खर्च गर्न नसकेर सरकारी खातामा पैसा बचेकोमा अर्थमन्त्री खुसी



काठमाडौं । खर्च गर्न नसकेर सरकारी कोष धनात्मक भएको भन्दै अर्थमन्त्रीले विज्ञप्ती जारी गरेका छन् ।

अर्थमन्त्री जनार्दन शर्माको सचिवालयले जारी गरेको विज्ञप्तीमा सरकारको समग्र आम्दानी तथा खर्चको पछिल्लो तीन वर्षको अर्धवार्षिक तथ्याङ्क हेर्दा आम्दानीतर्फ क्रमशः धनात्मक अवस्था देखिएको जनाइएको छ ।

आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्म राजस्व संकलन कुल लक्ष्यको ३८ दशमलव ९५ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७/७८ मा ४१ दशमलव ७३ प्रतिशत रहेको थियो ।

यस्तै चालु आर्थिक वर्ष २०७८/८९ को पुस मसान्तसम्म ४५ दशमलव ९१ प्रतिशत राजस्व संकलन भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ दशमलव १८ प्रतिशतले बढी हो । अर्धवार्षिक खर्चतर्फ भने पछिल्लो तीन आर्थिक वर्षको अवस्था हाराहारीमा रहेको छ ।

आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्म पुँजीगत खर्च १४ दशमलव ८९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा १४ दशमलव ४० भएको थियो । यस्तै चालु आर्थिक वर्ष २०७८/८९ को पुस मसान्तसम्म पुँजीगत खर्च १३ दशमलव ४४ प्रतिशत भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा शुन्य दशमलव ९६ प्रतिशत कम हो । प्रतिस्थापन बजेट ल्याउनुपर्ने आवश्यकता र मध्य असोजपछि मात्र बजेट कार्यान्वयनमा आएको कारणले पुँजीगत खर्च अपेक्षाकृत हुन नसकेको हो ।

समीक्षा अवधिको चालु र वित्तीय खर्चमा भने केही उतार चढाव देखिएको छ । आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्म चालु खर्च ३२ दशमलव ३५ प्रतिशत भएको थियो भने वित्तीय खर्च २२ दशमलव ४४ रहेको थियो । आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा चालु खर्च ३६ दशमलव ०८ रहेकोमा वित्तीय खर्च १३ दशमलव ०६ भएको थियो ।


क्लिकमान्डु