दिदी-बहिनीले बनाए ‘बिहे नेपाल’ एप, भिआइपी क्लवको शुल्क ४९ हजार



काठमाडौं । तपाईंलाई कसैले हातमा रहेको मोबाइलबाट के-के काम गर्नुहुन्छ भनेर सोध्यो तपाईंको उत्तर के होला ? फोन सम्पर्क, म्यासेज आदानप्रदान, सोसल मिडिया, न्यूज वा अन्य यस्तै यस्तै ।

तर, मोबाइलको उपयोगिता यतिमा मात्रै सीमित छैन । प्रविधिको द्रुततर विकासले यसको प्रयोग र आवश्यकता बढाइदिएको छ । र, जीवनको अभिन्न अंग जस्तै भइसकेको अवस्था छ ।

पछिल्लो समय मोबाइलको अत्यधिक प्रयोग भुक्तानीमा पनि हुन थालेको छ । जसले गर्दा मासिक अर्बौ रुपैयाँ मोबाइलबाट मात्रै कारोबार हुन थालेको छ । फलस्वरुप गोजीभरी नगद बोक्नु नपर्ने अवस्था आइसकेको छ ।

यसैबीच नेपालमा मोबाइल एपबाटै जीवन साथी खोज्न पाइने भएको छ । र, यसलाई सार्थक बनाएका छन्, दुई दिदी बहिनी श्रद्धा र श्रेया कटुवालले ।

न्यूजिल्याण्डबाट सिभिल इञ्जिनियरिङमा मास्टर्स पूरा गरेर फर्किएकी श्रद्धा र सफ्टवेयर इञ्जिनियरिङ श्रेयाले बिहीबार ‘बिहे नेपाल’ नामक मोबाइल सार्वजनिक गरे ।

भारतलगायतका अन्य देशमा अनलाइनबाटै जोडी खोज्ने चलन पुरानो भइसक्दा पनि नेपालमा यसप्रकारको एप आइसकेको थिएन । अथवा, आएका एकाध एप विश्वासयोग्य थिएनन् वा छैनन् ।

तर, यी कटुवाल दिदी बहिनीले भने १ वर्षको मिहेनतपछि यो एप सार्वजनिक गरे ।

बहिनी श्रेया र उनका केही साथीहरुले सफ्टवेयर इञ्जियिरिङ अध्ययनका क्रममा कलेजमा ‘मेरो जोडी’ नामक एप बनाएका थिए ।

‘बहिनीका साथीहरुले पछि यो एप यत्तिकै छाडिदिए, मलाई पनि यसैमा काम गर्ने रहर पलायो,’ उनले भनिन्, ‘पछि मम्मीले पनि सहयोग गर्नुभएपछि ‘मेरो जोडी’ एप ‘बिहे नेपाल’ एप बन्न सम्भव भएको हो ।’

शुक्रबार क्लिकमाण्डूसँग कुरा गर्दै श्रद्धा कटुवालले एक दिनमै १० हजारभन्दा बढी पटक एप डाउनलोड भइसकेको बताइन् ।

एन्ड्रोइड र आइएसओ दुबै प्रयोगकर्ताका लागि उपलब्ध यो एप जीवन साथी खोजिरहेकाहरुका लागि निकै उपयुक्त भएको श्रद्धा कटुवाको दाबी छ । एप बनाउनका लागि ३० देखि ४० लाख रुपैयाँसम्म खर्च भइसकेको छ ।

यो एप सार्वजनिक भएपछि जसरी डाउनलोड भइरहेको छ यस हिसाबले आवश्यक रहेछ भन्ने भान आफूलाई भएको कटुवालले बताइन् ।

‘शुरुमा यति छिटो गतिमा डाउनलोड होला भन्ने लागेको थिएन, हिजोदेखि आजसम्म त ओभरलोड हुने अवस्था आएको छ,’ उनले भनिन् ।

यो एपमा गइसकेपछि जीवन साथी खोज्न सकिन्छ । त्यसका लागि तपाईंले शुरुमा परिचय भेरिभाइ गर्नका लागि आधिकारिक परिचय पत्र आवश्यक पर्छ । अर्थात् ड्राइभिङ लाइसेन्स, नागरिकता वा अन्य कुनै । अनलाइनबाटै भेरिफाइ भएपछि बल्ल जीवन साथी खोज्ने प्रक्रिया शुरु हुन्छ । एपमा प्रयोगकर्ता साथी मात्रै पनि बन्न पाउँछन् भने डेट जानका लागिवा बिहे गर्ने प्रयोजनले पनि एप प्रयोग गर्न सकिन्छ ।

एप डाउनलोडको गति तीव्र भए पनि यसमा महिलाहरुको संख्या भने पुरुषको तुलनामा निकै कम भएको श्रद्धाको भनाइ छ ।

‘प्रत्येक ८ जना पुरुष बराबर एकजना महिलाले रजिष्ट्रर गर्नु भएको छ, सायद सार्वजनिकरुपमा आफ्नो परिचय खुलाउन पुरुषको तुलनामा महिलालाई गाह्रो भएकाले हुनसक्छ,’ उनले भनिन् ।

उनका अनुसार हाल यो एप प्रयोग गर्न, म्याचिङ गर्न, च्याट गर्नका लागि कुनै पनि शुल्क लाग्दैन । तर, यदि तपाईं भीआइपी क्लव प्रयोग गर्नुहुन्छ भने त्यसका लागि ४९ हजार रुपैयाँ शुल्क लाग्नेछ ।

भिआइपी क्लबमा एक पटक मात्रै ४९ हजार रुपैयाँ शुल्क लिइन्छ । त्यसपछि सोही आइडीबाट चलाउनका लागि थप रकम बुझाउनु पर्दैन । भिआइपी क्लाबमा सबैको पहुँच हुँदैन । यद्यपि भीआइपी क्लबमा सदस्यहरु बन्ने क्रम शुरु हुन मात्रै लागेको छ । यो एपमा १८ वर्ष उमेरभन्दा माथिका व्यक्तिहरु जोडिन सक्छन् ।

उसो त हाम्रो समाजमा अझै पनि बिहे गर्नका लागि केटी हेर्न जाने चलन कायमै छ । यस्तो अवस्थामा आफूले रोजेको जीवन साथी मोबाइल एपबाटै खोज्न पाउनु आफैमा नयाँ विषय पनि हो ।

कम्पनीले हालसालै आम्दानीका लागि कुनै योजना बनाए पछि आगामी दिनमा ब्राण्ड प्रमोसन र सब्सक्रिप्सनमार्फत् आम्दानी गर्ने योजना बनाएको छ ।


कमलकुमार बस्नेत