पाँच निर्जीवन बीमा कम्पनीको लाभांश घोषणा



काठमाडौं । नेप्सेमा सूचीकृत निर्जीवन बीमा कम्पनीहरुमध्ये हालसम्म पाँचवटा निर्जीवन बीमा कम्पनीहरुले मात्रै सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेका छन् ।

हालसम्म हिमालयन जनरल इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, नेको इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेका हुन् ।
यी पाँच कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।

बीमा समिमिते जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरणमा रोक लगाएको छ ।

समितिले भविष्यमा जोखिममा आधारित पूँजी कायम गर्नुपर्ने तथा कम्पनीलाई आइपर्नसक्ने थप जोखिम बहन गर्न पूँजी कोषलाई सवल बनाउनका लागि भन्दै नगद लाभांश वितरण गर्नमा रोक लगाएको हो ।

समितिले बीमा कम्पनीले अर्को व्यवस्था नहुञ्जेलसम्मको लागि नगद लाभांश वितरणमा रोक लगाएको हो ।

सोही व्यवस्था बमोजिम निर्जीवन बीमा कम्पनीहरुले लगानीकर्तालाई दिने लाभांश प्रस्ताव गर्न थालेका हुन् ।

पाँच कम्पनीमध्ये सबै भन्दा धेरै लाभांश प्रस्ताव गर्नेमा नेको इन्स्योरेन्स रहेको छ । नेकोले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद गरी १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

नेको इन्स्योरेन्स पछि सबै भन्दा धेरै लाभांश प्रस्ताव गर्नेमा प्रिमियर इन्स्योरेन्स रहेको छ । प्रिमियरले गत आर्थिक वर्षको मुनाफाबाट १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

लाभांश पारित गर्न प्रिमियरले माघ २१ गते २८ औं वार्षिक साधारण बोलाएको छ । साधारण सभा तथा लाभांश प्रयोजनको लागि प्रिमियरले माघ ५ गते नै बुक क्लोज गरिसकेको छ । जस अनुसार माघ ४ गतेसम्म कायम शेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने बोनस शेयर पाउने छन् ।

प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५८ प्रतिशत गरी ११.५८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

एनएलजी इन्स्योरेन्सले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२ प्रतिशत नगद गरी १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले अन्य कम्पनीको तुलनामा सबैभन्दा कम लाभांश दिने प्रस्ताव गरेको छ ।

हिमालयन जनरलले गत आर्थिक वर्षको मुनाफाबाट ६.६५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.३५ प्रतिशत नगद गरी कुल ७ प्रतिशत लाभांश प्रस्ताव गरको छ ।

कम्पनीहरुको प्रस्तावित उक्त लाभांश बीमा समितिको स्वीकृती पश्चात आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।
सानिमा जनरल इन्स्योरेन्स र अजोड इन्स्योरेन्सले भने गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेका छन् ।

सानिमा जनरलले लाभांशबिनै पुस ३० गते साधारण सभा सम्पन्न गरी सकेको छ । भने अजोड इन्स्योरेन्सले पनि लाभांशबिनै फागुन ६ गते गते वार्षिक साधारण सभा आह्वान गरेको छ ।


क्लिकमान्डु