नेपालले अफगानिस्तानमा मानवीय सहायता सामग्री पठाउँदै



काठमाडौं । नेपालले अफगानिस्तानमा लत्ताकपडा, औषधि, भाँडाकुँडालगायत मानवीय सहायता सामग्री पठाउने तयारी गरेको छ । परराष्ट्र मन्त्रालयको नेतृत्वमा हिमालयन एयरलाइन्सको विमानमार्फत झन्डै १२ टन मानवीय सहायता सामग्रीसहित एक टोली आज त्यसतर्फ जान लागेको मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री डा नारायण खड्काले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को सदस्य राष्ट्रको नाताले अफ्ठ्यारोमा सहयोग गर्नुपर्ने नैतिक जिम्मेजारी ठानेर अफगानिस्तानमा मानवीय सहयोग सामग्री पठाउन लागेको जानकारी दिए ।

आज सहयोग सामग्री हवाईजहाज अफगानिस्तानको राजधानी काबुल जाने र विमानस्थलमा रहेको संयुक्त राष्ट्र सङ्घको कार्यालयका प्रतिनिधिमार्फत सामग्री हस्तान्तरण गरिने उनले बताउनुभयो ।

सङ्घको समन्वयमा आवश्यकताअनुसार खाद्यान्न, लत्ताकपडा, औषधि, आवश्यक घरायसी सामान, भाँडाकुँडा नेपाली जनताका तर्फबाट आफगान जनतालाई पठाउन लागिएको हो ।

नेपालको इतिहासमा पहिलो पटक यसरी हवाईजहाजमार्फतु मानवीय सामग्री लिएर अन्य राष्ट्रलाई सहयोग पठाउन लागेको मन्त्री खड्काले जानकारी दिए ।

‘हामी ठूला प्राकृतिक तथा दैविक विपदमाण् विभिन्न राष्ट्र तथा निकायबाट सहयोग त लिन्छौँ नै तर पनि यस कार्यले नेपाल सदैव सहयोग लिने मात्र होइन, आवश्यक पर्दा अन्य राष्ट्रलाई सहयोग गर्न पनि पछि पर्दैन भन्ने सन्देश जानेछ,’ उनले भने ।

अन्तर्राष्ट्रिय सम्बन्धको दृष्टिकोणबाट यो एक महत्वपूर्ण मिसन र अभियान भएको बताउँदै उनले यस अभियानमा संयुक्त राष्ट्र सङ्घ, नेपालका उद्योगी, व्यापारी, हिमालयन एयरलाइन्स, नेपाल आयल निगमलगायतको ठूलो सहयोग रहेको उल्लेख गरे । यस सहयोग अभियानमा सरकारलाई कुनै दायित्व नपर्ने गरी सबै सामग्री निःशुल्क रुपमा प्राप्त गरी पठाउन लागिएको हो ।

मन्त्री खड्काले अफनानिस्तानको पछिल्लोे समस्याका बारेमा मिडियामा देखे सुनेपछि नै सुरुदेखि नै आफ्नो मनमा यो ‘आइडिया’ आएको र त्यसका लागि विभिन्न कूटनीतिक माध्यमबाट पहल गरी नेपाल सरकार, मन्त्रिपरिषदमार्फत् यो अभियान अघि बढेको जानकारी गराए ।

यस कार्यलाई अघि बढाउने सन्दर्भमा नेपालमा रहेका सम्बन्धित विभिन्न देशमा राजदूतसँग परामर्श र छलफल गरी अन्तिम रुप दिएको उनले बताए । सहयोग सामग्री पठाउँदा विमान प्रस्थानका क्रममा बाटोमा पर्ने मुलुक पाकिस्तान र भारतको ‘एयर स्पेस’ पनि स्वीकृति प्राप्त भइसकेको छ । टोलीमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, उद्योगी व्यापार संस्थाका प्रतिनिधि, सञ्चारकर्मीलगायत रहेनेछन् ।


क्लिकमान्डु