सौराहमा पर्यटक बढेनन्, नयाँ वर्षमा बढ्ने अपेक्षा



चितवन । अघिल्ला वर्षमा क्रिसमस अघिदेखि नयाँ वर्षसम्म सौराहाका होटलमा पर्यटकको निकै चहलपहल हुने गर्थ्यो ।

यसवर्ष भने सोचे जस्तो चहलपहल नभएको व्यवसायीले जनाएका छन् । हरेक वर्ष क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात सौराहामा कोठा पाउन मुस्किल हुने गर्दछ । यस वर्ष पनि ती दिन पर्यटकले भरिने भए पनि अघिल्ला र पछिल्ला दिनमा सोचेजस्तो पर्यटक नआएको व्यवसायीको गुनासो छ ।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराई गत वर्ष क्रिसमस अघिदेखि होटल ६५ प्रतिशत हाराहारी भरिने भए पनि यसवर्ष ४० प्रतिशत कट्न नसकेको बताउनुहुन्छ । नेकपा एमालेको महाधिवेशनपछि सौराहामा पर्यटकको सङ्ख्या बढ्दै जाने अपेक्षा गरिएको थियो ।

भट्टराईको भनाइमा कोभिडका कारण अर्थतन्त्रमा परेको प्रभावका कारण पर्यटकको आगमनमा कमी भएको हुनसक्छ ।

‘घुम्ने र रमाउनका लागि आर्थिक अभावका कारण पर्यटक कमी भएको हुन सक्छ,’ उनले भने ।

कोभिडका कारण थला परेको पर्यटन व्यवसाय अब उठ्ने अपेक्षा व्यवसायीको थियो । क्रिसमससँगै निकै पर्यटक बढ्ने अपेक्षा गरिएको भए पनि त्यसो हुन नसकेको उनको भनाइ छ ।

सौराहामा १२० होटल क्षेत्रीय होटल सङ्घमा आबद्ध रहेका छन् । सङ्घमा दर्ता नभएका अरु साना होटल पनि रहेका छन् । भट्टराईका अनुसार सौराहामा आठ हजार पर्यटक अट्न सक्ने क्षमता रहेको छ ।

सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरे अब पर्यटक बढ्ने अपेक्षा गर्छन् । विदामा पर्यटक धेरै आउने भन्दै उनले अब शुक्रबार नयाँ वर्ष मनाउन पर्यटक बढी आउने आकलन गरिएको जानकारी दिए ।

नेपालमा तत्काल बुकिङ गर्ने प्रचलन भएकाले बिहीबारदेखि होटलका बुकिङ एकाएक बढ्ने उनको भनाइ छ । यसवर्ष नयाँ वर्ष शनिबार परेकाले एक रात बस्ने धेरै हुने व्यवसायी बताउँछन् ।

घिमिरेको भनाइमा आजको बिदा पहिले जानकारी भएको भए बुधबारदेखि पर्यटक बढ्न सक्थे । सङ्घका महासचिव गुणराज थपलिया कोभिडका कारण पर्यटक नआएको अनुमान गर्छन् ।

‘नेकपा एमालेको महाधिवेशनपछि सौराहामा पर्यटक घट्दैन भन्ने हाम्रो अनुमान थियो,’ उनले भने ।

पछिल्लो समय ओमिक्रोेन देखा परेसँगै आन्तरिक पर्यटक डराएको थपलियाको भनाइ छ । अधिकांश पर्यटन व्यवसायी अब पर्यटक बढ्ने अपेक्षामा रहेको भए पनि त्यसो हुन नसकेको उनले बताए ।

रेष्टुरेण्ट एण्ड बार एसोशिएशन (रेवान)का निवर्तमान अध्यक्ष दीपेन्द्र खतिवडा ओमिक्रोन र बच्चाको परीक्षाका कारण पर्यटक नआएको अनुमान गर्छन् ।

राप्ती बगरमा रेष्टुरेण्ट चलाउँदै आउनुभएका खतिवडालाई पर्यटक बढे÷नबढेको सहजै थाहा हुने गर्दछ । सौराहा आउने पर्यटक अधिकांश राप्ती किनार पुग्ने गर्दछन् ।

‘यस्तो समयमा पनि पर्यटकको राम्रो चहलपहल छैन,’ उनले भने ।

यो समय पर्यटक आउने महत्वपूर्ण समय हो । अहिले आएका पर्यटक खर्च गर्ने खालका धेरै रहेको पाइएको छ । ठूला होटल र पर्यटकीय गतिविधिमा सहभागिता बढेको छ । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारी गत वर्ष जस्तो नभए पनि सन्तोषजनक रहेको बताउँन् ।

समग्र पर्यटकको सङ्ख्या धेरै नभए पनि आएका पर्यटक हात्ती चढ्ने गरेको उहाँको भनाइ छ । होटलमा गोष्ठी, कार्यक्रम, विवाहका बुकिङ राम्रो रहेको छ । होटल जङ्गल क्राउनका महाप्रबन्धक सन्तोष गिरीका अनुसार उनको होटलमा जनवरीमा मात्र चार वटा विवाह बुकिङ रहेको छ ।

भारतको पटना नाका हुँदै आउने पर्यटक सङ्ख्या राम्रो भए पनि अन्य पर्यटकको सङ्ख्या सन्तोषजनक नरहेको उनले बताए ।

होटल सेभेनस्टरका सञ्चालक माधव दुवाडीले होटलमा पछिल्ला दिनको बुकिङ सन्तोषजनक रहेको बताए । नेकपा एमालेको महाधिवेशनपछि उहाँको होटलको बुकिङ राम्रो रहेको छ ।

सोही होटलमा महाधिवेशनको बन्दसत्र भएको थियो ।

‘महाधिवेशनपछि केही दिन बुकिङ राम्रो नभए पनि त्यसपछि निकै राम्रो छ,’ उनले भने ।

सौराहाको राप्ती किनारमा नयाँ वर्षको अवसरमा शुक्रबार विशेष सांस्कृतिक कार्यक्रम गरिँदै छ । होटलहरूले आन्तरिकरूपमा विभिन्न कार्यक्रम गर्दै छन् । सौराहा सफारी पर्यटकका लागि नेपालको महत्वपूर्ण गन्तव्य हो । यहाँ आउने पर्यटक निकुञ्ज र सामुदाीयक वन घुम्न रुचाउँछन् ।


क्लिकमान्डु