५० हजार विरुवा रोप्नेलगायतका कामका लागि यति एयरलाइन्स र यूएनडीपीबीच सम्झौता
काठमाडौं । यति एयरलाइन्स र संयुक्त राष्ट्र संघ विकास कार्यक्रम (यूएनडीपी) बीच दीगो विकाश लक्ष्य प्राप्ति सम्बन्धी सम्झौता भएको छ ।
यति एयरलाइन्स र यूएनडीपीबीच दिगो विकास लक्ष्य प्राप्ति सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा एयरलाइन्सको तर्फबाट यति एयरलाइन्सका प्रमुख कार्यकारी निर्देशक (सिईओ) अनोज रिमालले र यूएनडीपीको तर्फबाट नेपाल प्रमुख आइसाने लावेले हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा बोल्दै यति एयरलाइन्सका सीइओ रिमालले यूएनडिपीसँग सन् २०१७ सालदेखि नेपालमा मौसम परिर्वतन सम्बन्धी, स्वास्थ्य ,शिक्षा र पर्यटन क्षेत्रमा काम गदै आएको बताए ।
उनले यति एयरलाइन्स यूएनडीपीसँगको सहर्कायमा वातावरणको क्षेत्रलाई बढी प्राथमिकता दिएर काम गर्दै आएको बताए ।
सम्झौताले एयरलान्सलाई वातावरणको क्षेत्रमा काम गर्न प्राविधिक, विभिन्न तालिमहरुको लागि थप सहयोग पुग्ने सीइओ रिमालले बताए । उनले पहिलेदेखि गर्दै आएको विरुवा रोप्ने, सरगरमाथाको फोहोर उठाउने तथा पर्यटन वृद्धि गर्ने काम अझ प्रभावकारी बनाउने गरी सम्झौता भएको बताए ।
त्यस्तै, यूएनडीपीका नेपाल प्रमुख आइसाने लावेले यति एयरलाइन्ससँगको सम्झौता नयाँ नभइ २०१७ देखि निरन्तर रुपमा वातारणको क्षेत्रमा काम गर्दै आएको बताए ।
कार्बन उत्सर्जन कम गर्न वातावरणको दिगो संरक्षण र विकासमा यो सम्झौताले महत्वपूर्ण काम गर्ने भनाइ व्यक्त गरे ।
उनले सम्झौतामा ५० हजार विरुवा रोप्ने र सगरमाथाको फोहोर व्यवस्थापनमा गर्ने र पर्यटन प्रवर्द्धन गर्ने सम्झौता भएको बताए ।
यति एयरलाइन्सले कोरोना महामारीभन्दा अगाडि एक हवाई यात्रु एक विरुवा रोप्ने अभियान समेत गर्दै आएको थियो । तर यो अभियान कोरोना महामारीको कारणले रोकिएको छ । एयरलान्सले अहिलेसम्म २ लाख ७३ हजारभन्दाबढी विरुवा विभिन्न ठाँउमा रोपेको एयरलाइन्सले बताएको छ ।