विद्युतीय गाडी बेच्ने बिवाइडीमा जागिर खान गएकी यमुना बनिन् कम्पनीको मालिक र नाडा पुग्ने पहिलो महिला




काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको प्रवेशसँगै लोडसेडिङको कालो दिन हट्यो । यसले मुलुकको ठूलो समस्या समाधान भयो ।

तर, यसले यमुना श्रेष्ठको पेशामा भने संकट आयो । उनले चीनबाट व्याट्री, इन्भरटर, सोलार, चार्जर, व्याकअपजस्ता बैकल्पिक ऊर्जाका साधन आयात गर्दिन् ।

लोडसेडिङ अन्त्य भएसँगै उनको यो व्यवसाय ओरोलो लाग्यो । तर, त्यसपछिको निर्णयले भने उनको व्यवसायको दायरालाई अझ बढी फराकिलो बनाइदियो ।

त्यो बेला साइमेक्स इन्टरनेसनलबाट भवन भट्ट र सांग्रिला ग्रुपका प्रसिद्धबहादुर पाण्डेसहितका अन्य व्यक्तिले चीनको बिवाइडी कम्पनीबाट विद्युतीय गाडी आयात गर्ने योजना बनाइरहेका थिए ।

यमुना त्यो कम्पनीमा जागिरे थिइन् ।

कम्पनीका लगानीकर्ताहरुबीच विमति उत्पन्न भयो ।

भवन भट्टले यमुनासँग प्रस्ताव गरे, ‘मेरो सेयर बिक्री गर्दै छु । तपाईं लिनुहुन्छ ?’

सन् २०१८ मा भट्टसँग रहेको ५० प्रतिशत सेयर यमुनाले लिइन् । पाण्डेको सेयर पनि अन्य व्यक्तिले लिए । अरु केही थपिए । बिवाइडी आफैं पनि यसमा संलग्न भयो ।

आज यमुना श्रेष्ठ चिनियाँ कम्पनी बिवाइडीको विद्युतीय गाडी बेच्ने साइमेक्स इन्टरनेसनलको प्रवन्ध निर्देशकमात्र होइन, नाडाको इतिहासमा कार्यसमितिमा पुग्ने पहिलो महिला बनेकी छिन् ।

हिँजोका दिनमा विद्युतीय सवारीसाधन भनेको सानो पुन्टे गाडी जुन शोखको लागि चढ्ने आम बुझाइ थियो । अहिले त्यो धारणा परिवर्तन भइसकेको छ । यसले व्यवसायीक रुप लिँदै उपभोक्ताले पनि विद्युतीय गाडी चढन् थालेका छन् ।

‘सन् २०१७ मा ४ सय किलोमिटर रेन्जको ‘इ सिक्स’ ल्याउँदा यो इभी गाडी हो है भनेर ठूलो अक्षरले लेखिदिनुपथ्र्यो,’ यमुनाले नेपालमा विद्युतीय गाडीको विकासक्रम बारे उनले भनिन्, ‘अहिले बिवाइडी विद्युतीय गाडी बिक्रेता कम्पनी हो भनेर गाडीका पारखी चिनिसकेका छन् ।’

यमुनाको कम्पनीले बिवाइडीको गाडीसँगै व्याट्री, सोलार, चार्जर, व्याकअपलगायतका विद्युतीय उपकरण आयात गर्छ । यो कम्पनी मुलुकको एक प्रमुख विद्युतीय गाडी, व्याट्री, सोलार बिक्रेता बनेको छ ।

नक्सालको ठूलो क्षेत्रफलमा बिवाइडी पार्क छ । त्यहाँ विद्युतीय कार, बसदेखि चार्जिङ स्टेसन पनि छन् । त्यसको नजिकै छ उनले पहिलेदेखि गर्दै आएको सोलार प्यानल र व्याट्री बिक्री गर्ने शोरुम ।

