होटल तथा रेष्टुराँमा विदेशी लगानीकर्ताको आकर्षण



काठमाडौं । कोरोना महामारीका कारण सबैभन्दा बढी प्रभावित क्षेत्रमध्येको होटल तथा रेष्टुराँमा लगानीको आकर्षण भने कायमै छ ।

कोरोना महामारीका कारण २०७६ सालदेखि हालसम्म अपेक्षाकृत रुपमा होटल तथा रेष्टुराँको व्यवसायले गति लिन सकेको छैन ।

खासगरी विदेशी पर्यटकमा आश्रित होटल तथा रेष्टुराँको व्यवसाय त निकै धिमा गतिमा चलिरहेको छ । यसबीच विदेशी पर्यटक आगमन पूर्ववत् अवस्थामा नआउँदासम्म केही होटलहरु बन्द समेत भएका छन् ।

यद्यपि होटल तथा रेष्टुराँको व्यापार व्यवसाय कहिलेदेखि पहिलेकै अवस्थामा आउँछ भन्ने यकिन नभए पनि लगानीको सबैभन्दा आकर्षणको क्षेत्र भने बन्न सफल भएको छ ।

स्वदेशी तथा विदेशी लगानीकर्ताहरुले पछिल्लो साढे २ वर्षमा २२८ वटा होटल तथा रेष्टुराँका लागि करिब सवा ३ अर्ब रुपैयाँ बराबरको लगानीको प्रतिबद्धता जनाएका छन् ।

उद्योग विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ७९ वटा कम्पनीले होटल तथा रेष्टुराँमा लगानी गर्नका लागि १ अर्ब रुपैयाँ बराबरको लगानीको प्रतिबद्धता जनाएका थिए ।

साथै, आव २०७७/७८ मा ९२ वटा होटल तथा रेष्टुराँका लागि १ अर्ब ५५ करोड रुपैयाँ र चालु आवको पहिलो ६ महिनामा कुल ५७ होटल तथा रेष्टुराँका लागि ६५ करोड १५ लाख रुपैयाँ बराबरको लगानीको प्रतिबद्धता आइसकेको छ ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने निर्णय गरेपछि २० लाख पर्यटक ल्याउने लक्ष्य लिएको थियो । तर कोरोना महामारीका कारण नेपाल भ्रमण वर्षको कार्यक्रम उद्घाटन भएको २ महिनामै रद्द हुन पुग्यो ।

नेपालमा आगामी दिनमा विदेशी पर्यटकको संख्या बढ्ने अनुमान तथा आन्तरिक पर्यटकको संख्या वर्षेनी बढ्दै जाँदा होटल तथा रेष्टुराँमा लगानी गर्नेको सख्या पनि बढेको जानकारहरुको भनाइ छ ।


क्लिकमान्डु