तीन निर्जीवन बीमा कम्पनीको वित्तीय विवरण स्वीकृत, १४ कम्पनीले अझै पेश गरेनन्
काठमाडौं । बीमा समितिले तीन निर्जीवन बीमा कम्पनीको वित्तीय विवरण स्वीकृत गरेको छ । समितिले २० निर्जीवन बीमा कम्पनीमध्ये तीन कम्पनीको आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण स्वीकृत गरेको हो ।
बीमा समितिका अनुसार वित्तीय विवरण स्वीकृत हुने कम्पनीहरुमा प्रिमियर इन्स्योरेन्स, सानिमा जनरल र अजोड इन्स्योरेन्स छन् ।
समितिका अनुसार नेको इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र हिमालयन जनरलले पनि आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण पेश गरेका छन् ।
नेको इन्स्योरेन्सको वित्तीय विवरण स्वीृकत हुने प्रक्रियामा रहको समितिले जानकारी दिएको छ भने प्रभु इन्स्योरेन्सको वित्तीय विवरण स्वीकृत हुने अन्तिम प्रक्रियामा छ । यस्तै, हिमालयन जनरल इन्स्योरेन्सको पनि वित्तीय विवरण स्वीकृत हुने प्रक्रियामा छ ।
समितिबाट वित्तीय विवरण स्वीकृत पाएको कम्पनी सानिमा जनरल इन्स्योरेन्सले साधारणसभा सम्पन्न गरेको छ । भने अजोड इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सले साधारणसभा आह्वान गरेका छन् ।
प्रिमियर इन्स्योरेन्सले माघ २१ गतेका लागि साधारण सभा बोलाएको छ । भने आजोड इन्स्यारेन्सले फागुन ६ गतेका लागि साधारण सभा डोकेको छ ।
समितिले जीवन बीमा कम्पनीहरुको भने आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण स्वीकृत गर्दै छ । समितिले १५ जीवन बीमा कम्पनीको वित्तीय विवरण स्वीकृत गरेको छ ।
समितिका अनुसार निर्जीवन बीमा कम्पनीतर्फ नेशनल, ओरियन्टल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनी बाहेक अरु सबै कम्पनीको अघिल्लो आवको वित्तीय विवरण स्वीकृत भइसकेको छ ।
समितिले वित्तीय विवरण स्वीकृत गरेपछि मात्रै कम्पनीहरूले साधारण सभा गर्न पाउँछन् ।
१४ कम्पनीले पेश गर्न बाँकी
सञ्चालनान रहेका २० निर्जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण पेश गरेका छैनन् ।
वित्तीय विवरण पेश नगर्ने कम्पनीमा युनाइटेड, नेपाल, एभरेष्ट इन्स्योरेन्स, आइएमई जनरल, प्रुडेन्सियल, सगरमाथा, शिखर, लुम्बिनी, एनएलजी, सिद्धार्थ, जनरल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, नेशनल र ओरियन्टल इन्स्योरेन्स रहेका छन् ।
समितिका अनुुुसार नेशनल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ कै वित्तीय विवरण पेश गरेको छैन ।
यता, राष्ट्रिय बीमा कम्पनीले भने लामो समयदेखि वित्तीय विवरण पेश गर्न सकेको छैन । कम्पनीले आर्थिक वर्ष २०७१/७२ सम्मको वित्तीय विवरण मात्रै तयार पारेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७२/७३ यता लेखा परीक्षण र साधारणसभा दुबै गरेको छैन ।
कम्पनी ऐन अनुसार बीमा कम्पनीले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र वार्षिक साधारण सभा गर्नुपर्ने व्यवस्था छ । तर, अडिट भएको वित्तीय विवरण आर्थिक वर्ष सकिएको १० महिनाभित्र पेश गर्नुपर्ने भन्ने व्यवस्था समितिको छ । अर्थात् कम्पनीहरुले वैशाख महिनासम्म पेश गरिसक्नुपर्ने छ ।
समितिले १० महिनाभित्रमा वार्षिक साधरणसभा सम्पन्न गर्नुपर्ने व्यवस्था गरिदिएको छ । बीमा ऐन, २०४९ को दफा २५ बमोजिम यस्तो निर्देशन दिएको समितिले जानकारी दिएको छ ।