नेपालको पर्यटन प्रवर्द्धन गर्न ‘ब्लग च्यालेञ्ज’ प्रतियोगिता, उत्कृष्टले ६० लाख नगद पाउने



काठमाडौं । जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको असर न्यूनिकरणका लागि विश्वसमूदायको ध्यान आर्कषित गर्न वर्ल्ड ब्लग च्यालेञ्ज प्रतियोगिताका भिडियोहरु सार्वजनिक गरिएको छ ।

नेपाल पर्यटन बोर्ड, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) र एसिमोड लगायतका संस्थाहरुको प्रवर्द्धनमा गत कात्तिक ३ गतेदेखि ११ गतेसम्म विभिन्न देशका ११ जना ब्लगरहरूले खुम्बु क्षेत्र र सगरमाथा आधार शिविर पुगेर खिचेका थिए ।

११ जना ब्लगरमध्ये ६ जना ब्लगरहरूले एक हप्तासम्म सो क्षेत्रमा रहेर तयार पारेका भिडियोहरु काठमाडौंको प्रिमियर सोमार्फत् प्रदर्शन गरिएको थियो ।

आयोजकका अनुसार प्रर्दशन गरिएका ब्लगहरूमध्ये उत्कृष्ट तीनवटालाई नगद पुरस्कार प्रदान गरिने छ । मंगलबारबाट शुरु हुने पब्लिक भोटिङमार्फत् उत्कृष्ट पाँच ब्लग छानिने र त्यसपछि निर्णायक टोलीले तीनवटा सर्वोेत्कृष्ट ब्लग छानेर पुरस्कार प्रदान गरिनेछ ।

उत्कृष्ट भिडियो ब्लग पहिलोलाई ५० हजार अमेरिकी डलर अर्थात् करिब ६० लाख रुपैयाँ, दोस्रोलाई ३० हजार अमेरिकी डलर अर्थात् करिब २६ लाख रुपैयाँ र तेस्रो हुनेलाई २० हजार अमेरिकी डलर अर्थात् करिब २४ लाख रुपैयाँ प्रदान गरिनेछ ।

वर्ल्ड ब्लग च्यालेन्जका लागि नेपालसहित भारत, कोलम्बिया, फिलिपिन्स, थाइल्यान्ड र अमेरिकाका ब्लगरहरू सहभागी भएका थिए ।

उनीहरूलाई वर्ल्ड ब्लग च्यालेन्जको सामाजिक सञ्जालहरूमा गएर भोट गर्न सकिने आयोजकले जानकारी दिए ।

प्रिमियर सोका क्रममा आयोजित पत्रकार सम्मलेनमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले यो प्रतियोगिताले जलवायु परिवर्तनका मुद्धालाई अन्तरराष्ट्रियकरण गर्र्नुका साथै नेपाललाई विश्वसामू थप परिचित गराउन तथा पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने बताए ।

‘नेपाल आफैमा विशिष्ट पहिचान भएको मुलुक हो । बोर्डले विभिन्न कार्यक्रमका माध्यमबाट नेपालको प्रवर्द्धन गर्दै आइरहेको छ । यद्यपि यो कार्यक्रम अझ प्रथक भएकाले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन थप बढी प्रभावकारी हुने विश्वास छ,’ उनले भने ।

यस्तै पार्टी नेपालका अध्यक्ष श्री गुरुङले कार्यक्रमको मुख्य उद्देश्य जलवायु परिवर्तनका विषयमा विश्वको ध्यान खिच्नु रहेपनि यसबाट नेपालको पर्यटन प्रवद्र्धन समेत हुने बताए ।

विश्वविख्यात आरोही तथा ब्लर्ड ब्लग च्यालेन्लका टीम लिडर मिङमा डेभिड शेर्पाले नेपालका हिमालहरुमा निरन्तर ग्यासियर पग्लिने क्रम बढ्दै गएकोले यसले भविष्यमा मानवीय संकट ल्याउनेतर्फ विश्व समूदायलाई सचेत गराउन आवश्यक भएको भन्दै यो प्रयासले त्यसकालागि सहयोगी हुने बताए ।


क्लिकमान्डु