पाँचतारे काठमाडौं मेरियट र तीन तारे फेयर फिल्ड मेरियटले आइपीओ निष्कासन गर्ने



काठमाडौं । अन्तर्राष्ट्रिय चेन होटलका रुपमा सञ्चालित काठमाडौं मेरियट र फेयर फिल्ड मेरियट होटलले प्राथमिक सेयर निष्कासन गर्ने भएका छन् ।

नक्साल रहेको पाँच तारे होटल काठमाडौं मेरियट र ठमेलमा रहेको तीन तारे होटल फेयर फिल्ड मेरियट होटलले सर्वसाधारणमा आइपीओ निष्कासन गर्नका लागि हालै दुबै होटललाई पब्लिक कम्पनीमा रुपान्तरण गर्ने निर्णय गरेका छन् ।

होटलका सञ्चालक शशिकान्त अग्रवालले गत साता दुबै होटल पब्लिक कम्पनीमा रुपान्तरण गर्ने निर्णय भएको क्लिकमाण्डूलाई जानकारी दिए ।

‘गत साता दुबै होटललाई कम्पनीबाट पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गर्ने निर्णय भएको छ, तर आइपीओ निष्कासन हुन अझै १ वर्षको समय लाग्न सक्छ,’ उनले भने ।

उनका अनुसार अहिले दुबै होटलको कति प्रतिशत आइपीओ जारी गर्ने भन्ने निर्णय भने टुंगिसकेको छैन ।

पाँचतारे होटल काठमाडौं मेरियटको चुक्ता पुँजी २ अर्ब रुपैयाँ छ भने तीन तारे होटल फेयर फिल्डको चुक्ता पुँजी ६० करोड रुपैयाँको छ ।

काठमाडौं मेरियट होटल १३ रोपनी क्षेत्रफलमा फैलिएको छ । १३ तले होटलमा अन्डरग्राउण्ड पार्किङ र त्यसभन्दा मुनी एक तलामा क्याफेटेरिया, तालिमक कक्ष, मिटिङ कक्ष र लन्ड्रिलगायतका काम गरिन्छ । होटलमा २१४ वटा रुम छन् । जसमा २० वटा स्वीट रुम छन् ।

होटलको दोस्रो तलामा अत्याधुनिक स्वीमिङ पुल, स्पा, जिमहलको व्यवस्था छ । बारमा रमाउनेहरुका लागि आकर्षक बार पनि छ । जापानिज, चाइनिज र कोरियन खानाका लागि छुट्टै रेष्टुराँ छ । सेमिनार गर्नका लागि झण्डै ८ सय मानिस अटाउने विशाल हल छ भने कर्पोरेट मिटिङ गर्नका लागि ५०, ८० र १२० जना अटाउने अरु हलहरु पनि छन् ।

हालसम्म नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएका होटलको संख्या चार छ । जसमा पाँचतारे होटलहरु ओरियन्टल होटल्स (होटल र्‍याडिसन), तारागाउँ रिजेन्सी होटल लिमिटेड (होटल हायात), याक एण्ड यति होटल र सोल्टी होटलले सर्वसाधारणका लागि आइपीओ निष्कास गरिसकेका छन् । जसमध्ये हाल याक एण्ड यति होटलको सेयर कारोबार नभएको लामो समयसम्म भइसक्यो ।

ठमेलको अलफ्टले पनि आइपीओ ल्याउने

साढे २ वर्षदेखि ठमेलमा सञ्चालन भइरहेको पाँच तारे होटल अलफ्टले पनि आइपीओ निष्कासन गर्नका लागि पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । पब्लिक कम्पनी भएसँगै अब होटलले सर्वसाधारणका लागि आइपीओ जारी गर्नेछ ।

छाँयादेवी कम्प्लेक्समा रहेको उक्त होटलमा २ अर्ब रुपैयाँ लगानी भएको छ । १४ तले कम्प्लेक्सको ७औं तलाभन्दा माथिका ७ वटा तलामा होटल सञ्चालनमा छ । होटलमा १६७ वटा कोठा छन् । जसमा १३ वटा स्वीट रुम र १५४ वटा डिलक्स रुम छन् ।


क्लिकमान्डु