पर्यटन बोर्डका सीइओ रेग्मीलाई हटाउने तयारी, दोस्रो पटक सोधियो स्पष्टीकरण
काठमाडौं । नेपाल पर्यटन बोर्ड सञ्चालक समितिले बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. धनञ्जय रेग्मीलाई पदबाट हटाउने तयारी गरेको छ ।
माघ २८ गते बोर्ड सञ्चालक समितिका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले रेग्मीलाई दोस्रोपटक स्पष्टीकरण सोधेको हो ।
बोर्ड सञ्चालक समिमिका उपाध्यक्ष चन्द्र रिजालले रेग्मीलाई इमेलबाट स्पष्टीकरण सोधिएको जानकारी दिए ।
‘पहिलोपटक सोधिएको स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नआएपछि हामीले रेग्मीलाई दोस्रो स्पष्टीकरण सोध्ने निर्णय गरेका हौं’ रिजालले क्लिमाण्डूसँग भने, ‘यो पटक पनि स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नआए सञ्चालक समितिले कानून अनुसार निर्णय गर्छ ।’
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले र पर्यटन बोर्डका सीइओ रेग्मीबीच विवाद हुनुका साथै कात्तिक २० गते पर्यटन बोर्डका सीइओ रेग्मीले बेलायतमा आयोजित वर्ल्ड ट्राभल मार्टमा सहभागी भएर नेपाल फर्किदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सारका कर्मचारीलाई हातपात गरेपछि विवादमा तानिएका थिए ।
सीइयो रेग्मीले ६ बोतल मदिरा ल्याउन खोज्दा भन्सारका कर्मचारीले रोकेपछि रेग्मीले भन्सारका कर्मचारीलाई हातपात गरेको भिडियो पनि सार्वजनिक भएको थियो ।
त्यसपछि सीइयो रेग्मी र पर्यटनमन्त्री प्रेम आलेबीच पनि विवाद चर्किएको थियो । मन्त्री आलेले सीइओ रेग्मीको सार्वजनिक रुपमा चर्काे आलोचना पनि गरेका थिए ।
विवाद बढ्दै गएपछि पुस २ गते पर्यटन बोर्ड सञ्चालक समितिको बैठकले सीइओ रेग्मीलाई पदबाट निलम्बन गर्दै बोर्डका उपाध्यक्ष रिजालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।
पुस १४ गते सर्वाेच्च अदालतले रेग्मीलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि रेग्मी काममा फर्किएका थिए । तर, मन्त्री आलेले नेपाल पर्यटन बोर्डको वार्षिकोत्सव कार्यक्रममा रेग्मीलाई ‘साँढे’को संज्ञा दिँदै आफूलाई गाडी बेचेको पैसाले खरिद गर्न खोजेको समेत आरोप लगाएका थिए ।
रिजाल नेतृत्वको छानविन समितिले रेग्मीले पदीय आचरण विपरीत काम गरेकाले पदबाट हटाउनु पर्ने रायसहितको प्रतिवेदन माघ १७ गते सञ्चालक समितिलाई बुझाएको थियो ।
सञ्चालक समितिले माघ १८ गते सीइओ रेग्मीलाई विभिन्न आरोप लगाउँदै पदबाट किन नहटाउने भन्दै एक साताभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो ।
सीइओ रेग्मीले सञ्चालक समितिले सोधेका कुनै पनि प्रश्न जवाफ दिएनन् । रेग्मीले बोर्डलाई बुझाएको स्पष्टीकरणमा सर्वाेच्च अदालतले आफूलाई निलम्बन गर्ने आदेश कार्यान्वयन नगर्न भनेकाले सञ्चालक समितिले आफूलाई पदबाट हटाउन नमिल्ने उल्लेख गरेका थिए ।
‘हामीले उहाँलाई लागेका विभिन्न आरोपमा स्पष्ट पार्न भनेका थियौं, ’ सञ्चालक समितिका एक सदस्यले भने, ‘तर उहाँले कुनै पनि विषयमा स्पष्ट पार्नु भएन् । उल्टै बोर्डले आफूलाई स्पष्टीकरण सोध्न नमिल्ने दाबी गर्दै पन्छन खोज्नु भयो ।’
सञ्चालक समितिका ती सदस्य बोर्डले जुनसुकै समय पनि सीइओलाई स्पष्टीकरण सोध्न मिल्ने बताउँछन् ।
‘सर्वाेच्च अदालतले रेग्मीलाई निलम्बन नगर्न भनेको हो ,’ ती सदस्य भन्छन् , ‘छानबिन समितीले उहाँले गम्भीर प्रकृतिका गल्ती गरेको पाएकाले हामीले नेपाल पर्यटन बोर्ड ऐनको प्रावधान अनुसार स्पष्टीकरण सोधेका हौं ।’
सञ्चालक समितिले दोस्रो स्पष्टीकरण सोध्ने तयारी गरेपछि रेग्मी ५ दिनका विदामा बसेका छन् । नेपाल पर्यटन बोर्ड सञ्चालक समितिले सीइओको सचिवालयमा स्पष्टीकरण पेश गर्नु भन्ने बेहोराको शिलबन्दी पत्र पठाएको छ ।
सीइओको सचिवालयलले पर्यटन मन्त्रालयका सचिवलाई सीइओ विदाका भएकाले शिलबन्दी पत्र बुझाउन नसकेको जानकारी दिएको छ ।
मन्त्रालयका सचिव नेपाल पर्यटन बोर्डको सञ्चालक समिति अध्यक्ष भएकाले सचिवको सचिवालयबाट सीइयो रेग्मीलाई स्पष्टीकरण पेश गर्न भन्दै इमेल गरिएको बोर्डका उपाध्यक्ष रिजालको भनाइ छ ।
‘सञ्चालक समितिले ७ दिनभित्र जवाफ पेश गर्न भनेको,’ रिजालले भने, ‘५ दिन विदाको समय दिँदा पनि ११ गतेसम्म उहाँले सञ्चालक समितीलाई स्पष्टीकरण दिनु हुन्छ होला भन्ने हामीलाई लागेको छ । स्पष्टीकरण पत्र प्राप्त भएपछि नियमानुसार कारबाही हुन्छ ।’
बोर्ड सञ्चालक समितिले स्पष्टीकरण सोधपछि सीइओ रेग्मीले माघ २६ गते बोर्ड सञ्चालक सदस्यविरुद्ध अदालतको अवहेलनाको मुद्दा दायर गरेका थिए ।
मंगलबार सर्वाेच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजसालले रेग्मीको रिटमा लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ ।
‘अदालतले कारबाही नगर्न भनेको छैन ,’ बोर्ड सञ्चालक समितिका एक सदस्य भन्छन्, ‘हामीले गठन गरेको छानबिन समितिले उहाँमाथि गम्भीर आरोप लगाएकाले बोर्ड उहाँसँग स्पष्टीकरण सोधेको हो । उहाँले जवाफ दिनु भएन भने नियमअनुसार कारबाही हुन्छ ।’
सञ्चालक समितिका सदस्यले नियमानुसार कारबाही हुन्छ भन्नुको अर्थ सीइओ रेग्मीको जवाफ चित्त बुझ्दो नभए पदबाट हटाउन खोजिएको हो ।