नेशनल लाइफका सेयरधनी पाए उच्च लाभांश, बीमितले कति पाए बोनसदर ?



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जुन अघिल्ला ३ आर्थिक वर्ष यताकै उच्च लाभांश हो ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड रुपैयाँ छ । १९ प्रतिशत बोनस पारित पछि इन्स्योरेन्सको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ नाघ्ने छ ।

नेपाली जीवन बीमा बजारमा नेशनल लाइफ इन्स्योरेन्सले बजार हिस्सा बढाउँदै गएको तथ्यांकले देखाउँछ । व्यवसाय बिस्तारमा नयाँ कम्पनीअघि देखिँदा पूराना कम्पनीले बजार हिस्सा गुमाउँदै गएका छन् ।

पुराना जीवन बीमा कम्पनीको बजार हिस्सा गुम्दै गएको अवस्थामा पनि नेशनलले भने बजार हिस्सा बढाउँदै गएको हो ।

बीमा समितिले उपलब्ध गराएको चालु आवको मंसिर मसान्तसम्मको तथ्यांकअनुसार कम्पनीले उक्त अवधिमा ५ अर्ब ६४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

उक्त अवधिमा नेशनलले कुल जीवन बीमा बजारमा ९.७७ प्रतिशत हिस्सा ओगटेको छ । यहाँ नेशनल लाइफले आफ्ना लगानीकर्तालाई दिएको ११ वर्षको लाभांश इतिहास र बीमितलाई दिएको बोनस दरको अवश्था कस्तो छ भनेर विश्लेषण गर्ने प्रयास गरिएको छ ।

यस्तो छ नेशनल लाइफको ११ वर्षे लाभांश इतिहास
नेपालमा सरकारी स्वामित्वमा राष्ट्रिय बीमा संस्थान मात्रै सञ्चालनमा थियो । देशभित्र बीमाको बढ्दो आवश्यकतालाई परिपूर्ति गर्ने उद्देश्यले २०४४ मा नेशनल लाइफ एण्ड जनरल इन्स्योरेन्स कम्पनी स्थापना गरी जीवन तथा निर्जीवन दुबै प्रकृतिको व्यवसाय थाली गरेको इतिहास छ ।

बीमा समितिले २०६३ सालदेखि जीवन र निर्जीवन बीमा व्यवसायका लागि छुट्टाछुट्टै बीमा कम्पनी हुनुपर्ने व्यवस्था लागू गरेपछि नेशनल लाइफले पूर्णरुपमा जीवन बीमा व्यवसाय गर्न थालेको थियो ।

कम्पनीले जीवन बीमा व्यवसाय थालनी गरेको ३४ वर्ष पुगिसकेको छ । आर्थिक वर्ष २०६६/६७ देखि आर्थिक वर्ष २०७६/७७ सम्मको कम्पनीको लाभांश इतिहास हेर्दा कम्पनीले अधिकांश वर्ष सेयरधनीलाई लाभांश बाँढेको देखिन्छ ।

यो अवधिमा इन्स्योरेन्सले सेयरधनीलाई न्यूनतम १०.५३ प्रतिशत र अधिकतम ७२.५ प्रतिशतसम्म लाभांश वितरण गरेको छ । नेशनल लाइफले आर्थिक वर्ष २०७५/७६ मा न्यूनतम १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो भने आर्थिक वर्ष २०६९/७० मा सबैभन्दा बढी ७५.५ प्रतिशत लाभांश वितरण गरेको तथ्याङ्कले देखाएको छ ।

कम्पनीले आर्थिक वर्ष २०६६/६७ मा २१ प्रतिशत बोनस सेयर बाँडेको थियो । २०६७/६८ मा नेशनल लाइफका सेयरधनीले ३१.५८ प्रतिशत लाभांश पाएका थिए ।

आर्थिक वर्ष २०६८/६९ मा २५ प्रतिशत लाभांश पाएका शेयरधनीले २०६९/७० मा ७२.५ प्रतिशत लाभांश हात पारे ।

कम्पनीले आर्थिक वर्ष २०७०/७१ को मुनाफाबाट ३८ प्रतिशत, २०७१/७२ को नाफाबाट ३१.५८ प्रतिशत, आव २०७२/७३ को नाफाबाट २६.३२ प्रतिशत लाभांश वितरण गरेको देखिन्छ ।

आर्थिक वर्ष २०७३/७४ मा कम्पनीका लगानीकर्ताले १४.५ प्रतिशत र आव २०७५/७६ मा १०.५३ प्रतिशत लाभांश पाएका थिए ।

बीमितलाई दिने बोनस दर बढ्दो
नेशनल लाइफ इन्स्योरेन्सले बीमितलाई दिने बोनस दर बढाउँदै गएको देखिन्छ । आर्थिक वर्ष २०६८/६९ देखि आर्थिक वर्ष २०७६/७७ सम्मको तथ्यांकलाई हेर्दा कम्पनीले दिएको बोनस दर बढ्दै गएको देखिन्छ ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०६८/६९ मा बीमितलाई प्रति हजार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर दिएको थियो । सो आर्थिक वर्षका लागि कम्पनीले २६ वर्षभन्दा माथिका बीमा अवधिका लागि ७५ रुपैयाँसम्म बोनस दर दिने घोषणा गरेको थियो ।

आर्थिक वर्ष २०६९/७० मा कम्पनीले बीमितलाई न्यूनतम ६१ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर कायम गरेको थियो ।

उक्त आर्थिक वर्ष पछि कम्पनीले बीमितलाई दिने बोजस दर बढ्दै गएको देखिन्छ । कम्पनीले आर्थिक वर्ष २०७०/७१, २०७१/७२, २०७२/७३ र २०७३/७४ मा न्यूनतम ६१ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस दर दिएको तथ्यांकले देखाउँछ ।

आर्थिक वर्ष २०७४/७५ मा आइपुग्दा बीमितले पाउने बोनस दर फेरि बढ्दै गएको देखिन्छ । सो आर्थिक वर्षका लागि बीमितका लागि कम्पनीले न्यूनतम ६२ रुपैयाँ र अधिकतम ८२ रुपैयाँसम्म बोनस दर तोकेको थियो ।

आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले बीमितलाई एउटै बोनस दर कायम गरेको देखिन्छ । यी दुबै आर्थिक वर्षका लागि कम्पनीले बीमितलाई न्यूनतम ६३ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनस दर निर्धारण गरेको छ ।


क्लिकमान्डु