मापदण्ड पूरा गरी व्यवसाय सञ्चालन गर्न दिनुपर्छः व्यवसायी



काठमाडौं । कोरोना महामारीलाई मध्यनजर गर्दै व्यवसायीहरुले सरकारले स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नेगरी व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गरेका छन् ।

विभिन्न पेशामा आवद्ध व्यवसायीहरुले कोरोनाको भयावह अवस्था देखिएपछि विगतका दिनमा सरकारले लकडाउन गर्ने गरेको र त्यसले अर्थतन्त्रमा ठूलो असर पारेको भन्दै व्यवसायीहरुले अब कोरोनासँगै व्यवसाय सञ्चालन गर्न सरकारले सहजता प्रदान गर्नुपर्ने माग गरेका हुन् ।

संकटको बेलामा सरकारले पर्यटन व्यवसाय लगायतका अन्य व्यापार व्यवसायका क्षेत्र बन्द गर्ने भन्दा पनि नियमलाई परिपालना गर्ने किसिमले सबैलाई समेटेर अघि बढ्नुपर्ने पर्यटन व्यवसायी निलहरि बास्तोलाले बताए ।

उनले यस्तो बेलामा सरकारले सहुलियत ऋण उपलब्ध गराएर स्वास्थ्यका मापदण्ड पालना गर्नेगरी व्यवसाय सञ्चालन गर्न दिन माग समेत गरे ।

व्यवसायी बाँस्तोलाले व्यवसायीहरुले पनि एउटा पेशामा मात्रै आधारित भएर काम गर्नु नहुने बताए । उनले राज्यले भरोसा नदिएको खण्डमा मजदुर र व्यवसायीहरु आफ्नो पेशाबाटै पलायन हुने अवस्था आइसकेको बताए ।
त्यस्तै यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले खोपकार्ड हेरेर मात्रै विमानमा चढ्न दिने भन्ने निर्णय अव्यवहारिक भएको बताए ।

उनले सरकारले यो निर्णय निर्णयका लागि मात्रै गरेको भन्दै व्यवहारमा उतारेर कार्यान्वयन गर्न नसकिने बताए । उनले सबै बालबालिकाहरुले कोरोनाबिरुद्धको खोप नलगाइसकेको र नेपालमा पनि पर्याप्त जनसंख्याले खोप नपाएकोले सरकारले गरेको उक्त निर्णय कार्यान्वयनमा लैजान कठीन रहेको बताए ।

प्रवक्ता बर्तौलाले विमानस्थलमा खोपकार्ड लगाएकाहरुलाई मात्र चढ्न दिँदा त्यसको रेकर्ड राख्ने सिस्टम नभएको भन्दै उनले सरकारले यस्ता निर्णयलाई सच्याएर सहजतापूर्वक काम गर्ने वातावरण मिलाइदिनु पर्ने बताए ।
त्यस्तै होटल संघका उपाध्यक्ष विनायक शाहले सरकारले जारी गरेको निर्देशनमा नियन्त्रणको कुरा मात्रै भएको तर कोरोनासँगै अर्थतन्त्र अघि बढाउने रणनीति नरहेको बताए

उनले सरकारले विगतमा झैँ यस वर्ष पनि निर्देशन जारी गर्दा अर्थतन्त्रलाई उकास्न कुनै पहल नगरेको बताए ।

उपाध्यक्ष शाहले व्यवसाय टिकाउने कुरामा पनि ध्यान दिनुपर्ने भन्दै आर्थिक गतिविधिलाई पनि चलायमान बनाएर अघि बढ्नुपर्ने बताए ।
उपाध्यक्ष शाहले सरकारले आर्थिक क्षेत्रलाई नजरअन्दाज नगरी सँगै लिएर जानुपर्ने बताए ।


क्लिकमान्डु