तारा एयरले इलाममा उडान शुरु गर्ने, ११ जनाको भाडा इलाम नगरपालिकाले व्यहोर्ने



 
काठमाण्डौं । तारा एअरले इलामको सुकिलुम्बा विमानस्थलमा उडान सेवा शुरु गर्ने भएको छ ।

इलाम नगरपालिका र तारा एयर प्रालिबीच त्यहाँको सुकिलुम्बा विमानस्थल सञ्चालन गर्ने विषयमा माघ ३ गते सम्झौता भएको थियो ।

सम्झौता अनुरुप आगामी फागुन ८ गतेदेखि प्रत्येक आइतबार काठमाण्डौंबाट सुकिलुम्बा विमानस्थलमा उडान-अवतरण हुने निश्चित भएको नेपाल पर्यटन बोर्डका सदस्य तथा पर्यटन व्यवसायी कृष्ण शाहले जानकारी दिए ।

इलाममा हवाई उडानको यो सम्झौताका लागि पहल गरेका पूर्वका पर्यटन व्यवसायी शाहका अनुसार नगरपालिकाले १२ उडानका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

१६ यात्रु क्षमता सिट क्षमताको जहाज एकतर्फी भाडा ८ हजार ७०० रुपैयाँ तोकिएको छ । सम्झौताअनुसार ११/११ जनाको आउने-जाने भाडा इलाम नगरपालिकाले नै तिर्नुपर्नेछ ।

नगरपालिकाले एकतर्फ भाडा तिरे दुइतर्फकै उड्नका लागि सहुलियत दिएको समेत उनले जानकारी दिए ।

‘इलाम आफैमा राम्रो पर्यटकीय गन्तव्य हो । इलामलाई प्रकृति र संस्कृतिको सङ्गम मान्ने गरिन्छ । त्यहाँ पर्यापर्यटन, कृषि-पर्यापर्यटन, चिया पर्यटन, धार्मिक-सांस्कृतिक पर्यटन र मनोरञ्जन पर्यटनको सम्भावना छ । हवाई सेवा नियमित हुन सके इलाम जाने पर्यटकको संख्या बढ्ने हाम्रो अपेक्षा छ,’ शाहले भने ।

पूर्व जान चाहने आन्तरिक पर्यटकको  संख्या बढि रहेपनि सडक यातायातबाट जाँदा बढी समय लाग्ने भएकोले हवाई यात्राबाट पर्यटक संख्या बढ्ने उनले बताए ।  इलाममा,सन्दकपुर, माईपोखरी, कन्याम-अन्तुसर्किट, छिन्टापु, सानो पाथीभरा, सिद्धिथुम्का, माङ्मालुङ, माङ्सेबुङ, गजुरमुखी, रेड पाण्डा पाइने वन  तथा इलाम सदरमुकाम, पशुपतिनगरआदि पर्यटकीय आर्कषणका केन्द्र हुन् ।


क्लिकमान्डु