भैरहवा विमानस्थलमा भोलिदेखि क्यालिब्रेसन फ्लाइट, बुद्ध पूर्णिमादेखि व्यवसायिक उडान हुने



बिहीबार काठमाडौं आइपुगेको एरो थाइ विमान

काठमाडौं । भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट जेठ २ गते बुद्ध पूर्णिमाको अवसर पारेर व्यवसायिक उडान गरिने भएको छ ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सबै तयारी पूरा भएको भन्दै बुद्ध पूर्णिमादेखि व्यवसायिक उडान शुरु गरिने बताए ।

यसका लागि प्राधिकरणले भोलि शुक्रबारदेखि एक सातासम्म एरो थाइ विमानबाट क्यालिब्रेसन फ्लाइट शुरु गर्दैछ । क्यालिब्रेसन फ्लाइटपछि परीक्षण उडान गरिने छ ।

क्यालिब्रेसन उडानका लागि एरो थाइ विमान बिहीबार ३ बजे काठमाडौं आइपुगेको छ भने आजै भैरहवा जानेछ । क्यालिब्रेसनका लागि ५० देखि ६० लाख रुपैयाँ खर्च हुने अधिकारीले जानकारी दिए ।

महानिर्देशक अधिकारीले भैरहवा विमानस्थलले हाल १५ देखि २० लाख यात्रुलाई वार्षिक सेवा दिन सक्ने भन्दै नयाँ बन्ने दोस्रो टर्मिनल भवन बनेपछि ७० लाख यात्रुलाई सेवा दिन सक्ने बताए ।

कोरोना नभएको भए वर्षेनी १० लाखका दरले यात्रुको चाप थपिन्थ्यो । त्यो चाप काठमाडौंको विमानस्थलले एक्लै थाम्न सक्ने कुरा हुँदैन । त्यसैले बढी चाप थेग्नका लागि भैरहवामा दोस्रो टर्मिनल भवन निर्माण हुनु आवश्यक भएको उनको भनाइ छ ।


क्लिकमान्डु