सहकारीलाई कृषि क्षेत्रमा लगानी गर्न अर्थमन्त्री शर्माको आग्रह



अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रको विकास गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन् ।

अर्थमन्त्री शर्माले किसान, भूमि, नेपालको हावापानी र जलस्रोतको अन्तरसम्बन्धलाई व्यवस्थित बनाएर मात्रै देशको विकास र उन्नति सम्भव भएको उल्लेख गर्दै त्यसका लागि कृषि क्षेत्रलाई परिचालित गरेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पारे ।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल कृषि सहकारी केन्द्रिय संघको १४ औं वार्षिक साधारण सभामा बोल्दै उनले कृषि क्षेत्रलाई व्यवस्थित, संगठित र परिचालित गरेर मुलुकको अर्थतन्त्र निर्माणका लागि राज्यले विशेष लगानी गर्नुपर्ने आवश्यक्ता आंैल्याए । अर्थमन्त्री शर्माले किसानहरुलाई संगठित गरेर कृषि क्षेत्रको विकासमा लगानी बढाउन पनि सहकारीहरुलाई सचेत गराए ।

उनले त्यसका लागि सरकारले समेत विशेष ध्यान दिने आश्वासन दिए ।

‘हाम्रो किसान, हाम्रो भूमि, हाम्रो हावापानी र जलस्रोतको अन्तरसम्बन्धलाई व्यवस्थित गरेर परिचालित गर्न सक्दामात्रै हाम्रो देशको विकास र उन्नति हुने भएकाले किसानहरुको राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका छ । र यसलाई अझ धेरै माथि उठाउनुपर्ने आवश्यक्ता छ । हाम्रो बारीहरु बाँझो हुँदा हामी आयातित बस्तुहरु खाईरहेका छौं । उत्पादनमूखि अर्थतन्त्र निर्माणका लागि हाम्रो मुख्य माध्याम भनेको कृषि नै हो,’ उनले भने ।

कृषि क्षेत्रलाई व्यवस्थित, संगठित, परिचालित र राज्यको विशेष लगानीका आवश्यक्ता छ । आज कृषि क्षेत्र उपेक्षित रहेको कृषि क्षेत्रले पाउनुपर्ने सेवा र सुविधा नपाएको अर्थमन्त्री शर्माले बताए ।

किसानहरु मल नपाएको र त्यसमा आफ्नो ध्यानाकर्षण भएको मन्त्री शर्माले बताए ।

‘कृषि सहकारी जो लाखौं किसानहरु संगठित हुनु भएको छ । र सहकारीहरुले संगठित रुपमा किसानहरुलाई व्यवसायीकरण पनि गर्ने, आत्मनिर्भर पनि बनाउने, परिचालित पनि गर्ने र देश निर्माणमा एउटा महत्वपूर्ण योगदान गर्नका लागि यो संगठन धेरै महत्वपूर्ण छ । यो संगठनको नेतृत्वमा अवको हाम्रो कृषि उत्पादनको अभियानलाई, व्यापारको अभियानलाई आत्मनिर्भर हुने अभियानलाई, राष्ट्रिय पूँजी निर्माण गर्न कृषि क्षेत्रनै महत्वपूर्ण छ । त्यसलाई उद्योगमा समेत बदल्दै अगाडि बढाउनुपर्ने आवश्यक्ता छ । त्यतातिर यहाँहरुको विशेष ध्यानाकर्षण गराउन चाहन्छु,’मन्त्री शर्माले थपे ।

अर्थमन्त्री शर्माले कृषि क्षेत्र र किसानहरु राज्यबाटै उपेक्षित भएको स्विकार गर्दै अव उनीहरुलाई परिचालित गरेर कृषिमा आधारित उद्यमहरु स्थापना गर्न लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले कृषि क्षेत्रलाई उद्यममा बदलेर राष्ट्रिय पूँजी निर्माण गर्ने अभियानमा सहकारी संस्थाहरुले भूमिका महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गरे ।


क्लिकमान्डु