ठूला व्यवसायी लगानी गर्न तयार हुँदा पनि किन आएनन् स्टार्टअप ? फेरि आवेदन माग्दै महासंघ



काठमाडौं । गत वर्ष चैतमा नेपाल उद्योग वाणिज्य महासंघले घोषणा गर्यो– ‘नवीनतम सोच भएका ५० स्टार्टअपलाई ५० व्यवसायीले लगानी गर्छौं । इच्छुकले आवदेन देऊ ।’

महासंघले सोचेको थियो, ‘आवेदन दिनेको ओइरो लाग्छ । त्यसबाट उत्कृष्ट छानेर व्यवसायी घरानाले लगानी गर्नेछन् ।’

ठूला व्यवसायी घरानाले स्टार्टअपमा लगानी नै गरेनन् भन्ने आलोचन धेरै वर्षदेखि भइरहेको थियो । त्यसैले पनि महासंघले स्टार्टअपलाई लगानी जुटाउन उक्त कार्यक्रम अगाडि सारेको थियो । यसका लागि महासंघले विशेष तयारी पनि गरेको थियो ।

महासंघमा शेखर गोल्छा अध्यक्ष भइसकेपछि नयाँ समितिको रुपमा स्टार्टअप एण्ड इनोभेसन समिति गठन गरे । त्यसको सभापतिमा लामो समयदेखि स्टार्टअपमा काम गरेका रञ्जितराज आचार्य नियुक्त भए ।

समितिले चैत ९ गते पत्रकार सम्मेलन गरेर नवीनतम सोच भएका स्टार्टअपलाई आवेदनका लागि आह्वान गर्यो । तर, एक वर्षको अवधिमा ५९ वटामा आवेदन परेका छन् । त्यसमध्ये १२ वटा छनोट प्रक्रियामै लैजान नसकिने अवस्थामा छन् ।

४७ स्टार्टअप मात्र महासंघको मापदण्डमा परेका छन् । त्यसबाट पनि छनोट गर्दा मेन्टरिङमा लैजान सकिने अवस्थामा ९ वटामात्र रहेको आचार्यले बताए ।

‘सोचे जस्तो आवेदन परेका छैनन्,’ समिति सभापति आचार्यले भने, ‘लगानी गर्छौभन्दा पनि किन आएनन्, हामी अचम्मित छौं । यो त लगानीको लागि सुनौलो अवसर थियो ।’

आवेदन परेकामध्ये सूचना प्रविधि, कृषि, दैनिक जीवन सहज बनाउने केही मोबाइल एपहरु, पिक एण्ड ड्रप जस्ता कुरिअर सेवा सम्बन्धी व्यवसायहरु छन् । महासंघले कृषि, उत्पादनमूलक, सूचना प्रविधि, सेवामा आधारित नवीनतम सोचका व्यवसायलाई प्राथमिकतामा राख्ने जनाएको छ । त्यसबाहेक पनि अन्य क्षेत्रबाट पनि उक्त प्रतिस्पर्धामा भाग लिन पाउँछन् ।

नेपालमा स्टार्टअपको बारेमा कुरा चल्न थालेको १५ वर्ष भइसकेको छ । यसअवधिमा केही स्टार्टअपले आफ्नै बलबुताले धेरै राम्रो काम पनि गरेका छन् ।

सम्भावित सयौं स्टार्टअपमा भने ठूलो घराना व्यवसायीले लगानी गर्न नचाहेको र युवालाई प्रोत्साहन नगरेको गुनासो हुँदै आएको थियो । मुलुकभर सञ्जाल रहेको महासंघ जस्तो संस्थाले स्टार्टअपलाई प्रोत्साहन गरेनन् भन्ने आरोप लाग्दै आएको थियो ।

यसै बीचमा महासंघले मुलुकका मुख्य व्यवसायीहरुलाई लगानी गर्न तयार पारेर आवेदन आह्वान गरेको थियो । महासंघले स्टार्टअप व्यवसाय गर्न चाहेको तर लगानी र आफ्नो नेटवर्क नभएकोलाई अगाडि बढाउन चाहेको छ ।

जब ठूला व्यवसायी नै स्टार्टअपमा लगानी गर्न तयार भएको अवस्थामा भने आवेदन नआएको गुनासो महासंघको छ ।

महासंघले ल्याएको यो कार्यक्रम स्टार्टअपका लागि ठूलो अवसर भएको आचार्यको भनाइ छ । यी स्टार्टअपमा मुुलुकमा ठूलो व्यवसाय गरेको व्यवसायीले लगानी गर्ने छन् ।

