मर्जरको बार्गेनिङमात्रै गरेको भन्दै सेञ्चुरीसँग प्रभु र माछापुच्छ्रे बैंक रिसाए



काठमाडौं । दुई साताअघि प्रभु बैंकसँग सेञ्चुरी बैंकको मर्जर करीब टुंगोमा पुगिसकेको थियो । सेयर आदान प्रदान (स्वाप) रेसियो ८५ गर्ने, बैंकको नाम प्रभु नै रहने, सञ्चालक समितिको प्रतिनिधित्व र कर्मचारी व्यवस्थापनको मोडालिटी पनि फाइनल भइसकेको थियो ।

यी दुई बैंक मर्जरको अन्तिम चरणमा अर्थात् सैद्दान्तिक समझदारी गर्ने अवस्थामा पुगिसकेका थिए । तर, बिडम्बना मर्जरको त्यो प्रक्रिया त्यहाँभन्दा अघिबढ्न सकेन ।

सेञ्चुरी एकाएक भड्कियो । किनभने, त्यही समयमा सेञ्चुरीलाई माछापुच्छ्रे बैंकले मर्जरको अफर गर्यो ।

प्रभुसँग भन्दा धेरै फाइदा पाइन्छ कि भने सेञ्चुरीले माछापुच्छ्रेसँग मर्जरको छलफललाई तीब्रता दियो । दुबै बैंकका मर्जर कमिटिबीच केही चरण औपचारिक कुराकानी पनि भयो ।

माछापुच्छ्रेसँग सेञ्चुरीले स्वाप रेसियो ९० प्रतिशत माग्यो । प्रभुले ८५ मात्रै दिएको थाहा पाएको माछापुच्छ्रेले पनि सेञ्चुरीलाई ८५ भन्दा बढी दिन मानेन ।

यद्यपि डीडीए गराएर स्वाप रेसियो निकाल्ने समझदारी गरेर दुबै बैंकको मर्जर कमिटिका अधिकारीहरु अर्को बैठकमा कंक्रिट निष्कर्षमा पुग्ने भनेर उठे ।

तर, त्यसपछि सेञ्चुरीका अधिकारीहरु माछापुच्छ्रेका अधिकारीहरुसँग सम्पर्कमा आएका छैनन् ।

‘हामीसँग पनि सेञ्चुरीका साथीहरुले प्रभुले ८८ दिन्छ भनेर ९० मा बार्गेनिङ गर्नुभयो, हामीले डीडीए गरेर हेरौं अनि निष्कर्षमा पुगौंला भन्यौ, त्यसपछि उहाँहरु सम्पर्कमा आउनुभएन,’ माछापुच्छ्रे बैंक स्रोतले क्लिकमाण्डूसँग भन्यो, ‘उहाँहरुको इन्टेनसन मर्जर गरिहाल्ने भन्दा पनि बार्गेनिंग मात्रै गर्नेजस्तो देखियो ।’

अन्तिम चरणमा पुगेको मर्जर प्रक्रिया तोडेर माछापुच्छ्रेसँग लागेको भन्दै सेञ्चुरीसँग प्रभु बैंक पनि रिसाएको छ ।

‘हामीले मर्जरलाई सिरियस्ली लिएका थियौं तर उहाँहरुको नियत बार्गेनिङ गर्नेमात्रै देखियो,’ प्रभु बैंक स्रोतले भन्यो, ‘हामीले एक प्रकारको धोका पाइसकेका छौं, अब कुरा अघि बढ्यो भनै अर्कै तरिकाले बढ्छ ।’

हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जर तोडिएपछि सेञ्चुरीका सञ्चालकहरुले त्यताबाट अफर आउँछ कि भनेर आश गरेका छन् । विभिन्न शुत्रको प्रयोग गरेर दुबै बैंकका उच्च अधिकारीहरुसँग आफू मर्जरमा जान तयार रहेको सन्देश पठाइरहेका छन् । त्यसो भयो भने अझ बार्गेनिंग पावर बढ्ने सेञ्चुरीका अधिकारीहरुको बुझाइ छ । त्यसो त यसबीचमा सेञ्चुरीले ग्लोबल आइएमइसँग पनि बिभिन्न चरणमा छलफलमा बसेको थियो । तर, कुरो टुंगोमा पुग्न सकेन ।

सेञ्चुरीका केही सञ्चालकहरुले मर्जरको हल्ला चलाएर सेयर बजारमा चलखेल गरेको उजुरीसमेत परेको छ । यस विषयमा राष्ट् बैंकले छानविनसमेत गरिरहेको छ ।

सेञ्चुरी बैंक स्रोतका अनुसार अब केही दिनभित्रै बोर्डको बैठक बस्दैछ । सोही बैठकले कुन बैंकसँग मर्जरमा जाने भनेर निश्कर्ष निकाल्नेछ ।

तर, बार्गेनिङमात्रै गरेको भन्दै प्रभु र माछापुच्छ्रे दुबै बैंक सेञ्चुरीसँग रिसाएका छन्


क्लिकमान्डु