एमसीसीमा व्याख्यात्मक टिप्पणी पेश गर्न सभामुखले रुलिङ गर्ने तयारी, संसद बैठक बस्दै



काठमाडौं । नेकपा माओवादी केन्द्रले व्याख्यात्मक टिप्पणीसहित एमसीसी सम्झौता पारित गर्ने निर्णय गरेपछि प्रतिनिधिसभाको बैठकमा सरकारसँग व्याख्यात्मक टिप्पणी माग गर्ने तयारी भएको छ ।

स्रोतका अनुसार आज बस्ने प्रतिनिधिसभाको बैठकमा कुनै एक सांसदले अमेरिकी सरकारसँग गरिएको एमसीसी कम्प्याक्ट सम्झौताका विभिन्न बुदाँमा व्याख्या पेश गर्न सरकारसँग माग गर्न लागेका हुन् ।

विशेष गरी एमसीसी सम्झौता नेपालको कानूनभन्दामाथि नभएको, एससीसी परियोजनामा हुने खर्चको लेखा परीक्षण महालेखा परीक्षकले नै गर्न पाउने, एमसीसी परियोजना कुनै सैन्य सहयोग अन्तर्गत नभएको लगायतका विषयमा प्रष्टरुपमा व्याख्यात्मक टिप्पणी पेश गर्न आजको बैठकमा सांसदले माग गर्ने तयारी गरिएको छ ।

बैठकमा सरकारका तर्फबाट व्याख्यात्मक टिप्पणी पेश गर्न माग भए सभामुखले सरकारलाई सांसदले माग गरे अनुसार टिप्पणी पेश गर्न रुलिङ गर्ने तयारी छ ।

सभामुखले व्याख्यात्मक टिप्पणी पेश गर्न रुलिङ गरे मन्त्रिपरिषद्ले व्याख्यात्मक टिप्पणी पारित गर्दै संसदमा पेश गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द परियारले जानकारी दिए ।

‘सरकार आफैँले व्याख्यात्मक टिप्पणी पेश गर्ने भन्ने हुँदैन,’ परियारले भने, ‘संसदले व्याख्यात्मक टिप्पणी पेश गर्न माग गरेमा आजै मन्त्रिपरिषद्को बैठकले व्याख्यात्मक टिप्पणी पारित गर्दै संसदमा पेश गर्नेछ ।’

स्रोतका अनुसार सरकारले संसदमा पेश गर्ने व्याख्यात्मक टिप्पणीको ड्राफ्टमा शनिबार नै शीर्ष नेताबीच सहमति भइसकेको छ । यस्तै उक्त ड्राफ्ट नेपाल स्थित अमेरिकी राजदूतावासका माध्यमबाट एमसीसी मुख्यालयमा पठाइसकिएको छ ।

‘संसदले एमसीसी पास गर्ने र गठबन्धन पनि नटुट्ने सहमति बनिसकेको छ’ स्रोतले भन्यो, ‘यसका लागि कानूनी प्रक्रिया पूरा गर्न हामी लागिरहेका छौँ ।’

अहिले माओवादी केन्द्रकाे केन्द्रीय कार्यसमितिको बिस्तारित बैठक र नेकपा एकीकृत समाजबादीको स्थायी कमिटि बैठक बसिरहेकाले संसद बैठक निर्धारित समयमा शुरु हुन सकेको छैन ।

शनिबार भएको सत्तारुढ दलहरु कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजबादीबीच भएको सहमतिअनुसार दुबै दलको स्थायी कमिटि बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पास गर्ने र एमसीसीका पक्षमा मत दिने निर्णय गर्ने सम्भावना छ ।


क्लिकमान्डु