नेपालको पहिलो प्रेसर कुकरको कथा: लाख तलब हुने बैंकको जागिर छाडेर एभरेष्ट कुकर उत्पादन गर्दै सुमोद



काठमाडौं । हरेक किचनमा नभइनहुने भाँडा हो कुकर । दाल, तरकारी, भातदेखि धेरै किसिमका खानाका परिकार पकाउन सकिन्छ यसबाट ।

किचनको आवश्यकताअनुसार बजारमा अनेकथरीका कुकर पाइन्छन् । स्वदेशी-विदेशी, सस्ता-महंगा, साना-ठूला ।

के तपाईंले ख्याल गर्नु भएको छ आफ्नो किचनमा प्रयोग भइरहेको कुकुर कुन ब्रान्डको हो ?

सायद त्यो एभरेष्ट प्रेसर कुकर पनि हुनसक्छ । यो कुकर ३६ वर्षअघि बुटबलको कालिकानगरबाट उत्पादन शुरु भएको थियो ।

हजुरबुबाले शुरु गरेको यसको उत्पादन आज नाति सुमोदमान सैंजुले गरिरहेका छन् । एभरेष्ट कुकर नेपालको गुणस्तरीय, बलियो र राम्रो कुकरमा पर्छ ।

मासिक ४५ सयसम्म उत्पादन भएको यो कुकर आज मुलुकभर बिक्री हुन्छ । २०४२ सालामा सानो हजुरबुबाले स्थापना गरेको बुटबल आल्मुनियम इन्डिष्ट्रिजकालाई युवा उद्यमी सुमोदले यसको ‘लिगेसी’लाई धान्दै अझ उचाइमा पुर्याएका छन् ।

बुटवल आल्मुनियम इन्डिष्ट्रिजका प्रबन्ध दिर्नेशक सुमोदमान नेपाली युवा उद्यमी मञ्चका केन्द्रीय सदस्य तथा नेपाली युवा उद्यमी मञ्च रुपन्देही जिल्ला शाखाका पूर्वअध्यक्षसमेत हुन् ।

तीन दशकअघि पहिलो पटक नेपालमा कुकुर उत्पादन गर्ने सोच कसरी आयो र युवा उद्यमीले यसलाई कसरी अगाडि बढाइरहेका छन् ?

विसं. २०१० सालमा पाल्पाबाट बुटबलमा झरेपछि सुमोदको परिवारले विभिन्न पेशा गर्न थाले । चप्पल उद्योग स्थापना गरे । चर्चित बिस्कुट नेबिकोलगायत विभिन्न कम्पनीको डिलरसिप गर्न थाले ।

त्यही क्रममा सुमोदको सानो हजुरबुबाले २०४२ सालमा बुटवल आल्मुनियम इन्ड्रष्ट्रिज कम्पनी स्थापना गरे । यसले एभरेष्ट प्रेसर कुकर उत्पादन शुरु गर्यो ।

नेपालका लागि यो नौलो उत्पादन थियो । भान्सामा कुकरको प्रयोग हुन्थ्यो । तर, सबै भारततिरबाट आउँथ्यो । बजार ठूलो थियो । तर, उत्पादन आइडिया थिएन ।

त्यहीबेला सुमोदको हजुरबुबाले शुरु गरे नेपालको पहिलो प्रेसर कुकुर एभरेष्टको उत्पादन । हजुरबुबाले कसरी कुकर उत्पादन गर्ने सोच निकाल्नु भयो सुमोदलाई त्यत्ति धेरै आइडिया छैन ।

सानो हजुरबुबा व्यवसायको लागि चाहिने सामान लिन भारत गइरहनुहुन्थ्यो । भारतमा जाँदा विभिन्न उद्योग घुम्नुहुन्थ्यो ।