उनीहरुले लगानीमात्र गर्ने होइनन । उनीहरुको वर्षौंदेखिको अनुभवले राम्रो बाटो देखाउने छ । उनीहरुसँग देशभरमा नेटवर्क हुन्छ । व्यवसायीक विश्वसनीयता रहको हुन्छ ।

‘यसले गर्दा व्यवसाय बढाउन धेरै समय लाग्दैन,’ आचार्यले भने, ‘सबै स्टार्टअपले यो सुनौलो अवसर हो भने बुझ्नु पर्छ ।’

नेपालमा अहिलेको समस्या भनेको ‘इक्विटी सेयर’ गर्दा आफ्नो व्यवसाय नै सकिन्छ भन्ने सोच रहेको आचार्य बताउँछन् । अर्को लगानीकर्ता आउँदा एक्लैले भन्दा धेरै सम्भावना र व्यवसाय हुने उनको तर्क छ ।

रञ्जितराज आचार्य

उनी उदाहरण दिन्छन् ।

जस्तो कि, आफै चलाएर महिनाको एक लाख कमाउने कि अर्को पार्टनर राखेर महिनाको पाँच लाख कमाएर त्यसको ५० प्रतिशत लिने ?

एक लाख कमाएर शतप्रतिशत आफ्नै कमाउन सकिएला तर पार्टनरसिप गर्दा सेयर हुन्छ र नाफा पनि धेरै हुन्छ । यसले कम्पनीको ‘भ्यालु’ बढ्छ, सम्पत्ति बढ्छ र भविष्यमा व्यवसाय बढाउने सम्भावना धेरै हुन्छ ।

‘स्टार्टअपहरुले यो दृष्टिकोणबाट हेरेकै छैनन्,’ आचार्यले भने, ‘उनीहरु यसरी गएमा सबै सकिन्छ भन्ने कुरामा डराइरहेका छन् ।’

यसरी सोचिरहेका स्टार्टअपका लागि पनि अर्को एक्जिटको प्रावधान पनि राखिएको उनको भनाइ छ ।

महासंघले सम्झौता हुने बेलामा नयाँ लगानीकर्ता ‘एक्जिट’ हुनसक्ने प्रावधान पनि राखिएको छ । अर्थात ‘राइट अफ रिफुजल’को प्रावधान हुनेछ ।

पाँच वर्षपछि कुनै स्टार्टअपले हामी आफै चलाउछौं भन्ने चाहेमा नयाँ लगानीकर्ताले कम्पनीको भ्यालुएसन गरेर फिर्ता जान सक्नेछन् । यसले गर्दा स्टार्टअपको आफ्नो व्यवसाय कतै पनि नजाने आचार्यको भनाइ छ ।

पुनः आवेदन आह्वान गर्दै महासंघ
एक वर्षको अवधिमा पनि महासंघले लगानी जुटाउन चाहेका जति स्टार्टअप नआएपछि पुनः आवेदन आह्वान गर्ने तयारी गरिहरेको छ ।

‘हामीले केही समयअघि नै पुनः आवेदन आह्वान गर्ने तयारी गरेको थियो,’ आचार्य भन्छन्, ‘कोरोनाको तेस्रो लहर शुरु भएकाले आह्वान रोकिएको छ ।’

महासंघल अर्को आह्वान केही समयको लागि रोकिएको भए पनि अहिले पनि कुनै पनि स्टार्टअपले आफ्नो आवेदन हाल्न सक्ने आचार्यले बताए ।

के छ मापदण्डमा ?

  • कम्पनी दर्ता हुनुपर्ने
  • एक वर्ष सञ्चालन भएको हुनुपर्ने
  • एक वर्षको अडिट भएको हुनुपर्ने
  • केही लगानी भएको हुनुपर्ने
  • व्यवसायको सम्भावना भएको हुनुपर्ने

महासंघको छनोट प्रकृयामा सहभागी हुन कम्तीमा माथिका मापदण्ड पूरा गरेको हुुनुपर्छ ।

स्टार्टअप लगानीका लागि यी मापदण्ड सामान्य भएको उनको भनाइ छ । सामान्य प्रक्रियामा गएर सञ्चालनमा नरहेको स्टार्टअपलाई कुनै पनि व्यवसायीले लगानी गर्न तयार नहुने भएकाले यी मापदण्ड आवश्यक भएको आचार्य बताउँछन् ।

‘यी सामान्य मापदण्ड हुन्,’ आचार्यले भने, ‘यति पनि पूरा नगर्ने हो भने लगानी गर्न गाह्रो हुन्छ ।’

मापदण्डअनुसार आवेदन दिने स्टार्टअप कम्पनी रजिष्ट्रार, भ्याट, प्यानमा दर्ता भएको हुनुपर्छ । साथै, कम्तीमा एक वर्ष व्यापार, व्यवसाय गरेको वा सेवा संचालन गरेको हुनुपर्छ ।

