सानिमा जनरल इन्स्योरेन्सको नाफा ९५% ले बढ्यो



काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा सानिमा जनरल इन्स्योरेन्सले खुद नाफा ९५.६५ प्रतिशतले बढाएको छ ।

यस अवधिमा कम्पनीले ५ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा कम्पनीले २ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस्तै, चालु आवको दोस्रो त्रैमासको अवधिमा कम्पनीले १४ करोड ८१ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।

जुन गत आवको यसै अवधिको तुलनामा ७३.२८ प्रतिशतले बढी हो । गत आवको पुस मसान्तसम्ममा कम्पनीले ८ करोड ५५ लाख रुपैयाँ मात्रै खुद बीमाशुल्क संकलन गरेको थियो ।

कम्पनीले दोस्रो त्रैमासको अवधिमा पुनर्बीमा कमिशन आयबाट ८ करोड ८० लाख रुपैयाँ र लगानी, कर्जा तथा अन्य आयबाट एक करोड १७ लाख रुपैयाँ आम्दनी गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले पुनर्बीमा कमिशन आयबाट ४ करोड ८७ लाख रुपैयाँ र लगानी, कर्जा तथा अन्य आयबाट ७९ लाख ४८ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

चालु आवको दोस्रो त्रैमासको अवधिमा कम्पनीले पुनर्बीमा कमिशनका लागि ८४ हजार रुपैयाँ र अभिकर्ता कमिशनका लागि ६७ लाख ६४ हजार रुपैयाँ खर्च गरेको छ ।

यस अवधिमा कम्पनीमा ४५ हजार ७ सय ५२ वटा बीमालेख जारी भएका छन् । भने नवीकरण गरिएको बीमालेखको संख्या ५ हजार २ सय ८८ वटा रहेको छ ।

कम्पनीले दोस्रो त्रैमासको अवधिमा ९ सय ७ वटा बीमा दाबीवापत ६ करोड ६० लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ ।

कम्पनीले २ हजार २ सय २ वटा बीमा दावीवापत ४८ करोड रुपैयाँ बराबर भुक्तानी गर्न बाँकी छ ।

कम्पनीका अनुसार भुक्तानी हुन बाँकी दाबी रकममा कोरोना बीमाको भुक्तानी हुन बाँकी वापतको दाबी रकम र संख्या समेत समावेश गरिएको छ ।

एक अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रति शेयर आम्दानी ११.६२ रुपैयाँ छ । कम्पनीको जगेडा तथा कोषमा ११ करोड १८ लाख रुपैयाँ सञ्चित छ ।


क्लिकमान्डु