२ अर्ब लगानीमा पोखरामा अन्नपूर्ण केबुलकार निर्माण सम्पन्न, शुक्रबारदेखि सञ्चालन



काठमाडौं । पर्यटकीय नगरी पोखराको सेँदीमा रहेको अन्नपूर्ण केबुलकार शुक्रबार अर्थात् माघ ६ गतेदेखि सञ्चालनमा आउने भएको छ ।

कम्पनीका महाप्रबन्धक दिनेश पौडेलका अनुसार शुक्रबारदेखि सफ्ट ओपनिङ गर्न लागिएको हो ।

‘शुक्रबारदेखि यात्रुहरुले सेवा लिन सक्नुहुन्छ, यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ,’ उनले भने ।

पर्यटकीय नगरी पोखरामा फेवाताल र लेकसाइडमा रमाउनेहरुका लागि पछिल्ला केही वर्षयता समय बिताउने अन्य विकल्प पनि थपिँदै जाने क्रममा केबुलकार पनि थपिएको हो । यसअघि पोखरामा जाने पर्यटकहरुले प्याराग्लाइडिङ, जीपलाइन र बञ्जी, जायन्ट स्वीङ गर्दै आएका थिए ।

कोरोना महामारीका कारण निर्माणमा केही ढिलाइ भएको अन्नपूर्ण केबुलकार सञ्चालन ढिला गरिएको भएको हो । यसअघि गत दशैं अघि नै सञ्चालन गर्ने लक्ष्य लिइए पनि दशैं र तिहारमै सञ्चालन गर्ने गरी काम अगाडि बढाइएको बताए ।

तत्कालीन समयमा जापानबाट प्राविधिकहरु आउन नसकेपछि सञ्चालनको मिति पछि धकेलिएको थियो ।

फेवातारको किनारादेखि सराङकोटसम्म पुग्ने केबुलकार २ हजार २७५ मिटर लम्बाइको हुनेछ । जसमा १३ वटा टावर रहनेछन् भने १८ वटा गोण्डुलाले यात्रु ओसारपसार गर्नेछन् ।

महाप्रबन्धक पौडेलका अनुसार २ किलोमिटरको दूरी पार गर्नका लागि ८ मिनेटको समय लाग्नेछ । एउटा गोण्डुलामा बढीमा ९ जनाका हिसाबले १४४ जनाले एकैसाथ यात्रा गर्न सक्नेछन् ।

केबुलकार सञ्चालन भएपछि विशेष गरी पोखराबाट सराङकोटमा सूर्योदय हेर्न जानेका लागि सहज हुनेछ । त्यसका लागि केबुलकार विहान ५ बजेदेखि नै सञ्चालन गरिने गरी योजना कम्पनीको छ । यद्यपि हाल विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मात्रै केबुलकार सञ्चालन हुनेछ । जसमा हाल दैनिक २ सयदेखि ३ सयले यात्रा गर्ने अपेक्षा गरिएको छ ।

सराङकोटबाट अन्नपूर्ण हिमालको रेञ्ज र माछापुछ्रे हिमालसँगै फेवातालको मनोरम दृश्यावलोकन समेत गर्न सकिनेछ ।

केबुलकारमा यात्रा गर्दा हिमाल, ताल, हरियाली वन जंगल तथा पोखराको सुन्दर दृश्य देख्न सकिन्छ । कम्पनीले पूर्ण क्षमतामा सञ्चालन गर्दा दैनिक १५ सय मानिसलाई सेवा दिन सक्नेछ । कम्पनीले भविष्यमा ३५ वटासम्म गोण्डुला सञ्चालन गर्न सक्ने योजना बनाएको छ ।

कम्पनीले सेदीदेखि सराङकोटसम्ममा बीच बाटोमा तार मुनी पर्ने राइट अफ वेमा पर्ने जग्गा अहिले स्थानीयसँग खरिद गरिसकेको छ । शुरुमा कम्पनीले उक्त जग्गाधनीलाई सेयरधनी बनाउने निर्णय गरेको थियो ।

हाल कम्पनीमा २० प्रतिशत लगानी स्थानीइबासी, १५ प्रतिशत जापानी लगानीकर्ता र बाँकी ६५ प्रतिशत लगानी कालु गुरुङ र उनको समूहको लगानी छ ।

कम्पनीले केबुलकारका लागि नेपालीलाई ७ सय रुपैयाँ टिकटदर तोकेको छ । साथै सार्क राष्ट्रका नागरिकलाई ८ सय रुपैयाँ र अन्य विदेशी नागरिकलाई ९ डलर टिकट दर निर्धारण गरेको छ ।


क्लिकमान्डु