सञ्चालनमा रहेपनि तोडफोड भएको एशोसिएसनले जनाएको छ ।

उक्त बन्द हडतालका कारण तोडफोड गरिएको गाडीको क्षतिपूर्ति दिन सम्बन्धित बन्दकर्ता राजनीतिक दललाई एशोसिएसनले अनुरोध गरेको छ ।


क्लिकमान्डु