५८ प्रतिशत उद्योगी लगानी थप्ने मुडमा, ओमिक्रोन लहरले कस्तो प्रभाव पार्ला ?



काठमाडौं । मुलुकमा कोरोना संक्रमणको अवस्था केही सहज भइरहेको बेला व्यवसायीहरु थप लगानी बिस्तार गर्ने मुडमा देखिएका छन् ।


चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ६० प्रतिशत व्यवसायी थप लगानीको बिस्तार गर्ने तयारीमा भए पनि विश्वव्यापीरुपमा फैलिँदै गरेको कोरोना भाइरसको ओमिक्रोन भेरिएन्टको असर पर्ने देखिएको छ ।

नेपाल उद्योग परिसंघले गरेको एक अध्ययनअनुसार मुलुकमा व्यवसाय संचालन गरेका मुख्य ठूला व्यवसायीमध्ये ५८ प्रतिशतले थप लगानी बिस्तार गर्ने योजना रहेको सार्वजनिक गरेको छ ।

परिसंघले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा गरेको अध्ययनका अधारमा निकालेको ‘द इन्ड्रस्ट्रिज स्टाटस रिपोर्ट’ (सेकेन्ड एडिसन) मा ५८ प्रतिशतले नयाँ लगानी गर्न चाहेको बताएका छन् ।

सीएनआईले मुलकुभरका ६२ वटा उद्योग व्यवसायमा गरेको अध्ययनका आधारमा उक्त तथ्य आएको हो । सीएनआईले सर्वेक्षण विधिको आधारमा गरेको यस अध्ययनमा सहभागी भएकामध्ये ५८ प्रतिशत उद्योगीले आफू लगानी विस्तार गर्न तयार रहेको बताएका थिए ।

‘यी उद्योगी नयाँ लगानी गरी उद्योग बिस्तार गर्न तयार छन्,’ सीएनआईका उपाध्यक्ष हेमराज ढकालले भने, ‘कोरोना संक्रमण कम भएसँगै उद्योगीले लगानी बिस्तार गर्न खोजिरहेका छन् ।’

नेपालमा सञ्चालनमा रहेका ठूला उद्योगीहरू यस अध्ययनमा सहभागी भएका थिए । यी उद्योगीबाट लगानी थप बिस्तार कति होला भनेर भन्न नसकिए पनि ठूलो मात्रामा लगानीको सम्भावना रहेको ढकालले बताए ।

ठूला स्तरका लगानीकर्ताले लगानी बिस्तार गर्नु भनेको सानास्तरका उद्योग व्यवसायीले थप अवसर पनि हो । ठूला स्तरका उद्योगलाई चाहिने कच्चा पदार्थ साना उद्योगले आपूर्ति गर्न सक्छन् । जसले गर्दा ठूलो स्तरको उद्योगलाई मात्र नभएर ससाना उद्योगमा अवसर आउने हुँदा रोजगारीका वृद्धिमा सहयोग हुनेछ ।

यसले उद्योगीहरु नेपालमा थप लगानी गर्न उत्साहित छन् भन्ने देखिन्छ । प्रश्न सोधिएकामध्ये सबैभन्दा धेरै सेवा क्षेत्रकाले नयाँ लगानी गर्न चाहेको बताएका छन् । सीएनआइको रिपोर्टअनुसार नयाँ लगानी गर्न सबैभन्दा धेरै सेवा क्षेत्रका उत्साहित छन् । सेवा क्षेत्रका ६८ प्रतिशतले नयाँ लगानी गर्न चाहेको बताएका छन् ।

त्यसपछि ऊर्जा क्षेत्रका ६६.७ प्रतिशतले नयाँ लगानीको चाहना देखाएका छन् । उत्पादनमूलक उद्योगमा ५६ प्रतिशत र कृषि क्षेत्रका २५ प्रतिशतले नयाँ लगानीको लागि तयार रहेको बताएका छन् ।

गत वर्षको अन्तिम त्रैमासिक र चालु आवको पहिलो त्रैमासिकमा मुलुकको राजनीतिक तथा आर्थिक क्षेत्रमा खासै फरक छैन तर पछिल्लो अध्ययनले भने नयाँ लगानी गर्न चाहने व्यवसायीको संख्या भने घटेको छ । पहिलो त्रैमासिकमा लगानी गर्न चाहने व्यवसायीको संख्या ८३ प्रतिशत रहेको थियो ।

दोस्रो त्रैमासिकसम्म आइपुग्दा बैंकको व्याजदर बढ्नु, तरलताको अभाव र नयाँ लगानीको लागि देखिएका केही समस्याका कारण लगानीको उत्साह घटेको हुनसक्ने सीएनआइको रिपोर्टमा उल्लेख छ ।

पहिलो समय कोरोनाको नयाँ लहरको त्रास फैलिरहेको छ । अफ्रिकाबाट शुरु भएको कोरोनाको ओमिक्रोन भाइरसले युरोप, अमेरिका, भारतहुँदै नेपालमा पनि देखापर्न थालेको छ ।

सरकारले बाहिरी गतिविधिलाई केही कडाइ गर्ने संकेत पनि देखाएको छ । यसले नयाँ लगानी गर्न चाहने व्यवसायीलाई अझ बढी प्रभावित पार्नसक्ने देखिन्छ ।

सीएनआइले मुलुकका विभिन्न पाँच उद्योगहरु उत्पादन र निर्यातको सम्भावना रहेको देखाएको छ । यी उद्योगले उत्पादन बढाइरहेका छन् भने लगानी पनि थपेको देखिन्छ ।

सीएनआईको अध्ययनले जुत्ताचप्पल उद्योग, गार्मेन्ट र टेक्सटाइल उद्योग, औषधि उद्योग, प्लाष्टिक उद्योग र पावर ट्रान्सफर्मर उद्योगहरु नेपालको सबैभन्दा धेरै सम्भावनायुक्त उद्योग रहेको देखाएका छ ।

यी उद्योगमा थप लगानीको आवश्यक रहेको र सरकारले यी उद्योगलाई प्रोत्साहन गर्नुपर्ने सम्बन्धित व्यवसायी बताउँछन् ।


क्लिकमान्डु