पोखरामा अब एकै ठाउँमा जीपलाइन, बञ्जी र जायन्ट स्वीङ गर्न पाइने



काठमाडौं । पर्यटकीय नगरी पोखरा पछिल्लो समय एड्भेञ्चर पर्यटनका लागि पनि गन्तव्य बन्दै गएको छ । पर्यटनमा साहासिक खेलहरु एकपछि अर्को गर्दै पोखरामा उपलब्ध हुन थालेका छन् ।

पोखरा पुग्ने पर्यटकले अब पोखराको सौन्दर्यसँगै एड्भेञ्चर टुरिजमको पनि मजा लिन सकून भन्ने उद्देश्यले पोखराको हेम्जामा जिपलाइन, बञ्जी र जायन्ट स्वीङको शुरुवात गरिएको छ ।

लामो समयदेखि सञ्चालनमा रहेको जीपलाइनमा केही वर्षअघि बञ्जी जम्प थपिएको थियो भने हालै जायन्ट स्वीङ पनि थपिएको छ । पर्यटकले सराङकोटदेखि हेम्जासम्म जीप लाइनको मजा लिन सक्छन् भने हेम्जा स्टेसनमा बञ्जी जम्प र सँगै जायन्ट स्वीङको पनि रमाइलो लिन सक्नेछन् ।

जीप लाइन सञ्चालन गरिरहेको कम्पनी हाइग्राउण्ड एड्भेञ्चर नेपालले बञ्जी र जायन्ट स्वीङ दुबै सञ्चालन गरेको हो ।

कम्पनीका सीइओ दिनेश महर्जनका लागि सुपरम्यान जीपलाइनका लागि ५ हजार रुपैयाँ खर्च लाग्छ भने बञ्जी जम्पका लागि ४५ सय रुपैयाँ शुल्क तोकिएको छ । साथै जायन्ट स्वीङका लागि २ हजार रुपैयाँ शुल्क तोकिएको उनले जानकारी दिए ।

जायन्ट स्वीङमा एकैपटक तीन जनाले खेल खेल्न सक्छन् । जसमा ६० फिट उचाइबाट स्वीङगर्न सकिन्छ । जायन्ट स्वीङको औपचारिक उद्घाटन नभए पनि शुरुवात भने भइसकेको छ ।

‘२२ जनवरीमा औपचारिक उद्घाटन गर्ने योजना थियो तर कोरोना महामारीका कारण त्यो रद्द भयो । यद्यपि अहिले पर्यटकहरुले खेल खेल्न पाइरहेका छन्,’ उनले भने ।


क्लिकमान्डु