अध्यक्ष भएपछि शेखरजीले गुटभन्दा माथि उठेर विधान संशोधनको प्रस्ताव गर्नुभयो



नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा शेखर गोल्छा चुनिएपछि पहिलो बैठकबाट नै विधान संशोधनका लागि समिति गठन भएको थियो । उक्त समितिको संयोजकमा महासंघका पूर्वअध्यक्षसमेत रहेका कुशकुमार जोशी र सहसंयोजकमा पूर्वअध्यक्ष एवं विशिष्ट सदस्य पशुपति मुरारका छन् । पुस पहिलोसाता अध्यक्ष गोल्छालाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदन बुझाएसँगै महासंघका पदाधिकारीहरु भने यसको बिपक्षमा उभिएका छन् । महासंघका अध्यक्षको निर्वाचन प्रत्यक्ष गर्ने कि बरिष्ठलाई स्वत अध्यक्ष बनाउने भन्ने विवाद नयाँ भने होइन । लामो समयदेखि विधान संशोधनको किचलोमा रुमल्लिएको निजी क्षेत्रको बसैभन्दा बलियो छाता संगठन महासंघ अन्य समसामयिक विषयमा भने कमजोर बन्दै गएको छ । विधान संशोधनको मस्यौदा कसरी तयार पारियो र यसमा प्रस्ताव गरिएका विषयहरु कतिको न्यायसंगत छन् ? लगायतका विषयमा केन्द्रित रहेर विधान संशोधन मस्यौदा समितिका सह-संयोजक मुरारकासँग क्लिकमाण्डूका लागि पुष्प दुलाल र कमलकुमार बस्नेतले गरेको कुराकानीः

तपाईं अध्यक्ष भएका बेलामा आधा दर्जन पूर्वअध्यक्षहरुले विरोध गर्दागर्दै पनि विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने व्यवस्था गर्नुभयो र ६ वर्ष नबित्दै फेरि तपाईं नै उपसंयोजक रहेको विधान संशोधन समितिले अध्यक्षको प्रत्यक्ष निर्वाचन गर्नुपर्छ भन्ने प्रतिवेदन तयार पारेर महासंघ अध्यक्ष शेखर गोल्छालाई बुझाउनु भएको छ । त्यो बेला वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष नगरी नहुने र अहिले वरिष्ठ उापध्यक्ष स्वत: अध्यक्ष हुनै नहुने तपाईंको तर्कलाई दहीच्यूरे स्वाभाव भनेर किन नभन्ने ?


त्यो भन्न मिल्दैन । कुनै पनि हालतमा मिल्दैन । विधान संशोधन एउटा अध्यक्षले मात्रै गर्ने होइन । त्यो सबै साधारण सदस्यहरुले निर्णय गर्ने हो । त्यो बेलामा कार्यसमितिले जे प्रस्ताव लिएर गयो त्यो पास भएको थियो । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष भयो भने काम गर्न सजिलो हुन्छ र अनुभव पनि हुन्छ भन्ने आधारमा त्यसो गरिएको हो । र, अहिले विधान संशोधनको आवश्यकता अध्यक्षजीले देखेका कारण यो विषय उठेको हो । अध्यक्ष शेखर गोल्छाजीले निर्वाचनका क्रममा विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भन्ने प्रावधान हटाउने भन्नुभएको थियो । अहिले मेरो कारणले भन्दा पनि अध्यक्षको चाहनाअनुसार विधान संशोधनको कुरा आएको हो । यो उहाँको चाहना हो र सोहीअनुसार हामीलाई जिम्मेवारी दिनुभयो । र, हामीले काम गरेका हौं । हामीले त विधानमा भएका कमी कमजोरी पत्ता लगाउने र यसमा के गर्न सकिन्छ भन्ने आधारमा मस्यौदा तयार बनाएर पेश गरेका मात्रै हौं । हामीलाई दहीचिउरे भन्न मिल्दैन । हामीहरुको चाहनाले भन्दा पनि अध्यक्षज्यूको चाहनाअनुसार काम भइरहेको छ । यो मेरो चाहना अनुसार भएको होइन । मैले त आफूलाई दिएको जिम्मेवारी अनुसार नै काम गरेको हो । र, आजका दिनमा हिँजो र आजमध्ये कुनै एउटा सही वा एउटा गलत भन्ने होइन । हिँजोका दिनमा त्यो ठीक थियो । बीचमा साथीहरुलाई यो भएन भन्ने लागेको हुनसक्छ अहिले फेरि विधान संशोधनको विषय उठान भएको छ । र, यो आजको आवश्यकता हो । सही वा गलत होइन । मेरो हकमा म हिजोका दिनमा पनि सही थिए । आजका दिनमा पनि सही छु ।