विद्युतीय गाडी चलाउने ग्राहक बेलाबेला उनकै स्टेसनमा चार्जिङका लागि आउँछन् ।

व्याट्रीको व्यवासायदेखि बिवाइडी गाडीको यात्रा र नाडामा प्रवेश कसरी सम्भवन भयो ? हामीले उनीसँग यसै विषयमा गफ गरेका छौं ।

व्यवसायको शुरुवात
सन् २०१२ तिर नेपालमा लोडसेडिङ चर्किदो थियो । १८ घण्टे लोडसेडिङ हुन थालेपछि घरदेखि व्यवसाय, कार्यालयमा वैकल्पिक उर्जाको प्रयोग हुन थाल्यो । यमुनाले यही बेलाको आवश्यता बुझेर बिवाइडीका व्याट्री आयात गर्न थालिन् ।

उनले आयात गरेका कम्प्याट व्याट्रबाट बत्ती बाल्नेदेखि टिभी चलाउन र कार्यालय संचालनसमेत गर्न सकिन्थ्यो । सँगसँगै चार्जिङ, पावर व्यांक, सोलार आयात गरिन् । उनले वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रसँग मिलेर पनि उनले काम गरिन् ।

सन् १९९५ मा स्थापना भएको चिनियाँ कम्पनी बिवाइडी व्याट्र उत्पादनमा विश्वकै अग्रहणी कम्पनी हो । यो विद्युतीय गाडी उत्पादनमा पनि विश्वकै अग्रणी स्थानमा पर्छ । व्याट्री उत्पादन गर्ने लक्ष्य राखेर २० लाख लगानी र २० कर्मचारीबाट शुरु भएको यो कम्पनी अहिले झन्डै २ लाख कर्मचारीसहित विश्वभर पुगेको छ ।

अहिले व्याट्रीमात्र होइन, विद्युतीय गाडी, सोलार इनर्जी, मोनोरेल र आइटी क्षेत्रमा काम गर्ने विश्वकै चर्चित कम्पनी बनेको छ ।

भूकम्पपछि भारतले लगाएको नाकाबन्दीले मुलुकमा डिजेल र पेट्रोलको हाहाकार भयो । यही समस्यालाई ध्यानमा राखेर यमुनाले बिबक्स आयात गर्न थालिन् । यो होटल, बैंक ठूला कर्पोरेट अफिसमा प्रयोग हुन्थ्यो ।

नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको आगमनसँगै लोडसडिङको अन्त्य भयो ।

लोडसेडिङ अन्त्य मुलुकको लागि राम्रो भए पनि यमुनाको व्यक्तिगत व्यवसायलाई भने सकारात्मक भएन ।

‘त्यसपछि म नेपालमा विद्युतीय गाडी ल्याउनुपर्छ भनेर लागेकी हुँ,’ यमुना भन्छिन्, ‘मैले बिवाइडी गाडीको व्यवसाय गर्ने निर्णय गरें ।’

सन् २०१७ मार्चमा पहिलो पटक ४ हजार किलोमिटर रेन्जको १० वटा ‘इ सिक्स’ बिवाइडी गाडी ल्याइन् । गाडी धेरै महंगो थियो । बिवाइडीले ५० हजार डलरमा गाडी उपलब्ध गराउन सकिने भन्यो ।

ल्याउन त ल्याइन् । तर, कसरी बेच्ने भन्ने समस्या भयो । एक वर्षसम्म बिक्री भएन । त्यो बीचमा प्रमोटरहरुले टेष्ट ड्राइभ गर्ने लगायत प्रवद्र्धनका काम गरे ।

‘पछि सरकारी परियोजना, कार्यालयहरुमा गाडी बिक्रीको लागि पहल गर्यौं,’ यमुना भन्छिन्, ‘त्यो सफल पनि भयो ।’

