जाँचबुझ आयोगको प्रतिवेदनः सुन चोरी पैठारीमा संलग्न पर्यटन बोर्डका प्रमुख पदमा बस्न मिल्दैन



काठमाडौं । नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मी अवैधरुपमा सुन चोरी पैठारी मुद्दामा संलग्न भएको जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

रेग्मी उपर जाँचबुझ गठित आयोगले तयार पारेको प्रतिवेदनमा भनिएको छ, ‘चोरी पैठारीमा संलग्न भएको मुद्दामा अर्धन्यायिक निकायबाट सजाय समेत भएको व्यक्ति कुनै सार्वजनिक ओहोदाको पदमा रहिरहन आचरणको दृष्टिकोणले समेत गम्भीर प्रश्न सिर्जना भएको देखियो ।’

रेग्मी जाँचबुझ आयोगलाई छानबिनका क्रममा आवश्यक सूचना तथा कागजातहरु उपलब्ध नगराई असहयोग गरेको समेत समितिको भनाइ छ ।

साथै उनले कानून विपरीत निर्माण एवम् खरिद कार्यलाई टुक्रा टुक्रा पारी फरक समय देखाई सरकारी सम्पत्ति हानी नोक्सानी गरेको पत्ता लागेको छ ।

कार्यकारी निर्देशक रेग्मीले समितिको बैठकबाट विभिन्न समयमा भएका निर्णय÷निर्देशनहरुको कार्यान्वयनको अध्ययन गर्दा कार्य कार्यकारी प्रमुखले भएका निर्णय कार्यान्वयन नगरेको र निर्णय नै नभएका विषयमा समेत काम कारबाही गरेको देखिएको निष्कर्ष निकालेको छ ।

साथै, बोर्डका विभिन्न सरोकारवालाहरुसँगको बैठक एवम् छलफलको खर्च भनेर स्वीकृत कार्यक्रम कार्यादेश रसहभागीहरुको विववरण समेत संलग्न नगरी प्रयोजन पुष्टि हुने प्रमाण विना कार्यकारी प्रमुखको तोक आदेशबाट विभिन्न होटल तथा रेष्टुराँमा भएको खर्चलाई कार्यालय प्रयोजनका लागि खर्च मान्न सक्ने नभई बोर्डको स्रोतको दुरुपयोग गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी लण्डनमा भएको वर्ल्ड ट्राभल मार्ट अन्तर्राष्ट्रिय मेलामा पर्यटन बोर्डबाट सहभागिता जनाइको र सो कार्यक्रमको स्पष्ट निर्णय निर्देशन विपरीत भएको खर्च रकमलाई कानून सम्मत् मान्न सक्ने नदेखिएको समितिको निष्कर्ष छ ।

प्रतिवेदनमा भनिएको छ, ‘आफू मातहतका महाशाखा प्रमुखबीच हुने कार्यसम्पादन सम्झौता, कर्मचारीहरुको नियमितता एवम् हाजिरी व्यवस्थापन, करारका कर्मचारी व्यवस्था जस्ता कार्यालय सञ्चालन तथा व्यवस्थापनका विषयहरुमा बोर्डका कार्यकारी प्रमुखबाट भए गरेका कार्यहरु कानून सम्म्न देखिएन । निजका अन्य कर्मचारीहरु प्रतिको व्यवहार पनि मानवीय र पदीय आचरण अनुकुल रहेने देखिएन,’ प्रतिवेदनमा भनिएको छ ।

समितिले रेग्मीले निर्णय विना नै केही साविकमा हटेका व्यक्तिहरु र केही नयाँ गरी पुनः तेस्रो पक्षको माध्यमबाट अधिकांश कर्मचारीहरु आफुखसी नियुक्त गरेको समेत प्रतिवेदनमा उल्लेख छ ।


क्लिकमान्डु