हायात होटलको १४८ रोपनी जग्गा सरकारका नाममा फिर्ता गर्छुः पर्यटनमन्त्री आले



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले संसदीय समितिहरुले दिएको निर्देशन आफूले हुवहु पालना गर्ने प्रतिवद्धता जनाएका छन् ।

मंगलवार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री आलेले समितिले दिएको निर्देशन पालना गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

उनले सरकारी स्वामित्वमा रहेको १४८ रोपनी जग्गा तारागाउँ विकास समिति (हायात हाेटल)ले आफ्नो नाममा पारेको र यसलाई फिर्ता गराउने सम्बन्धमा समितिले पनि निर्देशन दिएको उल्लेख गर्दै सो जग्गा फिर्ता ल्याउने प्रतिवद्धता पनि जनाए ।

‘तपाईंहरुले दिएका निर्देशन विगतमा के हो मलाई थाहा छैन, म हुबहु लागू हुनेगरी काम गर्नेछु । तारागाउँ विकास समितिको विषय गम्भीर छ । १४८ रोपनी जग्गा आफ्नो नाममा राखिएको छ । जबकी त्यो राख्नै पाइदैनँ । यहाँहरुले पठाउनुभएको निर्देशन समेत हेर्दाखेरी त्यो नेपाल सरकारको अधिनमा रहेको जग्गा कुनै व्यक्ति, कुनै प्राइभेट कम्पनी अथवा तारागाउँ रेजेन्सीमा त्यो राख्न मिल्दैन । तपाईंहरुले जुन मलाई निर्देशन दिनुभएको छ, हामी यसलाई हुबहु अघि बढाउने र नेपाल सरकारको जग्गा फिर्ता ल्याउने कुरामा तपाईहरु माननीयज्यूहरुको पनि सहयोग रहनेछ भन्ने मैले विश्वास लिएको छु । म निर्देशन कार्यान्वयन गर्नेतिर म जानेछु,’ उनले भने ।

मन्त्री आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि बजेट अभाव भएको समेत बताए ।

विमानस्थल निर्माणका लागि ८ हजार ५० हेक्टर जमिन विमानस्थलको नाममा आइसकेको भएपनि बजेट अभावका कारण काम सम्पन्न हुने नसकेको उनले जानकारी दिए । त्यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्बन्धमा रिठ्ठे डाँडाँको कटान प्रक्रिया पनि छिट्टै अघि बढाइने पनि उनले जानकारी दिए ।


क्लिकमान्डु