अवैध कल सेन्टरबाट चिनियाँ नागरिकसहित ८० जना पक्राउ



भक्तपुर । प्रहरीले अवैध कल सेन्टर संचालन गरेको अभियोगमा ८० जनालाई पक्राउ गरेको छ ।

सानोठिमीस्थित घर भाडामा लिएर अवैध रुपमा कल सेन्टर सञ्चालन गरिरहेका सन सिटी अपार्टमेन्टको १२०६ नम्बर कोठामा बस्दै आएका चिनियाँ नागरिक २९ वर्षीय वाङजिनाव सहित ८० जनालाई आजै प्रहरीले पक्राउ गरेको हो ।

भारतीय मुलका युवा युवतीहरुलाई छोटो समयको लागि कुनै सिस्टममार्फत ५ देखि १० हजारसम्म सानो सानो मात्रामा ऋण लगानी गरी निश्‍चित ब्याज सहित तोकिएको समयभित्र उठाउन ऋणिहरुलाई कल सेन्टर मार्फत सम्पर्कमा ल्याउने, ऋण नतिरे थर्काउने, गाली गर्ने, धम्काउने जस्ता कार्य संचालन गर्ने गरेको पाइएको छ ।

चिनियाँ नागरिक वाङजिनावले नेपाली युवा युवतीहरूको प्रयोग गरी कल सेन्टर संचालन गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उक्त घरबाट ४७ जना महिला र ३३ जना पुरुष गरी ८० जनालाई पक्राउ गरेको हो । उक्त कार्य संचालन गर्न प्रयोग भएका १४ थान डेस्कटप कम्प्युटर, ४८ थान ल्याप्टप र २ थान आइप्याड प्रहरीले बरामद गरेको छ ।


क्लिकमान्डु