‘सायद, त्यही क्रममा उहाँ कुनै प्रेसर कुकुर उद्योगमा जानु भयो जास्तो लाग्छ,’ सुमोद भन्छन्, ‘त्यस्तै उत्पादन नेपालमा पनि गर्न सकिन्छ भनेर यहाँ पनि शुरु गरको हुनुपर्छ ।’

विसं. २०६० सालमा सानो हजुरबुबा बिते । त्यसपछि एभरेष्ट कुकर उत्पादन गर्ने कम्पनीले गति लिन सकेन । कम्पनीलाई बिक्री गर्ने कि भन्ने कुरा चल्न थाल्यो ।

सुमोदका आफ्ना हजुरबुबलाई भने परिवार भित्रको व्यवसाय बाहिर जानदिनु हुँदैन भन्ने थियो ।

‘एभरेष्ट कुकर हाम्रो इतिहास हो,’ हजुरबुबाले भन्नुभयो, ‘यो लिगेसीलाई हामीले बचाइ राख्नुपर्छ ।’

सुमोद लक्ष्मी बैंकमा जागिरे थिए । परिवारको व्यवसायमा त्यत्ति चासो थिएन ।

हजुरबुबाले सुमोदलाई भन्नु भयो, ‘जागिर छोडिदेऊ । अब यो कम्पनी तिमीले हाक्नुपर्छ ।’

‘नेवार समूदायमा जागिरभन्दा पनि आफ्नै व्यवसाय गर्ने प्रचलन छ,’ सुमोद भन्छन्, ‘त्यही सोचेर पनि हजुरबुबाले मलाई व्यवसायमा तान्न खोजिरहनु भएको थियो ।’

सुमोदको लक्ष्मी बैंकको जागिर राम्रो थियो । बुटवलमा म्यानेजरको रुपमा चार वर्ष काम गरे । त्यसपछि काठमाडौं मुख्य कार्यालयदेखि विभिन्न शाखामा काम गरे ।

सिनियर अफिसरस्तरमा पुगेका सुमोदको तलब एक लाखभन्दा धेरै भइसकेको थियो ।

‘हजुरबुबाको आग्रहपछि मैले एक लाखभन्दा धेरै तलब भएको राम्रो जागिर छोडेँ,’ सुमोद भन्छन्, ‘त्यसपछि मैले व्यवसाय गर्ने निर्णय गरेँ ।’

विसं. २०७१ सालमा सुमोदको परिवारले बुटवल आल्मुनियम इन्ड्रिष्ट्रिलाई आफ्नो स्वामित्वमा लिएर एभरेष्ट प्रेसर कुकर उत्पादनलाई निरन्तरता दिए । हजुरबबाले कम्पनी अगाडि बढाउन सुमोदलाई सहयोग गरे ।

सुमोद आफ्नो ध्यान पूर्णरुपमा यस कम्पनीलाई दिन थाले ।

हाल कुकर निर्माणका लागि मासिक ६ देखि ८ टन आल्मुनियम खपत भइरहेको छ । जसबाट मासिक ४ हजार ५ सय गोटासम्म उत्पादन हुन्छ ।

‘औषतमा भन्ने हो भने हामीले मासिक ३ हजार ५ सय कुकुर बजारमा पठाइरहेका छौं,’ उनी भन्छन् ।

एभरेष्ट १ देखि १२ लिटरसम्मको उत्पादन हुन्छ । जसलाई ९ सयदेखि ३५ सय रुपैयाँसम्म पर्छ ।

बजारमा विभिन्न भेरियन्टका कुकरको माग बढ्न थाल्यो । २०७३ सालमा नयाँ दुई ब्रान्ड थपे- यति र ग्यालेक्सी । यी दुई ब्रान्डका कुकर ३ लिटर र ५ लिटरमा उत्पादन भइरहेका छन् । ग्यालेक्सी भनेको हार्डनाइज (ननस्टिकी) कालो कुकर हो ।