हिजोका दिनमा तपाईं अध्यक्ष हुँदा विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था भयो । अहिले तपाईंनै फेरि त्यही विधान संशोधन गर्न लाग्नु भएको छ । ६ वर्षसम्म पनि टिक्न नसक्ने र आफैंले संशोधन गर्नुपर्ने कस्तो विधान बनाउनु भएको रहेछ त्यो बेला ?

पक्कै पनि म दुबै पटकमा सहभागी भएको छु । तर, यो मेरो चाहना वा इच्छाका कारणले भएको होइन । यो त अध्यक्षले दिएको जिम्मेवारी हामीले अहिले पूरा गरेको मात्रै हो । त्यसभन्दा बाहेक अरु केही पनि होइन । अहिले अध्यक्षज्यूले हामीलाई विधान संशोधनको मस्यौदा तयार पार्ने जिम्मेवारी दिनु भएको थियो । जसमा हामीले विभिन्न सदस्यहरुसँग प्रश्नावलीमार्फत् सुझाव संकलन गरेर मस्यौदा तयार पारेका छौं । जसमा ८० प्रतिशतभन्दा बढी प्रतिशतका सदस्यहरुले विधान संशोधन गरी अध्यक्षको प्रत्यक्ष निर्वाचनको पक्षमा सुझाव दिनु भएको छ । सोही अनुसार मस्यौदा तयार पारिएको हो ।

त्यसो भने हो तपाईंलाई अडान नभएको भनेर बुझ्ने कि समयसँगै परिवर्तनशिल हुनुहुँदो रहेछ भन्ने ?

तपाईं कसरी बुझ्ने त्यो तपाईंको विषय हो । तर, संस्था कुनै व्यक्तिको होइन । सबैको हुन्छ । धेरै सदस्यको जे चाहना हुन्छ सोहीअनुसार नै हुन्छ । यही नै हुनुपर्छ भन्ने छैन । बहुमत सदस्यको चाहना र इच्छाअनुसार नै काम हुने हो । अहिले पनि हामीले प्रस्ताव गरेको मस्यौदा हुबहु पारित हुन्छ भन्ने पनि छ छैन नि ।

जुन विधानअनुसार शेखर गोल्छा अध्यक्ष बन्नु भयो । अहिले शेखरजीले त्यही विधान किन परिवर्तन गर्न खोज्नु भएको होला ?

यो अध्यक्षज्यूको निर्वाचनमा जानुभन्दा अघिदेखि नै प्रस्ताव हो । हिजोका दिनमा म मैले विधान संशोधन गर्दा पूर्वअध्यक्षहरुले गलत भन्नु भएको थियो । आजका दिनमा पनि धेरै सदस्यको त्यही चाहनाका कारणले त्यसो भएको हुनसक्छ ।

हिजोका दिनमा पनि विधान संशोधन गर्दा कुनै व्यक्तिलाई लक्षित गरी संशोधन गरिएको र अहिले पनि कसैलाई लक्षित गरी संशोधन गर्न खोज्दै हुनुहुन्छ भन्ने आरोप पनि छ नि तपाईंमाथि ?

