तरलता अभावले घरजग्गा कारोबारमा ब्रेक, राजस्व सवा १ अर्बले घट्यो



काठमाडौं । उच्च आयातले गर्दा उत्पन्न भएको तरलता अभावले घरजग्गा कमी आएको छ । मासिक औसतमा ७० हजारको हाराहारीमा घरजग्गा कारोबार हुँदै आएकोमा माघ महिनामा भने तरलता अभावले गर्दा घरजग्गा कारोबारमा ब्रेक लागेको हो ।

राष्ट्र बैंकले गत कात्तिकदेखि नै उच्च आयातले विदेशी सञ्चिती घट्दै गएपछि तरलता अभाव भएको भन्दै विभिन्न चरणमा आयातित वस्तुमा कडाइ गर्दै आएका छन् ।

कात्तिकबाट केही मात्रामा तरलता अभाव देखिए पनि हाल बजारमा तरलता अभाव देखिन्छ । त्यस्तै, गत मंसिर, पुसमा तरलता अभावका कारण घरजग्गा कारोबार केही असर देखिएको थिएन । तर, माघ महिनामा भने तरलता अभावका कारण घरजग्गा निकै कम भएको भूमि, व्यवस्थापन तथा अभिलेख विभागका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए ।

उनकाअनुसार गत मंसिर र पुसमा तरलता अभाव देखिए पनि घरजग्गा कारोबारमा लगानी गर्ने व्यक्तिहरूले पूर्व तयारी गरिरहेको हुन्छ । त्यसैले सो महिनामा घरजग्गा कारोबारमा कुनै कमी देखिएन । तर, अहिले माघ महिनामा भने बैंक तथा वित्तिय संस्थाबाट सहजै कर्जा प्रवाह नहुँदा घरजग्गा कारोबार निकै कमी आएको देखिन्छ ।

‘अहिले घरजग्गा कारोबारमा कमी आउनुको मुख्य कारण तरलता अभाव देखिन्छ,’ उनले भने, ‘उनल भने, ‘माघ महिनामा कोभिडकै समय भएपनि सेवा प्रवाहमा कुनै समस्या आएन । जसले गर्दा कारोबारमा तरलता अभावको प्रभाव देखिन्छ ।’

त्यसैगरी, घरजग्गा कारोबारमा रेमिट्यान्सको पनि महत्वपूर्ण भूमिका रहेकाले पनि कारोबार घट्न सक्ने उनको भनाइ छ ।

‘घरजग्गा किनबेचमा विदेशिने श्रमिकले पठाएको रेमिट्यान्सको ठूलो योगदान छ । तर, अहिले रेमिट्यान्स पनि घटेको अवस्थामा घरजग्गा कारोबार कम भएको देखिन्छ,’ उनले क्लिकमाण्डूसँग भने ।

विभागका अनुसार देशभरका १ सय २६ वटा मालपोत कार्यालयमा सेवा प्रवाह भएको तथ्याङ्कले मासिक ७० हजारको हाराहारीमा किनबेच हुँदै आएको छ । तर, माघ महिनामा भने ६० हजार पनि कारोबार हुन सकेन ।

पुस महिनामा देशभरका मालपोत कार्यालयबाट ७० हजार १६८ घरजग्गाको किनबेच भएको थियो । सो महिना देशभरका विभिन्न मालपोत कार्यालयबाट १ लाख ५७ हजार सेवा प्रवाह भई ७० हजार घरजग्गा किनबेच भएको थियो ।

तर, माघ महिनामा तरलता अभावका कारण ५९ हजार ५ सय १६ घरजग्गाको किनबेच भएको छ । सो महिना देशभरका मालपोत कार्यालयबाट १ लाख ३२ हजार सेवा प्रवाह भएको थियो ।

माघ महिनामा देशभरका मालपोत कार्यालयबाट ५९ हजार घरजग्गा लिखित पारित हुँदा ४ हजार २७७ नामसारी, ३ हजार ६२२ संशोधन, ३० हजार ९८५ रोक्का, १८ हजार ६७६ फुकुवा र १५ सय ९८ दाखिला खारेज गरेको विभागको तथ्याङ्कले देखाउँदछ ।

माघमा सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीबाट भएको छ । हरेक महिना उच्च रुपमा कारोबार हुँदै आएको इनरुवा मालपोत कार्यालयबाट माघ महिनामा मात्रै २८ सय घरजग्गा किनबेच भएको तथ्याङ्कले उल्लेख गरेको छ ।

त्यस्तै, बेलबारी मोरङबाट २५ सय ३६, भद्रपुर झापाबाट १९ सय ८०, भक्तपुरबाट १९ सय २२ र लगनखेलबाट १९ सय २२ वटा घरजग्गाको किनबेच भएको छ ।

उपत्यकामा तरलता अभावकै बीच उच्च कारोबार
माघ महिनाको घरजग्गा कारोबारमा तरलता अभाव देखिए पनि उपत्यकाको घरजग्गा किनबेचमा भने कुनै असर देखिएको छैन । यसअघि पुस महिनमा उपत्यकाका तीन जिल्लाको ९ वटा मालपोत कार्यालयबाट ८ हजार ३ सय ८७ घरजग्गाको किनबेच भएको थियो ।

तर, देशभरको घरजग्गा कारोबारमा कमी आउँदा माघ महिनामा उपत्यकामा मात्रै पुस महिनाको भन्दा बढी काराबोर भएको तथ्याङ्कले देखाउँदछ । माघ महिनामा उपत्यकामा ८ हजार ५ सय १८ घरजग्गा किनबेच भएको छ ।

उपत्यकामा सबैभन्दा बढी भक्तपुर मालपोत कार्यालयबाट बढी किनबेच भएको छ । उक्त मालपोत कार्यालयबाट १९ हजार २२ वटा घरजग्गा किनबेच भएको विभागले जनाएको छ । त्यसैगरी, लगनखेलबाट १९ सय १६, कलंकीबाट १६ सय ६८, साँखुबाट ९ सय ५८, चावहिलबाट ७ सय ७८, मनमैजुबाट ६ सय १२, डिल्लीबजारबाट ३ सय ३६, टोखाबाट ३०७ र गोटीखेल ललितपुरबाट ३१ वटा घरजग्गाको किनबेच भएको छ ।

राजस्व संकलनमा कमी
घरजग्गा किनबेचमा देखिएको कमीले राजस्व संकलनमा पनि कमी आएको छ । पुस महिनाको तुलनामा माघ महिनामा १ अर्ब बढीले राजस्व कम उठेको छ ।

पुस महिनामा देशभरका मालपोत कार्यालयबाट विभिन्न सेवा दिएवापत ६ अर्ब ७० करोड ४२ लाख ५० हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । माघ महिनामा भने साढे ५ अर्ब मात्रै संकलन भएको छ । विभागकाअनुसार माघ महिनामा ५ अर्ब ५० करोड १८ लाख ५० हजार राजस्व संकलन गरेको तथ्याङ्कमा उल्लेख छ ।

विभागले माघ महिनामा सेवा करवापत २० करोड १७ लाख, बागमतीवापत १८ करोड १४ लाख, रजिष्ट्रेशन दस्तुरबाट ३ अर्ब ८८ करोड ४ लाख, पूँजीगत लाभ करवापत १ अर्ब २६ करोड ५८ लाख रुपैयाँ र अन्य विभिन्न विधा सो राजस्व संकलन भएको हो ।

४८ करोड छुट
देशभरको मालपोत कार्यालयबाट माघ महिनामा ४८ करोड ८० लाख ४५ हजार रुपैयाँ राजस्व छुट दिएको छ ।

सरकारले महिलाका नाममा घरजग्गा रजिष्ट्रेशन पास गर्दा २५ देखि ३५ प्रतिशतसम्म छुट दिने व्यवस्था छ । साथै, ४० वर्ष पूरा भई बसेका एकल महिलाको छुट्टै व्यवस्था गरेको छ ।

ग्रामीण क्षेत्रका महिलालाई ३० र सहरी क्षेत्रका महिलालाई २५ प्रतिशत दस्तुर छुट दिने गरिएको छ । एकल महिलाले भने थप १० प्रतिशत छुट पाउने व्यवस्थाले रहेकाले सोहीअनुसार छुट प्रदान गरेको विभागको भनाइ छ ।


क्लिकमान्डु