विद्युतमा आधारित मलकारखाना निर्माणमा जर्मन र थाइ कम्पनी इच्छुक, १ खर्ब २५ अर्ब लाग्ने अनुमान



काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले मलको समस्या समाधान गर्नका लागि नेपालमै विद्युतमा आधारित मल कारखाना निर्माण गर्नका लागि लगानी बोर्डमा प्रस्ताव पठाएको समेत जानकारी दिए ।

‘हाल वार्षिक २ लाख मेट्रिक टन डिएपी र ८ लाख मेट्रिक टन पोटासिएम चाहिन्छ । यति उत्पादनका लागि नेपालमा कारखाना स्थापना गर्नका लागि लगानी बोर्डमा प्रस्ताव दर्ता भएको छ,’ उनले भने ।

उनले यसका लागि १ खर्ब २५ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको समेत बताए । उनले यसका लागि जर्मनसँग विद्युतमा आधारित फ्याक्ट्री निर्माणका लागि छलफल भइरहेको जानकारी दिए ।

‘यसका लागि जर्मन र थाइल्याण्डको कम्पनी इच्छुक छन् । सबै प्रदेशमा आवश्यक मल उत्पादनका लागि प्रस्ताव पनि आएको छ । अहिले सामान्य छलफल मात्रै भएकको छ,’ उनले भने ।

उनले तत्काल मलको समस्या समाधान गर्नका लागि भारतसँग जीटुजीमार्फत् मल खरिदको सम्झौता हुने बताए । मन्त्री यादवले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा यसका लागि सम्झौता हुने उनको भनाइ छ ।

‘प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा मल खरिदका लागि सम्झौता हुने भएको छ, अहिले सरकारसँग भएको १२ हजार मेट्रिक टन युरिया र डीएपी किसानलाई दिन्छौं,’ उनले भने ।

उनले कृषि क्षेत्रलाई समृद्धिको यात्रामा जोड्नका लागि सरकारले कृषि क्षेत्रमा २० वर्षे योजना बनाएको बताए । उनले यसका लागि उचित बजेटको व्यवस्थापन गरी कृषिको आधुनिकरण, व्यवसायीकरण अनि औद्योगिकरण, मूल्य निर्धारण, भण्डारण र बजारीकरणको उचित प्रवन्ध गरिने समेत दाबी गरे ।


क्लिकमान्डु