कसैलाई लक्षित गरेर ल्याएको होइन । तर, यसले कसैलाई फाइदा भएको हुनसक्छ । तर, नियत त्यस्तो थिएन । कसैप्रति लक्षित गरी विधान संशोधन गरिएको थिएन । फेरि वर्तमान कार्यसमितिले पूर्वअध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा विधान संशोधन समिति गठन गरेर दिएको जिम्मेवारी अहिले हामीले पूरा गरेको हो । कुनै व्यक्तिका लागि गरिएको होइन । यदि त्यस्तो कसैलाई लाग्छ भने कार्यसमितिको बैठकमा आफ्ना कुरा राखेर अस्वीकृत गर्ने मौका पनि छ ।

हामीले पदाधिकारी र सदस्यहरुसँग छलफल गरेका छौं, जसमा अधिकांशको सुझाव अहिलेको विधान संशोधन गर्ने नै छ । यो मुद्दामा म मुछिन पनि चाहेको होइन । हामीलाई त अध्यक्षले नै बोलाएर यो मस्यौदा लेख्नका लागि जिम्मेवारी दिनु भएको हो सोहीअनुसार हामीले मस्यौदा पनि बनाएको हो । विधान संशोधनका लागि कुनै सदस्यले गरेको प्रस्ताव अनुसार साधारण सभामा पेश गरेर पारित गर्ने एउटा विधि हो भने अर्को विधि कार्यसमितिले आवश्यकताको बोध गरी निर्णय गर्नुपर्छ । तत्कालीन समयमा पनि सबै उपाध्यक्षहरुले ताली बजाएर स्वीकार गर्नु भएको हो । तर, आजका दिनमा २ कार्यकालका लागि लागू नगर्ने बरु त्यसपछि यो व्यवस्था लागू गरौं भन्ने प्रस्ताव गर्नु भएको छ । जुन स्वार्थबाट प्रेरित छ भन्ने लाग्छ । आजका दिनमा पनि म भन्छु हामीले प्रस्ताव गरेको पास नै हुनुपर्छ भन्ने होइन ।

प्रश्नावली नै गलत मनासयले बनाउनु भयो भन्ने आरोप छ नि ?

हामीले के प्रश्न सोध्यौं वा सोधेनौं भन्दा पनि व्यवस्थामा के छ भन्ने हेर्नुपर्छ । कतिपय प्रश्नमा सटिक उत्तर ल्याउनका लागि, सटिक तथ्यांक निकाल्नका लागि अक्टेक्टिभ प्रश्न सोध्नु पर्ने हुन्छ । तर, मुख्य विषय के हो भने हामीले मस्यौदा तयार पारेका छौं त्यसमा अब छलफल गर्न सकिन्छ । उचित लाग्दैन भने बहुमतका आधारमा अस्वीकृत गर्न पनि सकिन्छ । आफ्नो स्वार्थका लागि मात्रै नभई संस्थाको बृहत्तर हितका लागि कुन व्यवस्था उचित छ भन्ने आधारमा निर्णय गर्ने हो । अब घनीभूत रुपमा छलफल गर्न सकिन्छ । अब प्रत्येक बुँदामा छलफल गर्न सकिन्छ । महासंघको हितमा हेर्ने हो भने स्वार्थभन्दा माथि उठ्नुपर्छ ।

भदौ महिनासम्म बुझाउने भन्ने थियो कि मंसिरसम्म समय लाग्यो ?

यसमा समय तोकिएको थिएन । हामी आफैले भदौमा दिन सकिन्छ कि भनेको हो । तर यसबीचमा कोरोना महामारीलगायतका कारणले ढिलाई भएको हो । यो मुख्य विषय होइन । यसबीचमा काम गर्दागर्दै समय केही लम्बिएको हो । अर्को कुरा हामीले कार्यसमितिका लागि मस्यौदा तयार पारिदिएको हो । हामीले सहयोग मात्रै गरिदिएको हो ।

कुनैपनि संस्थाको विधान संशोधन नै नहुने भन्ने कुरा हुँदैन । तर, महासंघमा पछिल्लो ६ वर्षदेखि विधान संशोधनबाहेक अरु कुरा नै हुन छाड्यो । यो त अलि लाजमर्दो भएन र ?

