पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको रनवेलाई पूर्वतिरबाट जोड्न बुध्द एयरको आग्रह



काठमाडौं । एकातर्फबाट मात्र उडान र जहाजको ‘ट्याक्सी–वे’एउटै हुँदा एयर ट्राफिक स्वभाविक बढ्ने

काठमाडौं । पोखरामा निर्माण भइरहेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रनवेलाई पूर्वतिरबाट जोड्न बुध्द एयरले आग्रह गरेको छ ।

राष्ट्रिय गौरवका आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ७० प्रतिशत निमार्ण कार्य सम्पन्न भइसकेको छ । बाँकी कार्यहरु पनि धमाधम भइरहेको छ ।

उक्त विमानस्थल सञ्चालनमा आएपछि बुध्द एयरले पोखरामा ५ वटा जहाज राखी राष्ट्रिय अन्तर्राष्ट्रिय उडान भर्ने योजनामा कार्य गरिरहेको छ ।

योजना अनुसार पोखराबाट भारतको विभिन्न गन्तव्यहरुमध्ये शुरुवातमा नयाँदिल्ली, देहेरादुनमा सिधा अन्तर्राष्ट्रिय उडान भर्नेछ ।

त्यसैगरी पोखराबाट धौलागिरीदेखि सगरमाथासम्मको हिमश्रृंखला दृश्यावलोकन उडान तथा काठमाडौं र अन्य शहरहरुसँग आवश्यकता अनुसारको दैनिक सिधा उडानहरु भर्ने बुध्दको योजना छ ।

पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टको पूर्वाधारमा ‘ट्याक्सी–वे’लाई ‘रनवे’को एकातर्फबाट मात्र जोडिएको हुँदा हाल सञ्चालनमा रहेको विमानस्थलभन्दा थोरै उडानहरु हुने निश्चितप्रायः देखिएको बुध्द एयरको भनाइ छ ।

‘हाल निर्माणधिन पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टको पूर्व÷पश्चिम ‘रन–वे’को पश्चिम ‘रन–वे’ लाई मात्र अन्त्यसम्म ‘टयाक्सी–वे’ ले जोडिएको छ । पश्चिमको ठूलो डाँडाका कारण विमान अवतरण पूर्वबाट मात्र सम्भव छ । तर पूर्वको रनवेलाई ‘टयाक्सी–वे’ ले जोडिएको छैन,’ बुध्द एयरले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसैकारण विमानहरु उडान भर्नुपर्दा पश्चिमबाट मात्र सम्भव छ । यसले गर्दा ‘हवाई ट्राफिक’ बढ्न गई स्वतः कम उडानहरु हुने देखिएको बुध्द एयरको भनाइ छ ।

बुध्द एयरले प्रेस विज्ञप्तिमार्फत् आधा रनवेसम्म मात्र भएको ‘टयाक्सी–वे’लाई पूर्वको ‘रनवे’को अन्त्यसम्म तुरुन्तै जोड्न सम्बन्धित सबैलाई आग्रह गरेको हो।

विज्ञप्तिमा बुध्द एयरका मार्केटिङ निर्देशक रुपेश जोशीले अहिले ‘रनवे’ र ‘टयाक्सी–वे’ को निर्माण सिमेन्ट कंक्रीटले भइरहेको छ, अब बाँकी ‘टयाक्सी–वे’ निर्माण गर्दा प्रक्रिया लम्बिने र निर्माण खर्च पनि महँगिने हुँदा विशेषज्ञको सल्लाह लिई ‘अलकक्राको पिच’ मात्र गरे पुग्ने बताए ।

पोखरा सर्वप्रिय पर्यटकीय गन्तव्य हो । पोखराको निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थलले मुलुक तथा विशेषगरि गण्डकी प्रदेशमा ठूलो अवसर तथा रोजगारी सिर्जना गर्नेछ ।

यो विमानस्थल संचालनमा आएपछि पचासौं लाख पर्यटकले गण्डकी प्रदेशको भ्रमण गर्नेछन् र विदेशी मुद्रा आर्जनको दायरा पनि फराकिलो हुनेछ ।


क्लिकमान्डु