रुस र युक्रेन द्वन्द्वको प्रभावः नेपालमा सुनको मूल्य एकैदिन २५ सय रुपैयाँले बढ्यो



काठमाडौं । पछिल्लो समय रुस र युक्रेनबीच तनाव झनै बढ्दै गएको छ । युक्रेनले नेटोसँग निकटता देखाएपछि रुसले आपत्ति जनाएर हमला गर्ने चेतावनी दिएपछि दुवै देशबीच तनाव बढेको हो ।

रुस र युक्रेनमा तनाव बढेसँगै यसको प्रभाव आर्थिक तथा व्यापारिक क्षेत्रमा पनि पर्न थालेको छ । नेपालमा पनि त्यसको असर देखिन थालेको छ । उक्त तनावले गर्दा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उकालो लाग्दै गएको छ । नेपालमा पनि बिहीबार एकै दिन सुनको मूल्य प्रतितोला २५ सय रुपैयाँले बढेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय रुपैयाँ कायम भएकोमा बिहीबार २५ सय रुपैयाँले बढेर ९९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

करिब डेढ वर्षअघि साउनमा सुनको मूल्य ९९ हजार रुपैयाँ कायम भएको थियो । त्यसपश्चात भने सुनको मूल्य निरन्तर घटेर ८८ हजार रुपैयाँसम्म कायम भएको थियो ।

तर, रुस र युक्रेनबीच तनाव बढेसँगै सुनको मूल्य बढ्दै गएको महासंघका अध्यक्ष माणिकरत्न शाक्य बताउँछन् । उनका अनुसार लामो समयसम्म घट्बढ भइरहेता पनि दुई देशबीच द्धन्द्ध बढेसँगै सुनको मूल्य दिनप्रति दिन बढ्दै गएको छ ।

‘रुस र युक्रेनबीचको तनाव शुरु भएको छ । अन्तर्राष्ट्रिय बजारको राजनीति तनाव बढेकाले सुनमा प्रभाव परेको हो,’ उनले क्लिकमाण्डूसँग भने ।

नेपालमा अन्तर्राष्ट्रिय डरलको मूल्यको आधारमा मूल्य तय हुने गर्दछ । सोहीअनुसार बजारमा सुनको मूल्य कायम हुँदै आएको छ । अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै गएको उनको भनाइ छ ।

त्यस्तै, अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढ्दै गएको र माग पनि बढ्दै गएको हुनाले अझै सुनको मूल्य बढ्न सक्ने उनको भनाइ छ । ‘तत्कालको अवस्था हेर्दा सुनको मूल्य घट्दैन,’ उनले भने, ‘अझ रुस र युक्रेनको तनाव बढ्दै गए सुनको मूल्य झन बढ्नेछ ।’ शाक्यका अनुसार सुनको मूल्य घट्नेभन्दा बढ्ने देखिएको छ ।

त्यसैगरी, बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ कायम भएको थियो भने बिहीबार ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ । साथै, चाँदीको मूल्य प्रतितोला १३ सय २० रुपैयाँ कायम भएकोमा बिहीबार ३५ रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु