पर्यटन बोर्डका सीइओ रेग्मीले मन्त्री आलेसहित ९ जनाविरुद्ध सर्वोच्चमा हाले मुद्दा



काठमाडौं । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) धनञ्जय रेग्मीले पर्यटनमन्त्री प्रेमबहादुर आलेविरुद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्दा दर्ता गरेका छन् ।

रेग्मीले मन्त्री आलेसहित ९ जनाविरुद्ध मुद्दा दर्ता गरेका हुन् ।

मन्त्री आलेले सार्वजनिक रुपमै आफूलाई विभिन्न आरोप लगाएको र बोर्डको वार्षिकोत्व कार्यक्रममा बोलेको विषयले अदालतको मर्यादामा समेत आँच पुगेको रेग्मीले दाबी गरेका छन् ।

यसअघि सीइओ रेग्मीले आफूलाई निलम्बन गर्ने मन्त्री आलेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । जसमा अदालतले पुस ४ गते उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश समेत दिएको थियो ।

रेग्मीले अदालतको फैसला नआउँदै बोर्ड सञ्चालक समितिले छानबिनका नाममा प्रतिवेदन बुझाउने र आफूलाई स्पष्टिकरण सोधेको भन्दै मंगलबार मुद्दा दर्ता गरेका हुन् ।

रेग्मीले अदालतको आदेश पालना नगरी आफूलाई स्पिष्टकरण सोधिएको र यसले अदालतको अपहेलना भएको समेत दाबी गरेका छन् ।

रेग्मीले दायर गरेको मुद्दामा बोर्डका अध्यक्ष महेश्वर न्यौपाने, उपाध्यक्ष चन्द्रप्रसाद रिजाल, सदस्यहरु पद्यादेवी पौडेल धमला, विप्लव पौडेल, डावाडिमा शेर्पा, कृष्णकुमार शाह, तारानाथ अधिकारी, होमप्रसाद लुइटेललाई विपक्षी बनाइएको छ ।

रेग्मीले लण्डनबाट फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमभन्दा बढी रक्सी ल्याएको विषयमा विमानस्थलमा कर्मचारीसँग झगडा परेको थियो । उक्त विवाद बाहिरिएपछि पर्यटनमन्त्री आलेले रेग्मीलाई सीइओबाट निलम्बन गरेका थिए ।

पर्यटनमन्त्री आलेले सार्वजनिक कार्यक्रममै रेग्मीलाई लक्षित गर्दै साँढे भन्दै गाली समेत गरेका थिए । उनले बोर्डमै भएको कार्यक्रममा आफूलाई २/४ वटा गाडी बेचेको पैसाले किन्न खोजेको आरोप समेत लगाएका थिए ।


क्लिकमान्डु