बेरोजगारलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध हुनका लागि आवेदन खुल्ला



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोगार व्यक्तिहरूलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध हुनका लागि आवेदन खुल्ला गरेको छ । मन्त्रालयले आज एक सुचना जारी गर्दै बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन निवेदन दर्ता गर्न आवेदन खुलाएको हो ।

‘प्रत्येक नेपाली नागरिकलाई रोजगारीको हक प्रत्याभूति गराउन तोकिएको मापदण्ड पूरा गरेका नेपाली नागरिकले रोजगारीको हक सम्बन्धी नियमावली, २०७५ को नियम ७ बमोजिम आफू स्थायी बसोबास गरेको वडा कार्यलयमा वा स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमा फागुन महिनभरि आर्थिक वर्ष २०७९÷०८० का लागि निवेदन दिन सूचना प्रकाशन गरिएको छ,’ सूचनामा उल्लेख छ ।

मन्त्रालयले बेरोजगार व्यक्ति १८ वर्षदेखि ५९ वर्ष उमेर समूहको हुनुपर्ने उल्लेख गरेको छ । त्यसैगरी, निवेदन दिँदाको मितिसम्म सोही आर्थिक वर्षमा न्यूनतम एक दिनको रोजगारमा संलग्न नभएको हुनुपर्नेछ । साथै, स्वरोजगारमा संलग्न व्यक्तिको हकमा निवेदन दिँदाको मितिसम्म सोही आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारीबापत प्राप्त गर्ने नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक बराबरको आय (चालु आर्थिक वर्षको सन्दर्भमा ५७ हजार ७ सय) भन्दा कम आय भएको हुनुपर्नेछ ।

मन्त्रालयले सूचिकरण प्रक्रियामा रितपूर्वक प्राप्त आवेदनलाई वडा कार्यालयले छानवीन गरी बेरोजगार ठहर हुने सबै मापदण्ड पूरा गरेको प्रमाणित गर्नुपर्ने उल्लेख गरेको छ ।


क्लिकमान्डु