कांग्रेस पदाधिकारीलाई देउवाको निर्देशनः चुनाव बैशाखमा हुन्छ, तयारी गर्नु



काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा स्थानीय तह निर्वाचन अगामी वैशाखमै गराउने तयारीमा जुटेका छन ।

स्रोतका अनुसार प्रधानमन्त्री देउवाले आफू निकटका व्यक्तिलाई जसरी पनि आगामी वैशाखमा स्थानीय निर्वाचन गर्ने पक्षमा आफू रहेको बताए ।

केही दिनदेखि संविधानको धारा २२५ मा गाउँ सभा र नगरसभाको कार्यकाल निर्वाचन भएको मितिले ५ वर्षको हुनेछ ।

त्यस्तो कार्यकाल समाप्त भएको ६ महिनाभित्र अर्को गाउँ सभा र निर्वाचन गर्नुपर्नेछ भन्ने व्यवस्था रहेकाले स्थानीय तहको निर्वाचन सार्दै आगामी मंसिरमा तिनै तहको निर्वाचन गर्ने चर्चा चल्दै आएको छ ।

विशेषगरी नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तह निर्वाचन सार्नुपर्ने माग गर्दै आएका थिए ।

हालसम्म निर्वाचन सार्ने वा नसार्ने विषयमा कुनै पनि सार्वजनिक वक्तव्य नदिएका देउवाले बिहीबार आफूसँग निकट रहेका केही व्यक्तिसँग बजार हल्ला अनुसार निर्वाचन सार्ने पक्षमा आफू नरहेको बताएका हुन् ।

यस्तै शुक्रबार केन्द्रीय कार्यसमितिको बैठक शुरु हुनुपूर्व सभापति देउवाले पार्टी उपसभापतिद्वय पूणर्बहादुर खड्का र धनराज गुरुङ, महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँगको छलफलमा पनि स्थानीय तह निर्वाचन वैशाखमा हुने विषयमा कुनै शंका नगरी निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका थिए ।

‘ म वैशाखमा निर्वाचन गर्ने पक्षमा छु । गठबन्धका साथीहरुले मान्नु भएको छैन, ’ देउवालाई उदृत गर्दै कांग्रेसका एक पदाधिकारीले भने, ‘उहाँहरुलाई मनाएर निर्वाचनको मिति घोषणा हुन्छ । तपाईंहरु पार्टीलाई जिताउने गरी तयारीमा लाग्नुस् । बजार हल्लाका पछि नलाग्नु होला । संविधानमा लेखिए भन्दा दायाँबायाँ केही हुदैन् । ’

आज शुक्रबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रिय कार्यालयमा उपस्थित भएका उपसभापतिद्वय पूणर्बहादुर खड्का र धनराज गुरुङ, महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले निर्धारित मितिमा चुनाव गराउन सभापतिलाई सुझाव दिएका थिए ।

देउवाले केन्द्रिय कार्यालयमा उपस्थित भएका पदाधिकारीलाई आफू आवद्ध दललाई मनाई स्थानीय निर्वाचनको मिति तोक्ने मनस्थितीमा रहेको बताएका थिए । शनिबार सरकारमा सहभागि दलहरुको बैठकमा स्थानीय निर्वाचनको बारेमा निर्णय लिनसक्ने सम्भावना रहेको छ ।

देउवा निकट रहेका उपसभापति पूणर्बहादुर खड्काले प्रचण्डले स्थानीय तहको निर्वाचन सार्ने प्रस्ताव ल्याएदेखि नै निर्वाचन सार्न कदम पार्टीको हितमा नरहेको सभापति देउवालाई भन्दै आएका थिए । महामन्त्री गगन थापाले सार्वजनिक रुपमा स्थानीय चुनाव बैशाखमा गर्नु पर्ने र यो नहुँदा संविधान विपरित हुने बताएका थिए । शुक्रबारको कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग थापाले बैशाखमा चुनाव गर्नुपर्ने बताएका थिए ।

नेपाली कांग्रेस निकट रहेका अधिकांश वरिष्ठ अधिवक्ताले स्थानीय तह निर्वाचन सार्नु संविधानको मर्म विपरित हुने सल्लाह दिएपनि देउवाले जसरी पनि स्थानीय तहको निर्वाचन गर्ने मुड बनाएका हुन् ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा पनि देउवाले स्थानीय तह निर्वाचन सार्ने पक्षमा आफू नरहेको जानकारी गराएका थिए ।

‘केपी ओलीले संसद अबरुद्ध पारेर अप्ठ्यारो पार्नु भयो । सम्माननीय जयूले संसद सूचारु गर्न सहयोग गर्नु पर्यो ’ प्रधानमन्त्री देउवाले राष्ट्रपतिलाई भण्डारीलाई भनेको विषय उदृत गर्दै स्रोतले भन्यो, ‘म निर्वाचन सार्ने पक्षमा छैन । संविधानको मर्मभन्दा दायाँबाँया जानु हुन्न भन्नेमा प्रष्ट छु । तर, संसद अवरुद्ध हुदाँ काम गर्न असहज भएको छ ।’

जवाफमा राष्ट्रपति भण्डारी संसद सूचारु गर्ने विषयमा आफूले सहजीकरणको प्रयास गर्ने बताएकी थिइन् ।


शरद ओझा