पर्यटनमन्त्री आले पर्यटन बोर्ड सीइओ रेग्मीलाई भने, ‘साँढेले ४ वटा गाडी बेचेर मेरो इमान किन्न खोज्यो’



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने बताएका छन् ।
शुक्रबार नेपाल पर्यटन बोर्डको २३ औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री आलेले इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने बताए ।


उनले हाल छानबिनका क्रममा रहेका बोर्डका सीइओ धनञ्जय रेग्मीले टोयोटाका गाडी बेचेर आफ्नो इमान किन्न खोजेको आरोप लगाए ।
मन्त्री आलेले सीईओ रेग्मीकै कारण बेलायतमा भएको विश्व पर्यटन मेलामा नेपालको बेइज्जत भएको भन्दै रक्सीको मातमा उन्मत्त भएका मानिसलाई संस्थाको सीइओ बनाउँदा संस्था चल्न नसक्ने बताए ।


उनले सीईओ रेग्मीलाई साँढेको संज्ञा दिँदै आफ्नो इमान किन्ने कुरा सपनामा पनि नसोच्न चेतावनी दिए ।


‘यहाँ साँढेहरुलाई ल्याएर राजनीतिक नियुक्ति दिइन्छ । अब त्यो साँढे हुँहुँहुँ गरेर आउँछ । भखैर पदबहाली गरेको हुँहुँहुँ गरेर आउँछ । म जाँदै जाँदिन भन्दा जाउँ हजुर भनेर जिद्दी गरेर मलाई लण्डन लग्यो,’ उनले भने ।


उनले लण्डनमा आफ्नो देशको बारेमा कुरा राख्नुपर्छ पनि भने तर मलाई बोल्न पनि दिइएन,’ उनले भने, ‘त्यहाँ १७ देशका मन्त्रीहरु राउण्ड टेबलमा बसेर आफ्नो देशको विषयमा टुरिजमको विषयमा कुरा राख्छन् । म आउट अफ रिङ छु । एउटा देशको मन्त्री । यहाँबाट लण्डन गएँ, दूतावासमा राखिदियो । लण्डनमा जाँदा टिकट कति लाग्छ अब म हेर्दै बसौँ त ? त्यो त व्यवस्थापनले गर्ने कुरा हो । अन्तिममा त्यो फोरममा मैले बोल्न पाइनँ । मलाई एकदमै इरिटेड भयो । अब यस्तो साँढेलाई सीईओ हामीले बनायौँ भने संस्था चल्छ ?,’ उनले भने ।


‘सदस्यहरुले यस्तो गर्नुहुँदैन संस्था डुब्छ भन्दा ल तपाई आज धेरै रिसाउनुभयो, जाउँ हिँड्नुस् रक्सी खान भन्ने, त्यस्तो साँढेलाई ल्याएर सीईओ बनाएपछि संस्था चल्छ त ? म त दुःखका साथ भन्छु, लण्डनमा हुँदा कार्यक्रममा डेढ घण्टा म उभिएँ, सबैले स्याम्पेन खाइरहेका छन् । म नखाने मान्छे साइडमा उभिरहेँ । हाम्रो त्यो साँढेले पनि भटाभट लगाइरहेको छ । आफ्नै आँखाले देखिरहेको छु, मलाई खा भन्छ । उसले पहिलाको मन्त्री जस्तो ठान्यो होला प्रेम आलेलाई । ४ वटा गाडी बेचेर प्रेम आलेलाई त्यो इमान म खरिद्छु भनेर त्यसले सोच्यो होला त्यो सपनामा पनि नसोचे हुन्छ । इमान बेचेर म यो चियरमा बस्नेवाला छैन ।’


क्लिकमान्डु