सेवा प्रदायकलाई बीमा व्यवस्थापन सूचना प्रणालीमा दाबी सम्बन्धी कागजात राख्न बोर्डको निर्देशन



काठमााडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक संस्थालाई बीमा व्यवस्थापन सूचना प्रणाली (आइएमआइएस) सफ्टवेयरमा दाबी सम्बन्धी कागजात समयमा नै अपलोड गर्न निर्देशन दिएको छ ।

स्वास्थ्य बीमा ऐन, नियमावली तथा कार्यविधिमा सेवा प्रदायक संस्थाहरुबाट बीमितलाई सेवा प्रदान गरे वापत पाउनुपर्ने दाबी रकम भुक्तानीका लागि बीमा व्यवस्थापन सूचना प्रणाली(आइएमआइएस) सफ्टवेयरमा आवश्यक कागजातहरु दाबी प्रविष्ट गर्दाकै बखत अपलोड गर्नुपर्ने व्यवस्था छ ।

तर, बोर्डका अनुसार उक्त व्यवस्था बमोजिम सेवा प्रदायक संस्थाहरुले समयमा नै कागजातहरु अपलोड नगरेका हुन् ।

तोकिएको समयमा सेवा प्रदायक संस्थाहरुले कागजातहरु अपलोड गर्नुपर्ने व्यवस्था भएता पनि सो व्यवस्था लागू नभएको बोर्डका शाखा अधिकृत शोभित रिजालले जानकारी दिए ।

सेवा प्रदायक संस्थाहरुले लामो समयदेखि आवश्यक कागजातहरु अपलोड नगरेको पाईकाले बोर्डले दाबी भुक्तानीलाई राफसाफ तथा व्यवस्थित गर्न भन्दै साउन पाँच गते नै सूचना जारी गर्दै २०७८ जेष्ठ मसान्तसम्म गरिएका सम्पूर्ण दाबीहरुको आवश्यक कागजातहरु १५ दिनभित्र पेश गरिसक्न निर्देशन दिएको थियो ।

तर, अझै पनि कतिपय सेवा प्रदायक संस्थाहरुले उक्त सूचनाको अवधिभित्र पनि आवश्यक कागजातहरु अपलोड नगरेको बोर्डले जनाएको छ ।

ती सेवा प्रदायक संस्थालाई दाबी सम्बन्धी कागजात राख्न पुनः निर्देशन दिएको रिजालको भनाइ छ ।

२०७८ मंसिर मसान्सम्म गरिएका सम्पूर्ण दाबीहरुको आवश्यक कागजातहरु २०७८ माघ मसान्तसम्म अनिवार्य रुपमा अपलोड गर्न सबै सेवा प्रदायक संस्थाहरुलाई बोर्डले आग्रह गरेको उनले बताए ।

उक्त समयमा कागजातहरु अपलोड हुन नसकेकमा दाबीहरु अस्वीकृत हुने समेत बोर्डले जानकारी गराएको छ ।

बोर्डले तोकिदिएको मितिसम्ममा कागजातहरु अपलोड नगरेमा भुक्तानी गर्न बोर्ड बाध्य नहुने समेत बताईएको छ ।

साथै, २०७८ माघ मसान्तपश्चात त्यस्ता डकुमेन्टहरु प्रविष्ट गर्न नसकिने गरी स्वास्थ्य बीमा व्यवस्थापन सूचना प्रणालीलाई परिमार्जन गरिएको बोर्डले जानकारी दिएको छ ।


क्लिकमान्डु