क्यानमा दुई डिजीको वान-अन-वान वार्ता, अधिकारीले क्षेत्रीलाई भने, ‘दाइ तपाईं छाडिदिनुस्’



काठमाडौं । अनिवार्य अवकाश दिने नागरिक उड्डयन प्राधिकरणको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका तत्कालीन महानिर्देशक राजकुमार क्षेत्रीले आइतबार सर्वोच्च अदालतबाट अल्पकालिन अन्तरिम आदेश पाए ।

अल्पकालिन अन्तरिम आदेश पाएको भोलिपल्ट अर्थात् सोमबार कार्यालय पुगेका क्षेत्री र नवनियुक्त महानिर्देशक प्रदीप अधिकारीबीच केही समय छुट्टै छलफल भयो ।

अदालतबाट अल्पकालिन अन्तरिम आदेश बोकेका क्षेत्रीलाई नविनियुक्त डीजी अधिकारीेले भने, ‘दाइ तपाईं ५८ वर्ष पनि पुग्नु भयो, डिजी पनि भइसक्नु भयो । अब छाडिदिनुस् ।’

क्षेत्रीले जवाफ फर्काए, ‘अदालतको आदेश लिएर आएको हुँ, कानून बमोजिम जे हुन्छ त्यहीँ गर्छु ।’

यति भनिसकेपछि क्षेत्री हाजिर गर्नतर्फ लागे ।

यत्तिकैमा प्राधिकरणका कानून अधिकृतले सर्वोच्च अदालतले जारी गरेको आदेशमा महानिर्देशकका रुपमा काम काज गर्नबाट नरोक्नु भन्ने व्यहोरा उल्लेख नभएको बताउँदै क्षेत्रीलाई हाजिर नगर्न भनेका थिए ।

‘प्राधिकरणका कानून अधिकृतले अदालतको आदेश स्पष्ट नभएको बताएपछि आज हाजिर गरेन,ु क्षेत्रीले क्लिक्माण्डूसँग भने,ु अब म आफ्ना वकिलसँग छलफल गरेर अगाडि बढ्छु ।’

सर्वोच्च अदालतले राजकुमार क्षेत्रीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणको सेवाबाट अनिवार्य अवकाश दिन कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश दिए पनि सोमबार क्षेत्रीले प्राधिकरणमा हाजिर गर्न नपाएका हुन् ।

सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले क्षेत्रीलाई अवकाश दिने निर्णय तत्काल कार्यान्वन नगर्न आदेश दिनुको साथै क्षेत्री र विपक्षी नेपाल नागरिक उड्डयन प्राधिकरणलाई फागुन ९ गते छलफलका लागि बोलाएको छ ।


क्लिकमान्डु