पक्कै पनि हो । विधान संशोधनलाई मुद्दा नै बनाइयो । यो गलत हो । हिँजोका दिनमा शेखर गोल्छालाई हटाउने नियतका साथ विधान संशोधनको मुद्दा ल्याइयो । यो भनेको विधान संशोधनमा बढी राजनीति भयो भन्ने हो । महासंघमा यो मुद्दा हरेक समयमा आइरहेको छ । तर अब यो समस्या समाधान हुनेछ भन्ने लाग्छ । त्यसैले यसपटकपको विधान संशोधनमा समेत हामीहरुले विधानको अपव्याख्या हुन नपाओस् भन्ने हिसाबले स्पष्टरुपमा उल्लेख पनि गरेका छौं । ताकी, भोलिका दिनमा व्याख्या गर्दा समस्या नआओस् । मस्यौदा बनाउनुअघि प्रत्यक्षरुपमा अध्यक्षको निर्वाचन, २ वर्षको कार्यकाल बनाउने अध्यक्षज्यूको एजेन्डा हो । र, बाँकी विषयमा हामीले थप गरेर मस्यौदा तयार पार्ने काम शुरु गरेका थियौं । जसमा ८० प्रतिशतभन्दा बढीले यसैमा सहमति जनाउनु भएको थियो ।

तपाईं अध्यक्ष हुँदा संशोधन भएको विधान नै परिवर्तन गर्न आज तपाईं आफैं लाग्नु अलिक अनौठो भएन र ?

म आजका दिनमा लागेको होइन । तत्कालीन समयमा पनि म ठीक थिएँ । आजका दिनमा अध्यक्षज्यूले दिएको जिम्मेवारी पूरा गरेको मात्रै हो । यो मेरो एजेन्डा होइन । मैले पब्लिक सेन्टिमेन्टका आधारमा आजका दिनमा काम गरेको हो । व्यत्तिगतरुपमा इच्छा पनि होइन ।

विधान संशोधनको कुरा आएपछि पदाधिकारीमा शेखरजी एकातिर अरु सबै अर्कातिर भएको देखिन्छ । यसले महासंघलाई कहाँ पुर्याउला ?

मलाई त त्यस्तो लाग्दैन । हामीले मस्यौदा बुझाउँदा पदाधिकारीहरु पनि त्यहीँ हुनुहुन्थ्यो । हामीले बुझाएको मस्यौदा के गर्ने भन्नेकुरा कार्यसमितिको अधिकारको कुरा हो । २/४ जना पदाधिकारीले आफ्नो व्यक्तिगत स्वार्थ हेरेर विरोध गर्दैमा शेखरजी एक्लो हुनुभयो भन्न मिल्दैन ।

एकातिर कोरोना महामारीले अर्थतन्त्र थिलथिलो बनेको छ भने अर्कातिर बैंकिङ प्रणालीमा देखिएको चरम तरलता अभावले कतिपय व्यवसायीहरु पलायन हुने अवस्थामा छन् । महासंघ नेतृत्व एकढिक्का भएर यस्ता गंभीर र समसामयिक विषयमा सरोकारवाला निकायमा लबिङ गर्नुपर्ने समय हो यो । तर, विधान संशोधनको बखेडा झिकेर रडाको मच्याएको देख्दादेख्दै नेतृत्वले कसरी सदस्यहरुको हितमा काम गरेको गरिरहेको छ भनेर भन्ने रु अनि, पत्याउने ?