सबैभन्दा पहिला योजना आयोगमा स्वार्णिम वाग्लेले यो गाडी प्रयोग गरे । त्यसपछि एनई इन्जिनियरिङ, तनहुँ हाइड्रो पावर, राष्ट्रपतिले पनि यही गाडी प्रयोग गरिन् ।

त्यसपछि बिवाइडीको गाडीको चर्चा हुनथाल्यो ।

नेपालको सन्दर्भमा भने यो गाडीमा ग्राउन्ड क्लियरेन्समा केही समस्या देखिएको थियो ।

त्यसपछि उनले ल्याइन अर्को गाडी एमके । यसलाई यहाँ ल्याएर मुलुकभरी टेष्ट पनि गराइन् । यो ७ सिटर भ्यान, कार्गो भ्यान र ५ सिटरमा उपलब्ध थियो । बुकिङ राम्रो भइरहेको बेला कोरोना आयो ।

यता अर्थमन्त्री युवराज खतिवडा भएसँगै विद्युतीय गाडीमा सतप्रतिशत कर बढाइयो । ४८ लाखमा बेच्ने गाडीको मूल्य ८० लाख रुपैयाँ पुग्यो ।

विद्युतीय गाडी प्रवर्द्धन गर्नुको सट्टा सरकारले कर बढाएपछि यसको चर्को आलोचना भयो । सम्बन्धित व्यवसायीले पनि यसको विरोध गरे । खतिवडा अर्थमन्त्रीबाट हटे । विष्णु पौडेल अर्थमन्त्री बने । त्यसपछि सरकारले ५० प्रतिशत कर घटायो । अनिमात्रै बोर्डरमा रहेका गाडीहरु विस्तारै आउन थाले ।

गएको असारमा उनले नयाँ विद्युतीय गाडी ‘न्यू इ ६’ ल्याएकी छिन् । विद्युतीय गाडीमा यो अहिलेसम्मको सबैभन्दा नयाँ प्रविधि, व्याट्र भएको यमुनाको भनाइ छ । नेपालको रोडमा १७५ क्लियरेन्स र यसमा व्लेड व्याट्री प्रयोग भएको छ । यसको मूल्य ५७.५० लाख रुपैयाँ तोकिएको छ ।

‘असारदेखि अहिलेसम्म यो गाडी १७० युनिट बिक्री भइसकेको छ,’ यमुनाले भनिन्, ‘अहिले यसको माग धेरै राम्रो छ ।’

उनीसँग अहिले इभीमा बस, फोर क्लिभ, ब्रुमर, बस, ट्रक, व्याट्र, एम्बुलेन्स सोलार प्यानल छन् ।

असारपछि मात्रै न्यू इ सिक्स १५८ युनिट, ओल्ड इ सिक्स २६ युनिट, एमके १० युनिट, कार्गो भ्यान २ र एम्बुलेन्स एउटा बिक्री भइसकेका छन् । नेपाल एयरलाइन्सले २.५ टनको फोरक्लिप चलाइरहेको छ ।

विद्युतीय बसमा ७, ९, १२ मिटरमा उपलब्ध छन् । बिवाइडीले भने २७ मिटरसम्मका बनाएको छ । साझा यातायातले बिवाइडीकै १२ मिटरको विद्युतीय बस चलाइरहेको छ ।

नेपालमा अहिले विद्युतीय गाडीको माग बढ्दै गएको छ । ‘बिद्युतीय गाडी भनेको व्यवसायमात्र नभएर नेपालको लागि आवश्यक वस्तु भइसकेको छ,’ यमुना भन्छिन्, ‘नेपालमा बिद्युतीय गाडी प्रयोग बृद्धि गर्न चार्जिङ स्टेसन, गुणस्तर, दक्ष जनशक्तिमा ध्यान दिनुपर्छ ।’

