उपत्यकाका ७ वटा ट्राफिक कार्यालयमा मेसिनबाटै जरिवाना तिर्न पाइने



काठमाडौं । अब ट्राफिक जरिवाना भुक्तानीका लागि बैंक धाउन नपर्ने भएको छ ।

ट्राफिक कार्यालयले सेवालाई थप प्रविधिमैत्री, परिष्कृत र सहज बनाउन काठमाडौं उपत्यकाको ७ वटा ट्राफिक कार्यालयमा ट्राफिक नियम उल्लंघन गरे बापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम प्रभु पेको किअस्क मेसिनको प्रयोग गरी भुक्तानी गर्न सकिने व्यवस्था बिस्तार गरेको छ ।

यसअघि यो व्यवस्था महानगरीय ट्राफिक प्रहरी महाशाखामा चालु भइसकेको र आजदेखि मातहतका महानगरीय ट्राफिक प्रहरी प्रभाग गौशाला, महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वर, महानगरीय ट्राफिक प्रहरी प्रभाग गठ्ठाघर, महानगरीय ट्राफिक प्रहरी प्रभाग थापाथली, महानगरीय ट्राफिक प्रहरी वृत्त मालीगाउँ र महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा बिस्तार गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी परिसर सातदोवाटोमा आयोजित एक कार्यक्रमका वीच महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशी र प्रभु पेका अध्यक्ष कुसुम लामाले संयुक्त रुपमा रिबन काटी ‘प्रभु पेको किअस्क मेसिन’ उद्‌घाटन गरेका छन् ।

उद्‍घाटन पश्चात ७ वटै ट्राफिक कार्यालयमा सेवा शुभारम्भ भएको छ ।

कार्यक्रममा बोल्दै महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले ट्राफिक नियम उल्लंघन गरेबापत सवारी प्रयोगकर्ताहरूले जरिवाना तिरी आफ्नो कागजपत्रहरु फिर्ता लिन सरल एवं सहज होस् भन्ने उद्देश्यले प्रभु बैंकको सहकार्यमा नयाँ प्रविधि मातहतका ७ वटा कार्यालयहरुमा बिस्तार गरिएको बताए ।

‘किअस्क’ मेसिनमा सिधै नगद हालेर जरिवाना भुक्तानी गर्न सकिने भएकाले बैंकमा गई लाईन बस्नुपर्ने झन्झटबाट मुक्त भई समयको बचत हुने उनको भनाइ छ ।


क्लिकमान्डु