पुसमा ७० हजार घरजग्गा किनबेच, साढे ६ अर्ब राजस्व संकलन



काठमाडौं । पुस महिनामा ७० हजार घरजग्गा किनबेच भएको छ । भूमि, व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार पुस महिनामा ७० हजार १६८ घरजग्गाको किनबेच भएको देखाउँदछ ।

चाडपर्वका कारण कात्तिकमा घरजग्गाको किनबेच निकै खस्किएको थियो । तर, विस्तारै मंसिरबाट भने घरजग्गा कारोबारले लय समातेको छ ।

कात्तिकमा देशभर ५५ हजार घरजग्गा कारोबार भएकोमा मंसिरमा ६९ हजारको हाराहारीमा घरजग्गा किनबेच भएको थियो । त्यस्तै, पुस महिनामा १ लाख ५७ हजार सेवा प्रवाह भई ७० हजार घरजग्गा किनबेच भएको छ ।

देशभर १२६ वटा मालपोत कार्यालय छन् । उक्त मालपोत कार्यालयबाट मासिक ७० हजारको हाराहारीमा घरजग्गाको कारोबार हुँदै आएको छ ।

पुस महिनामा देशभरका मालपोत कार्यालयबाट ७० हजार घरजग्गा लिखित पारित हुँदा ५५ सय ५३ नामसारी, ४ हजार संशोधन, ३४ हजार ५३ रोक्का, २३ हजार फुकुवा र १ हजार ७ सय ६४ दाखिला खारेज गरेको विभागको तथ्याङ्कले देखाउँदछ ।

विभागका अनुसार तरलताको अभावको समयमा पनि घरजग्गाको कारोबार उच्च भएको जनाएको छ । पुसमा सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीबाट भएको छ । उक्त मालपोत कार्यालयबाट मात्रै ३२ सय ५० घरजग्गा कारोबार भएको तथ्याङ्कले उल्लेख गरेको छ ।

त्यस्तै, बेलबारी मोरङबाट ३ हजार ३९, भद्रपुर झापाबाट २७ सय ५५, नेपालगञ्ज बाँकेबाट २४ सय ११, जनपुरधामबाट धनुषाबाट २२ सय ७६, भक्तपुरबाट २० हजार ८५ र लगनखेलबाट १९ सय ६५ घरजग्गाको किनबेच भएको छ ।

उपत्यकामा ८ हजार बढी घरजग्गा किनबेच

उपत्यकाका तीन जिल्लाबाट पुस महिनामा ८ हजार बढी घरजग्गा कारोबार भएको छ । जसमा काठमाडौं, भक्तपुर र लगनखेल जिल्लामा रहेको ९ वटा मालपोत कार्यालयबाट ८ हजार ३ सय ८७ घरजग्गाको किनबेच भएको तथ्या्कले देखाउँदछ ।

उपत्यकामा सबैभन्दा बढी भक्तपुर मालपोत कार्यालयबाट बढी किनबेच भएको छ । उक्त मालपोत कार्यालयबाट २ हजार ८५ वटा घरजग्गा किनबेच भएको विभागले जनाएको छ । त्यसैगरी, लगनखेलबाट १९ सय ६५, कलंकीबाट १६ सय ९९, साँखुबाट ११ सय ६०, चावहिलबाट ८ सय ४९, डिल्लीबजारबाट ३ सय १०, टोखाबाट २८० र गोटीखेल ललितपुरबाट ३९ वटा घरजग्गाको किनबेच भएको छ । तर, मनमैजुबाट भने कुनै पनि घरजग्गाको किनबेच नभएको तथ्याङ्कमा उल्लेख छ ।

साढे ६ अर्ब बढी राजस्व संकलन

पुस महिनाको तुलनामा मंसिर महिनामा घरजग्गा कारोबार कम भए पनि उच्च रुपमा राजस्व संकलन भएको थियो । सो महिना ७ अर्ब ६ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । तर, पुस महिनामा कारोबार उच्च रहेपनि राजस्व संकलनमा भने गिरावट आएको छ ।

पुस महिनामा करिब ३५ करोड रुपैयाँले राजस्व संकलन कम भएको छ । पुस महिनामा देशभरका मालपोत कार्यालयबाट विभिन्न सेवा दिएवापत ६ अर्ब ७० करोड ४२ लाख ५० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

मालपोत कार्यालयहरूले सेवा करवापत २४ करोड ४५ लाख, बागमतीवापत २२ करोड १८ लाख, रजिष्ट्रेशन दस्तुरबाट ४ अर्ब ११ करोड ८० लाख, पूँजीगत लाभ करवापत १ अर्ब ४७ करोड ८१ लाख रुपैयाँ र अन्य विभिन्न विधा सो राजस्व संकलन भएको हो ।

त्यस्तै, उपत्यकाका ९ वटा मालपोत कार्यालयबाट मात्रै २ अर्ब ९८ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

साढे ५९ करोड छुट

देशभरको मालपोत कार्यालयबाट साढे ६ अर्ब बढी राजस्व संकलन साढे ५९ करोड रुपैयाँ छुट दिएको विभागले जनाएको छ । विभागले पुस महिनामा ५९ करोड ४५ लाख २५ हजार रुपैयाँ छुट दिएको छ ।

सरकारले महिलाका नाममा घरजग्गा रजिष्ट्रेशन पास गर्दा २५ देखि ३५ प्रतिशतसम्म छुट दिने व्यवस्था छ । साथै, ४० वर्ष पूरा भई बसेका एकल महिलाको छुट्टै व्यवस्था गरेको छ ।

ग्रामीण क्षेत्रका महिलालाई ३० र सहरी क्षेत्रका महिलालाई २५ प्रतिशत दस्तुर छुट दिने गरिएको छ । एकल महिलाले भने थप १० प्रतिशत छुट पाउने व्यवस्थाले रहेकाले सोहीअनुसार छुट प्रदान गरेको विभागको भनाइ छ ।


क्लिकमान्डु