कसले झिक्यो बखेडा ? पदाधिकारीहरु नै बखेडा झिकेर रडाको मच्चाउँदै हिँडेका छन् । उहाँहरुले बुझ्नुपर्ने कुरा के हो भने हामीले दिएको ड्राफ्ट अकाट्य त छैन । यो नियमित प्रक्रिया न हो । हामीले दिएको मस्यौदामा अब छलफल गर्ने हो । तर, गर्ने ठाउँमा छलफल नै नगरी मिडियामा छलफल गर्न थाल्ने हो भने त त्यसको अर्थ रहन्न ।

हिँजोका दिनमा तपाईंहरु नै राजनीतिक स्थिरता भएन भन्दै नेताहरुलाई तपाईंहरु नै गाली गर्नुहुन्थ्यो । तर, महासंघमा पनि त्यही प्रवृत्ति देखियो नि होइन र ?

हामी आफूलाई प्रजातान्त्रिक समाज पनि भन्ने र कुनै विषयमा सहमति भएन भन्दैमा गलत भन्न त मिलेन नि । व्यवसायीहरु त कुनै विषयमा एउटा र अर्को विषयमा अर्कैसँग सहमत हुन सक्छन् । यो त हाम्रो निर्वाचनको समयमा पनि देखिन्छ । तर, ती कुराहरु निर्वाचनसम्म मात्रै भए राम्रो हो भन्ने हो । आजका दिनमा विधान संशोधनको विषयलाई लिएर बखेडा झिक्नु गलत हो ।

हिँजोका दिनमा महासंघमा पूर्वअध्यक्ष चण्डीराज ढकाल हावी हुनुहुन्थ्यो । जसलाई चण्डी प्रवृत्ति भनियो । तर, अहिले तपाईं र अर्का पूर्वअध्यक्ष कुशकुमार जोशी विधान संशोधनमा हावी हुनुभयो । महासंघमा पात्र फेरिए पनि चण्डी प्रवृत्ति भने फेरिएन नि ?

तपाईंले लगाएको आरोप विल्कुलै गलत छ । किनभने आजका दिनमा हामीले महासंघको हितमा काम गरिरहेका छौं । यसोभन्दामा चण्डी दाईलाई म दोष दिन्न । र, आरोप पनि लगाउँदिन् । आजका दिनमा हामीले व्यक्तिभन्दा पनि महासंघलाई लक्षित गरेर मस्यौदा तयार पारेका छौं । आजका दिनमा १२ वर्षसम्म महासंघको कार्यसमितिमा रहेको व्यक्ति मात्रै अध्यक्ष हुन पाउने व्यवस्थालाइए ६ वर्षेमा सीमित गनेए प्रस्ताव गरेका छौं । २ वर्षे कार्यकाल पूरा गरेकालाई ३ वटा कार्यकाल र ३ वर्षे भएमा २ वटा कार्यकाल बिताएको व्यक्ति अध्यक्षमा प्रतिष्पर्धा गर्न सक्ने गरी व्यवस्थाको प्रस्ताव गरेका छौं । प्रादेशिक तहमा पनि संरचनालाई आधार बनाएका छौं ।

महासंघमा अध्यक्ष भइसकेको व्यक्तिले महासंघले सुझाव मागेको अवस्थामा सहयोग गर्ने हो । तपाईं पनि पहिला यही कुराको लविङ गर्नुहुन्थ्यो । तर, तपाईं पहिले जुन प्रवृत्तिका लागि लड्नु भयो, आज तपाईंमा त्यही प्रवृत्ति हावी भएको देखिन्छ नि ?

होइन । मैले कुनै पनि हस्तक्षेप गरेको छैन । र, गर्दिन पनि । पूर्वअध्यक्षका रुपमा मसँग सहयोग माग गरेको अवस्थामा सहयोग गर्ने हो । म विशिष्ट सदस्य हुँ । मैले सोही अनुसार आफ्नो सीमामा रहेर काम गरिरहेको छु । मैले यसो गर्नु वा त्यसो गर्नु पनि भनको छैन ।

महासंघमा मस्यौदा बनाउने क्रममा फरक मत राखेका आधारमा पूर्वअध्यक्षका रुपमा भवानी राणाको सुझाव नै लिनु भएन भन्ने आरोप पनि छ । भवानीजीलाई किन यसरी बाइकट गर्नुभएको ?