‘बजारमा माग भएपछि तीनवटा प्रडक्ट थपेका हौं,’ उनी भन्छन्, ‘उपभोक्तालाई यसले विकल्प उपलब्ध गराएको छ ।’

कुकरलाई चाहिने जति पनि कच्चा पदार्थ छ । त्यो भारत र चीनबाट आयात हुन्छ । यी कुकरहरुमा ७ वर्षको वारेन्टी हुन्छ ।

बुटबलमा रहेको कम्पनीले मुलुकका मुख्य शहरमा आफ्नो नेटवर्क बनाएको छ । विर्तामोड, इटहरी, विराटनगर, राजविराज, जनकपुर, वीरगञ्ज, नारायगढ, धनगढी, दाङ, पोखरा, बाग्लुङ, काठमाडौं, भक्तपुर र बनेपा जस्ता १४ सहरमा आफ्नो डिलर छन् ।

बजारमा कुकरको तीव्र प्रतिस्पर्धा छ । स्वदेशकै दुई दर्जन कुकर ब्रान्ड छन् । त्यसमाथि भारतबाट पनि थुप्रै आयात हुन्छ ।

धेरै कम्पनी हुँदा बजार अस्वस्थ प्रतिस्पर्धासमेत भइरहेको उनको भनाइ छ । कम गुणस्तरको सामान राख्ने, कम तौलको कुकुर बनाएर बजारमा पठाउने प्रतिस्पर्धा धेरै छ ।

‘हामी बजारको त्यो प्रतिस्पर्धामा जान चाहँदैनौं,’ सुमोद भन्छन्, ‘हामीले हाम्रो लक्ष्यअनुसार गुणस्तरी उत्पादन गरिरहेका छौं ।’

एभरेष्ट कुकरको आफ्नै ब्रान्ड भ्यालु भएकाले यसलाई सानो स्तरमा उत्पादन गर्ने तर गुणस्तरको कुरामा सम्झौता नगर्ने उनको भनाइ छ ।

‘अरुभन्दा अगाडि जानुपर्छभन्दा पनि गुणस्तरीय उत्पान गरेर आफ्नो बजार कायम गर्दै आगाडि बढ्नु पर्छ भन्ने हाम्रो उद्देश्य छ,’ सुमोदले भने, ‘हाम्रो आफ्नै नेटवर्क छ । हाम्रो पनि आफ्नै सप्लाई चेन, डिलर नेटवर्क छ ।’

कुकरमा सबैभन्दा ठूलो विषय भनेको बलियो र कति सुरक्षित छ भन्ने हो । सुरक्षाका लागि सँधै ध्यान दिने भएकाले साढे ९ गेज आल्मुनियम प्रयोग गरेर कुकर उत्पादन गरिरहेको उनको भनाइ छ ।

बजारमा चर्को प्रतिस्पर्धा भएकाले कतिपय उत्पादकले हल्लाका तौलको सामान प्रयोग गरेर कुकर उत्पादन गरिरहेका छन् । जसले उत्पादकलाई मार्जिन धेरै निस्किए पनि उपभोक्ताको लागि सुरक्षित भने हुँदैन । यसबाट कुकर पड्किने समस्या पनि हुनसक्छ ।

चर्को प्रतिस्पर्धी बजारमा कोरोना महामारीले अझ बढी समस्या पारेको छ । यसले पुरानो लयमा फर्किन हम्मेहम्मे परेको उनको भनाइ छ ।

बजारमा टिक्न धेरै समस्या हुँदाहुँदै पनि एभरेष्ट कुकर भनेको नेपालमा आफ्नै इतिहास रहेको ब्रान्ड भएकाले यसलाई जसरी पनि बजारमा टिकाइराख्ने सुमोदको दृढ विश्वास छ ।

योसँगै सुमोदको परिवारले फुड प्रोडक्सन र अटोमोवाइल्सको व्यापार पनि गरिहेका छ ।


सन्तोष न्यौपाने