व्यापार नै गरेको छैन र नयाँ आइडियामात्र हो भने त्यसलमा लगानी गर्न अप्ठारो हुने आचार्यले बताए ।

‘हामीले भेञ्चर क्यापिटल वा एन्जल फन्डको कुरा गरिरहेका छैनौं,’ आचार्यले भने, ‘पूर्णरुपमा लगानी गर्न खोजिरहेका छौं । त्यस्तो लगानी १० लाख पनि हुन सक्छ र १० करोड पनि हुनसक्छ ।’

त्यस्तै, उक्त स्टार्टअपको कम्तीमा एक वर्षको अडिट भएको ब्यालेन्स सिट आवश्यक पर्छ । साथै, उसले केही लगानी गरेको पनि हुन आवश्यक छ ।

यी नियमले स्टार्टअप सञ्चालन गर्न चाहने युवा यसमा कति गम्भीर छ भन्ने देखाउने छ । उसले कति पनि लगानी गरेको छैन भने यसमा गम्भीर भएर लागेको छ भन्न नसकिने महासंघको भनाइ छ ।

साथै, यस्ता स्टार्टअपले व्यवसायको सम्भावना राखेको हुनुपर्छ । भविष्यमा राम्रो व्यवसाय गर्न सक्छ, प्रगतिको सम्भावना छ भन्ने यकिन भएमा मात्र लगानी आउन सक्ने आचार्यको भनाइ छ ।

‘यी मापदण्ड नै पूरा गरेको देखिदैन,’ आचार्यले भने, ‘यस्तो सुनौलो अवसर हुँदा पनि किन आएका छैनन भन्नेमा हामी बुझिरहेका छैनौं ।’

यसरी हुनेछन् छनोट
महासंघले आवेदनबाट परेकाबाट सम्भावित राम्रा ५० वटा स्टार्टअप छान्ने छ । जसलाई उसले लगानी जुटाउने छ ।

त्यसबाट पहिलो ब्याचमा २० देखि २५ वटा स्टार्टअपलाई मेन्टरिङमा लगिनेछ । महासंघले तय गरेको उत्कृष्ट सफल व्यवसायीहरुले ती स्टार्टअपलाई मेन्टर गर्नेछन् ।

त्यसपछि ती २५ वटा स्टार्टअपले लगानीको लागि लगानीकर्ता अगाडि ‘इन्भेष्टमेन्ट पिचिङ’ गर्नेछन् । पिचिङबाट लगानीकर्ताले सम्भावना हेरेर लगानी योग्य स्टार्टअप छान्नेछन् ।

त्यसरी छानिएका स्टार्टअप र मुख्य लगानीकर्तबीच जोड्ने काम महासंघले गर्ने छ र लगानीको सम्झौता हुनेछन् ।

लगानी गर्नेले आफ्नो व्यवसायलाई हेरेर वा नयाँ क्षेत्रमा नयाँ लगानी गर्ने सोँचका साथ स्टार्टअपमा लगानी गर्नेछन् । लगानीकर्ता बीच पनि आफूले लिएका स्टार्टअपलाई कसरी राम्रो बनाउने भन्ने प्रतिस्पर्धा हुने आचार्यको भनाइ छ ।

यी हुन् २० चर्चित प्रशिक्षण दिने व्यवसायी
स्टार्टअप मेन्टिरसिपको लागि महासंघले २० जना व्यवसायीलाई छनोट गरेको छ । काठमाडौं बाहिरका स्टार्टअपलाई भर्चुअल माध्यमबाट प्रशिक्षण गर्ने छन् र लगानीको लागि पिचिङ गर्दा भने भौतिक रुपमा उपस्थिति हुनुपर्ने छ ।

मेन्टरहरुमा पशुपति मुरारका, अनिल चित्रकार, रञ्जित आचार्य, सुमन शाक्य, ओमराज भण्डारी, सौरभव ज्याति, आशुतोष तिवारी, सिद्धान्तराज पाण्डे, अमति अग्रवाल, सुमना श्रेष्ठ, विश्वास ढकाल, निरज खनाल, आनन्द बगारिया, गगन प्रधान, निरन्जन श्रेष्ठ, दीलिप अग्रवाल, सनम चित्रकार, योगेन्द्र शाक्य, संजय गोल्छा र भाष्कर ढुंगाना छन् ।

यी २० जना उद्योग व्यवसायीहरुले छनोटमा परेका स्टार्टअप व्यवसायीलाई मेन्टरसिप दिनेछन् ।


सन्तोष न्यौपाने