गत वर्षभन्दा यो वर्ष आर्थिक वृद्धि धेरै हुन्छः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार गठन भएपछि तीव्ररुपमा आर्थिक क्रियाकलाप भएको दाबी गरेका छन् । उनले वर्षको भन्दा आर्थिक वृद्धि बढी हुने अनुमान गरिएको समेत दाबी गरे ।

शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘मेरो सरकारको प्राथमिकता कोरोना विरुद्धको खोपमा सबैको पहुँचका साथै आर्थिक क्रियाकलापमा तीव्रता ल्याउनु थियो, त्यसमा काम भइरहेको छ ।’

उनले कोरोना महामारीका कारण शिथिल भएको अर्थतन्त्र उकास्नका लागि निजी क्षेत्रको विकास गर्दै उद्यम विकासमा काम गर्नुपर्ने बताए । उनले आर्थिक उदारिकण र निजीकरणबाट नेपाल अति विकसित राष्ट्रबाट स्तरोन्नती भएको अवस्थामा पुगेको बताए ।

चैतसम्म सबै नेपालीलाई खोप लगाउने उद्देश्य लिए अनुसार खोप अभियान हाल पनि जारी रहेको उनको भनाइ छ । उनले तीन वटै तहका सरकारको समन्वयमा कोभिड नियन्त्रणका लागि काम गरिरहेको समेत दाबी गरे ।

आफ्नो नेतृत्वमा सरकार गठन भएपछि नागरिकताको समस्या समाधान तथा संघीयता कार्यान्यन गर्ने विषय सरकारको उच्च प्राथमिकताको विषयमा भएको बताए ।

उनले संसदको गतिरोध अन्त्य गर्ने र एक वर्षभित्र तीन तहको दायित्व सरकारको भएकाले निर्वाचनका सबै काम सम्पन्न गर्न समेत अपिल गरेका छन् ।

उनले आर्थिक सामाजिक उत्पादनमुलक अर्थतन्त्रमा आफ्नो सरकाले प्राथमिकता राखेको बताए । महंगी नियन्त्रण तथा भ्रष्टाचार नियन्त्रणका लागि समेत काम गरेको दाबी गरे । संकटग्रस्त उद्योगको उत्थानका लागि विशेष आर्थिक प्याकेज ल्याएको समेत उनले बताए ।

उनले आम नागरिकलाई कोरोना संक्रमणको दर उच्च भएको भन्दै जनस्वास्थ्य तथा सुरक्षाको मापदण्ड पालना गर्न समेत आग्रह गरेका छन् ।

उनले चिकित्सक, नर्स, सुरक्षाकर्मी, सफाइकर्मीलगायतका अग्रपंक्तिमा काम गर्ने सबैमा उच्च सम्मान समेत रहेको बताए । उनले सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्डको इमान्दारितापूर्वक पालना गर्न समेत अपिल गरेका छन् ।


क्लिकमान्डु