अहिले तत्काल भने दक्ष जनशक्तिमा ध्यान दिनुपर्ने उनको भनाइ छ । अहिले जसरी विद्युतीय गाडी बिक्री भइरहेका छन्, चार पाँच वर्षपछि त्यसमा केही सानातिना समस्या देखिन थाल्नेछ । त्यो बेला चाहिने दक्ष जनशक्ति अहिलेदेखि तयार गर्दै जानुपर्ने उनी बताउँछिन् ।

‘उपभोक्तलाई समस्या आउँदा उनीहरु हैरान हुन नपरोस्,’ यमुना भन्छिन्, ‘बेकारमा इभी किनेछु भन्ने दिन नआओस् ।’

अर्को ध्यान दिनुपर्ने कुरा भनेको ‘क्वालिटी कन्ट्रोलन’ पनि हो । इभी असार साउनको भेल नभएर बाह्रमासे चल्ने नदी जस्तो हुनुपर्ने उनको भनाइ छ ।

चार्जिङ स्टेसनलाई त्यत्तिधेरै समस्या मान्दिनन् यमुना । गाडीको बिक्री हुँदा बित्तिकै चार्जिङ स्टेसन पनि बन्दै जाने उनको भनाइ छ ।

‘भैरहवा एयरपोर्टमा हामीले १४ वटा भ्यान र ५ वटा बस दिएका छौं,’ उनले भनिन्, ‘यहाँ हामीले २० चार्जिङ स्टेसन बनाएका छौं ।’

हरेक गाडीमा ७ किलोवाटको चार्जर निःशुल्क उपलब्ध गराइरहेका छन् ।अबको केही महिनामा चार्जिङ समस्या समाधान हुने दावी उनको छ । यसको लागि इभी आयातकर्ताहरुको एक योजना बनिरहेको छ ।

यमुनाले नै सबै इभी आयातकर्तासँग एउटा प्रस्ताव गरेकी छिन् । त्यो भनेको अहिले बैंकहरुले एटीएम संचालन गरे जस्तै इभी बिक्रेताले चार्जिङ स्टेसन बनाउने र न्यूनतम शुल्कमा सबै गाडीलाई प्रयोग गर्न दिने ।

‘यसमा सबै सहमत हुनुभएको छ,’ यमुनाले भनिन्, ‘यो कुरा अगाडि बढेको छ । कार्यान्वयनमा जान्छ ।’

नेपालमा विद्युतीय गाडी आयातकर्ता धेरै भइसकेका छन् । यस हिसाबले पनि हरेकले १०-१५ वटा बनाउने र एटीएम जस्तो सबैको लागि खुला गर्ने हो भने विद्युतीय चार्जिङको समस्या हुनेछैन ।

हाल मुलुकमा विद्युतीय गाडी आयात गर्ने कम्पनीहरुमा बिवाइडी, एमजी, हुन्डाई, किया, टाटा, महेन्द्र, रेडवाल, डियो जस्ता कम्पनीले विद्युतीय गाडी आयात गर्छन् । चाङवाङजस्ता अन्य केही कम्पनी आउने तयारीमा छन् ।

फरक किसिमको व्यवसाय गर्ने रहर
काठमाडौंको मध्यमबर्गिय परिवारमा जन्मिएकी यमुना सन् २००४ मा पढ्नको लागि जापान गइन् । यता परिवारले सानोतिनो व्यापार गरिरहेका थियो ।
जापानमा २ वर्ष बसेर नेपाल फर्किदै गर्दा परिवारको परम्परागत व्यवसाय गर्ने मन थिएन् । जागिरमा पनि खासै रुची थिएन ।

‘चलिआएका व्यवसायभन्दा केही फरक आफ्नै व्यवसाय गर्ने मन थियो मलाई’ उनले सुनाइन्, ‘म अरुभन्दा धेरै फरक सोच्थें ।’

जापानबाट सँगै फर्किएका साथीहरु पनि थिए । के गर्ने भन्ने सल्लाह पनि भइरहेको थियो ।

