निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अब विलम्ब हुँदैन्ः पर्यटनमन्त्री



काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम छिट्टै थाल्ने बताएका छन् । 

उनले तत्कालै रुख कटानको काम द्रुत गतिमा सुरु गरिने बताए । मन्त्री अलेले अब निजगढ विमानस्थल निर्माणमा विलम्ब नहुने जिकिर गर्दै बजेटको व्यवस्था हुनासाथ काम अघि बढ्ने दाबी गरे । 

सिमरामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढाउनुपर्‍यो भनेर माधव नेपालले आफूलाई निर्देशन दिएको बताए । ‘अस्ति मात्रै उहाँले प्रधानमन्त्री शेरबहादुर। देउवासँग बालुवाटारमा गठबन्धनका सबै नेताहरूको उपस्थितिमा यो विषयमा छलफल गर्नुभएको थियो, सबै सरोकारवाला मन्त्रीहरूसँग बसेर छलफल भएको थियो । त्यति बेला छिट्टै निजगढमा जानुपर्छ भन्ने कुरा भएको थियो’ उनले भने ‘ हिजो मात्रै माधव नेपाल, रामचन्द्र पौडेललगायत धेरै माननीयज्यूहरू यहाँ स्थलगत अवलोकनको लागि आउनुभयो । मन्त्रीहरू आउनुभयो । प्रचण्ड ज्यू पनि आउने कार्यक्रम थियो, अर्थमन्त्री पनि आउने कार्यक्रम थियो । कार्यव्यस्ताको कारण उहाँहरू आउन सक्नुभएन, तर जे आवश्यकता पर्छ, बजेटको चिन्ता नगर्नुहोस् भनेर मलाई अर्थमन्त्रीले भन्नुभयो ।’ मन्त्री आलेले वरिष्ठ नेता, मन्त्री, सांसदकाको उपस्थितिमा मङ्गलवार मात्रै स्थलगत अवलोकन गरिएको बताए । 

‘माधव नेपाल, रामचन्द्र, राजेन्द्र पाण्डे, वन तथा वातावरण मन्त्री राम सहाय राय, सहरी विकास मन्त्री, श्रम मन्त्री, क्यानको सम्पूर्ण टिम, वनका सबै टिमकाे उपस्थितिमा स्थलगत भ्रमण गरेका छौँ’ उनले भने ‘पहिले म वन मन्त्री हुँदा पनि आएको थिएँ । त्यो बेलामा पनि कसरी अघि बढाउने भन्ने थियो । त्यति बेला पर्यटन मन्त्री भानुभक्त ढकालसँग म यहाँ आएको थिएँ, रुख कटान गर्न पहल गरिदिऊँ भन्नुभएको थियो, त्यति बेला मैले बजेटको सुनिश्चितता हुनुपर्‍यो भनेको थिएँ । बजेटबिना रुख काटेर हुँदैन भनेको थिएँ । त्यति बेला म वन मन्त्री थिएँ । मैले हिजो मात्रै टाँगिया बस्तीमा भनेको छु अब जग्गा अधिकरण गरेर अघि बढ्नुपर्छ, बरु यसको लागि उहाँहरूलाई जडीबुटीमा भएको ८०० सय बिघा छ, त्यसमा उचित स्थानान्तरण हुन्छ । त्यहाँको जनताले मुआब्जासँगै पुरानो काठ अन्यत्र लैजान पनि कठिन छ। तुरुन्त फास्ट ट्याकमा काम गर्न भनेको छु । थुप्रै कुराहरू छन्, फास्ट ट्याकको माध्यमबाट रुख काट्ने कुरा भएको छ । अब विलम्ब हुँदैन । बजेटको व्यवस्था हुनासाथ काम अघि बढ्छ ।’

मन्त्री आलेले निजगढ विमानस्थलको लागि अर्थमन्त्री जनार्दन शर्माले बजेटको व्यवस्था गर्छु भनेर भनेको सुनाए । उनले थपे,‘प्रधानमन्त्रीज्यूले पनि यही कुरा भन्नुभएको छ । अब हामी रुख हटाउने काममा लाग्छौँ । अर्कोतर्फ टेण्डर गरेर काम अघि बढाउँछौँ । हामीसँग धेरै खालका मोडेल छन्, कसरी बनाउने भन्नेबारे छलफलमा छौँ । नेपाल सरकारको बजेटबाट बनाउने हो भने क्यानअन्तर्गत अघि बढ्छौँ । बाहिरको पैसा पनि ल्याएर काम गर्न सक्छौँ ।’

उनले चुनावभन्दा अघि नै बस्तीको उचित स्थानान्तरणको काम सुरु हुने विश्वास दिलाए । ‘यहाँ स्थलगत अवलोकनमा आउनुभएको नेताहरूले एक महिना भन्दै हुनुहुन्छ’ उनले भने ‘म १५ दिनमै काम अघि बढाउँछु । चुनाव आयो भनेर काम नै नगर्नु त ? मैले क्यासिनोहरुले तिर्न बाँकी रहेको करोडौँ बक्यौता रकम उठाएको छु ।’ उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम आफ्नो पालामा सुरु भयो भने ५/६ वर्षमा सम्पन्न भइसक्ने विश्वास दिलाए । 


क्लिकमान्डु