सिटामोल: कच्चा पदार्थ महंगो भन्दै सरकारले उत्पादन गरेन, निजीलाई नाफा पुगेन



काठमाडौं । दुई वर्षअघि चीनबाट कोरोना संक्रमण विश्वभर फैलिदै गर्दा नेपालमा स्वास्थ्य सामग्रीको अभाव शुरु भयो । नेपालमा कोरोना संक्रमण आइसकेको थिएन तर बजारमा सिटामोल, स्याटिटाइजर, थर्मलगनदेखि मास्कको अभाव भयो ।

त्यही अभावको समयलाई केही व्यवसायीले मौकाको रुपमा प्रयोग गरे । कोरोना संक्रमण भएर ज्वरो आएको बेला सबैभन्दा राम्रो औषधि थियो सिटामोल ।

संक्रमण हुने डरले सबैले सिटामोलको जोहो गर्न थाले । त्यसले गर्दा नेपालको बजारमा पनि सिटामोलको हाहाकार नै भयो । कतिले लुकाएर महंगोमा समेत बेचे ।

नेपालमा कोरोना संक्रमणको तेस्रो लहर आउँदा सिटामोलको अभाव पुनः चर्किएको छ । ओमिक्रोनको प्रभाव बढ्दै जाँदा रुघाखोकी, ज्वारोका लागि सबैभन्दा राम्रो उपाय सिटामोल नै हो । त्यसले गर्दा बजारमा माग बढेको बेला अभाव बढ्दो छ ।

नेपालमा सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले सिटामोल र निजी क्षेत्रको उद्योगले प्यारा सिटामोल उत्पादन गर्छन् ।

सरकारी स्वामित्वको औषधि लिमिटेडले कच्चा पदार्थ महंगो भएकोले आवश्यक सिटमोल उत्पादन गरेको छैन भने निजी क्षेत्रले आश्यकताअनुसार उत्पादन भइरहेको जनाएको छ ।

पछिल्लो समयमा सिटामोललाई चाहिने कच्चा पदार्थ प्यारासिटामोलको मूल्य अकासिएकोले उत्पादनमा कमी आएको नेपाल औषधि लिमिटेडका प्रवक्ता टिकाराम अर्यालले बताए ।

‘केही समयदेखि सिटामोलको कच्चा पदार्थको मूल्य अत्यधिक बढेकाले आयात भएको थिएन,’ उनले भने, ‘तेस्रो लहर यसरी बढ्ला भन्ने पनि अनुमान थिएन । यहीबेला माग बढेको छ ।’

अन्तर्राष्ट्रिय बजारमा सिटामोल उत्पादन गर्न चाहिने प्यारासिटामोलको मूल्य ४०० देखि ५०० प्रतिशतसम्म वृद्धि भएको उनले बताए ।

कोरोना संक्रमणकै कारणले विश्व बजारमा सिटामोलको कच्चा पदार्थको मूल्य ह्यात्तै बढेको छ । कच्चा पदार्थको मूल्य आकासिएकाले घटेपछि ल्याउने सोँचमा थियो औषधि लिमिटेड ।

त्यहीबेलामा कोरोना संक्रमणको तेस्रो लहर आयो । यसले गर्दा बजारमा सिटामालेको माग बढेको छ । अर्यालले पनि बिक्रीभन्दा लागतमूल्य धेरै भएको बताए ।

नेपाल औषधि लिमिटेडले क्षमताअनुसार सिटामोल उत्पादन गरिरहेको अर्यालको भनाइ छ । यस कम्पनीको सिटामोल उत्पादन क्षमता दैनिक एक लाख ट्यावलेट छ । तर त्यसअनुसार उद्योग सञ्चालन हुनसकेको छैन् ।

निजी क्षेत्रको औषधि उद्योगले भने सिटामोललाई नाफाभन्दा पनि सामाजिक उत्तरदाहित्वको कारण उत्पादन गरिरहेको बताउँछन् ।

नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्ज्वलजंग पाण्डेले फाइदाका हिसाबले भन्दा पनि सामाजिक उत्तरदाहित्वको हिसाबले यो औषधि उत्पादन गरिरहेको बताए ।

नाफा कम भएका कारणले पनि निजी क्षेत्रले प्यारासिटामोलको उत्पादन सीमितमात्र गरिहेका छन् ।

निजी क्षेत्रको उद्योगले उत्पादन गर्ने प्यारासिटामोल सधै जस्तै नियमित रुपमा उत्पादन भइरहेको पाण्डेले बताए । अहिले कोरोनाको संक्रमणले गर्दा प्यारासिटामोलको माग बढेको उनले बताए ।

‘प्यारासिटामोलको उत्पादन नियमित नै भइरहेको छ,’ उनले भने, ‘कोभिडको अप्राकृतिक माग बढेको छ । यसले गर्दा बजारमा कमी भएको हुनसक्छ ।’

तर, अभाव नै नहुनुपर्ने उनको तर्क ।

नेपालमा सिटामोल औषधि आयात हुँदैन । स्वदेशकै औषधि उद्योगले सिटामोल र प्यारासिटामोल उत्पादन गरिरहेका छन् । सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले सिटामोल उत्पादन गरिहरेको छ भने निजी क्षेत्रका औषधि उद्योगले प्यारासिटामोल उत्पादन गरिरहेका छन् ।

अहिले निजी क्षेत्रका झन्डै २२ वटा औषधि उद्योगले प्यारासिटामोल उत्पादन गरिरहेको पाण्डेले बताए । यी कम्पनीले मासिक एकदेखि ढेड करोड ट्यावलेट उत्पादन गरेर बजारमा पढाइरहेका छन् ।

पछिल्लो समयमा त्यो मात्राले नपुगेर थप प्यारासिटामोल उत्पादन गर्न पहल गरेको पाण्डेले बताए ।

‘बजारको मागलाई पूरा गर्न नेपाल औषधि उत्पादक संघ पहलमा अलि धेरै उत्पादन गरौं भनेर आह्वान पनि गरेका छौं,’ पाण्डेले भने ।

नेपालमा औषधि व्यवस्था विभागमा १०९ वटा औषधि कम्पनी दर्ता भएका छन् । त्यसमध्ये २२ वटालेमात्र सिटमोल उत्पादन गर्छन् ।

त्यस्तै, नेपालमा १२३ कम्पनीले विदेशबाट औषधि आयात गर्ने भनेर अनुमति लिएका छन् । यी कम्पनीले विदेशका विभिन्न कम्पनीको औषधि आयात गर्छन् ।


सन्तोष न्यौपाने