जापानमा एक रेष्टुरेन्ट खुबै मन परेको थियो उनलाई । रेष्टुरेन्टले नियमित ग्राहककालाई छुट दिन्थ्यो । त्योसँगै नम्बर (प्वाइन्ट) पनि दिन्थ्यो । निश्चित प्वाइन्ट जम्मा भएपछि विभिन्न अफर दिन्थ्यो । सेवा पनि उत्कृष्ट थियो ।

यो आइडिया राम्रो लागेको थियो उनलाई । यस्तै खालको रेष्टुराँ गर्ने भनेर नयाँ बानेश्वर चोकमा ठाउँसमेत हेरिन् । अति महंगो भए पछि कुरा अगाडि बढ्न सकेन ।

पछि परिवारकै सदस्यटबाट चलाएको सहकारीमा काम गरिन । त्यो पनि लामो समय जान सकेन ।

उनलाई एक बिल्डिङ कन्स्ट्रक्सन परियोजनामा अफर आयो । यहाँ ३ वर्ष काम गरिन् ।

‘यो प्राजेक्ट निकै सफल भयो,’ यमुना भन्छिन् ।

त्यो बेला नेपालमा बुटिकको लहर चलेको थियो । यमुनाले काठमाडौं सहरमा आफ्नो नजर घुमाइन् । पुरुषका लागि खोलेका बुटिक एक दुईवटा भन्दा धेरै थिएनन् ।

उनले भारतको चर्चित ‘म्यान वेयर’ बुटिकसँग फ्रेन्चाइज ल्याउन पहल गरिन् । एक वर्षसम्म प्रयास गरे पनि फ्रेन्चाइज, डिजाइन अतिमहंगो भएपछि नेपालमा सस्टेन हुन गाह्रो हुने देखिन् । त्यो पनि अगाडि बढ्न सकेन ।

उनले अर्को काम थालिन सरकारी अफिसमा ल्यापटप, काउन्टिङ मेसिन, स्टेसनरीको सप्लाइ गर्न । यही काम गर्दा गर्दै चीनबाट बिवाइडीका व्याट्री, सोलार आयात शुरु भयो ।

नाडामा प्रवेश

नाडामा पछिल्लो पटक चुनावको माहोल बढ्दै थियो ।

चुनावको झन्डै दुई महिनाअघि उनलाई फोन आयो- ‘तपाई पहिलो महिलाको रुपमा नाडामा आउनु पर्यो ।’

उनलाई भने खासै रुची थिएन ।

‘हैन बाहिर बसेर काम गरौंला नि,’ उनले भिनन् ।

‘त्यसो भनेर कहाँ हुन्छ । इभी समितिमा बसेर काम गर्नुपर्छ,’ उनलाई भनियो, ‘सिन्डिकेट तोड्ने हो । त्यसको लागि ध्रुब थापा आउनु भएको छ ।’

त्यत्ति अफर आएपछि उनले नाई भन्न सकिनन् । पहिलो पटक त्यसै बेला उनी नाडा अफिस टेकिन् ।

उनी चुनावमा सक्रिय भइन् ।

‘नाडामा पहिलो महिला आएको भन्दै सबैले सहयोग गर्नुभयो,’ यमुनाले सुनाइन्, ‘हाइहाई पनि भयो ।’

चुनाव पनि जितिन् । नाडाको ४६ वर्षको इतिहासमा उनी पहिलो महिला हुन् जो चुनावमा लडेर कार्यसमितिमा पुगिन् ।

उनी नाडाका दुई बैठकमा सहभागी भइसकेकी छिन् । चुनावमा गरेका प्रतिवद्धताअनुसार नाडाले काम गर्नुपर्ने उनको धारण छ ।

‘हेर्नु छ अब प्रतिवद्धताअनुसार नाडाले कसरी काम गर्छ ?,’ उनले भनिन् ।


सन्तोष न्यौपाने