दुई वटा बीमा कम्पनीले पाए बोर्डबाट हकप्रद सेयर निष्काशनको अनुमति



काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई वटा निर्जीबन बीमा कम्पनीलाई हकप्रद सेयर निष्काशनको लागि अनुमति दिएको छ ।

बोर्डले शिखर इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्स कम्पनीलाई हकप्रद शेयर निष्काशनको लागि अनुमति दिएको बताइएको छ ।

बोर्डका एक अधिकारीका अुनसार बुधबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले दुई कम्पनीलाई हकप्रद सेयर निष्काशनको लागि अनुमति दिएको हो ।

शिखर इन्स्योरेन्सले प्रति कित्ता एक सय रुपैयाँको दरले ५२ करोड ७५ लाख ५७ हजार २०० रुपैयाँको ५२ लाख ७५ हजार ५७२ कित्ता सेयर निष्काशन गर्न लागेको छ । १०ः३ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको कम्पनीको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ ।

यस्तै आइएमई जनरल इन्स्योरेन्सले ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको छ । त्यसको लागि बोर्डले स्वीकृती दिएको छ । कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

बोर्डमा विगत ५ महिना यता अध्यक्ष नहुँदा सार्वजनिक निष्काशन बन्द भएको थियो । ५ महिनापछि अध्यक्ष नै नभएपनि आइपीओ, हकप्रद तथा प्राथमिक शेयर निष्काशनको अनुमति दिएको छ ।

पछिल्लो समय सार्वजनिक निष्काशन बोर्डले रोक्न नहुने भन्दै स्वतन्त्र उर्जा उत्पादक संघ लगायतले विरोध जनाउन थालेपछि बोर्डले अनुमित दिन थालेको छ ।


क्लिकमान्डु