५ वटा क्यासिनोले तिरेनन् साढे ८५ करोड रोयल्टी, ७ दिनभित्र बुझाउन विभागको निर्देशन



काठमाडौं । विभिन्न ५ वटा क्यासिनोले रोयल्टी तथा नवीकरण वापतको साढे ८५ करोड रोयल्टी नतिरेपछि पर्यटन विभागले ७ दिनभित्र बुझाउन निर्देशन दिएको छ ।

विभागले मन्त्रीको निर्देशनपछि ५ वटा क्यासिनोलाई ८५ करोड ५८ लाख ४४ हजार रुपैयाँ बराबरको रकम ७ दिनभित्र बुझाउन निर्देशन दिएको हो ।

उनीहरुले आर्थिक वर्ष २०७६/७७ सम्म तिर्न बाँकी रकम बुझाउन विभागले सूचना गरेको हो ।

यसअघि गत कात्तिक ७ गते ३५ दिने सूचना प्रकाशित गरेको र मंसिर २७ गते १५ दिने म्याद तोकी पत्राचार गर्दा पनि हालसम्म बक्यौता नबुझाएका तीन क्यासिनो कम्पनीलाई सो रकम ७ दिनभित्र दाखिला गर्न विभागले निर्देशन दिएको हो ।

विभागका अनुसार दरबारमार्गमा सञ्चालनमा रहेको होटल याक एण्ड यतिले २० करोड ६८ लाख १५ हजार रुपैयाँ रोयल्टी तथा नवीकरण वापतको रकम तिर्न बाँकी छ ।

साथै, लाजिम्पाटमा सञ्चालनमा रहेको ओरियन्टल होटल लिमिटेड (र्याडिसन)ले १८ करोड ७६ लाख रुपैयाँ तिर्न बाँकी छ भने रक इन्टरनेशनल प्रालिले ११ करोड ४५ लाख ८२ हजार ८४८ रुपैयाँ रकम तिर्न बाँकी छ ।

त्यसैगरी ह्याप्पी आवर प्रालि काठमाडौंले २१ करोड ५५ लाख रुपैयाँ र सेन्ट्रल मिडिया प्रालिले १३ करोड ३९ लाख ५० हजार रुपैयाँ रोयल्टी तथा नवीकरण वापतको वक्यौता बुझाउन बाँकी छ ।


क्लिकमान्डु