भवानी राणा निवर्तमान अध्यक्ष भएका आधारमा कार्यसमितिकै सदस्यका रुपमा रहने भएकाले उहाँलाई नबोलाएको हो । त्यसबाहेक सामूहिकरुपमा छलफलका लागि बोलाएको हो । जो-जो आउनु भयो उहाँहरुले सुझाव दिनुभएको छ । आनन्दराज मुल्मीले पोखरा र चण्डीराज ढकालज्यूले काठमाडौंबाट लिखित दिनुभएको छ । त्यसबाहेक बिनोद चौधरीज्यूको सुझाव आएको छैन ।

मस्यौदामा महिला उपाध्यक्षदेखि सदस्य संख्या थप्ने र गाउँपालिकासम्म पुग्ने महत्वपूर्ण कुराहरु छन् । तर, यी राम्रा कुराहरु ओझेलमा परेजस्तो देखियो नि ?

पहिले प्रादेशिक संरचनाको विषय उठान गरियो तर अधिकार दिइएको थिएन । अहिले आर्थिक सहयोथदेखि संरचना बनाएका छौं । अहिले महासंघको दायरा बढाउने कुरा पनि समावेश गरिएको छ । महिलाहरुलाई उचित स्थान दिएका छौं । जसका कारण कम्तीमा यो विधान संशोधन भयो भने ८ जना महिला हुनुहुन्छ । महिला नेतृत्वको संख्या बढाउने विषयमा हामीले योजना अनुसार नै व्यवस्था गरेका छौं । त्यसबाहेक युवा विङको अध्यक्षलाई पनि कार्यसमितिमा ल्याउने व्यवस्था गरेका छौं । विगतमा विधानमा भएका कतिपय व्यवस्थालाई स्पष्टसँग व्याख्या गरेका छौं ।

अब सदस्य नवीकरण गर्नका लागि कर चुक्ताको प्रमाणपत्र अनिवार्य गरेका छौं । त्यसबाहेक हामीले विधान लामोसमयसम्म रहन सकोस् र विधान संशोधनको समस्या लामो समयसम्म नआओस् भन्ने उद्देश्यले विधान संशोधनका मस्यौदा तयार पारेका छौं । राजनीतिक दलका समस्य भएको व्यक्ति महासंघमा हुँदैन । हरेक निर्वाचन साधारणसभाभन्दा पहिले हुनुपर्छ, हरेक प्रदेशमा हुनुपर्छ । र, हरेक प्रदेशमा एकैदिन निर्वाचन गर्ने गरी मस्यौदा तयार पारेका छौं । हामीहरुले हरसम्भव प्रयासले संशोधन गर्न नपरोस् भन्ने उद्देश्य राखेका छौं ।

निर्वाचनमा गोल्छा टिममा भएका सदस्यहरुले अहिले तपाईंहरुले धोका दिनु भयो भन्ने आरोप लगाइरहेका छन् । यस्तो वातावरण कसरी सिर्जना भयो ? र, कसले सिर्जना गर्यो ?

अहिलेका अध्यक्षज्यू निर्वाचनमा जाँदैगर्दा अहिले यस्तो आरोप लगाउनहरु पनि उहाँसँगै हुनुहुन्थ्यो । शेखरजीले तत्कालीन समयमै विधान संशोधनको कुरा उठाउनु भएको थियो । तत्कालीन समयमा उहाँहरुले विरोध गर्नु भएको थिएन । तर, अहिले आएर कतिपय साथीहरु विरोध गरिरहनु भएको छ । जबकी, प्रश्नावलीमा सहभागी भएका ८० प्रतिशतभन्दा बढी सदस्यहरुले विधान संशोधनको पक्षमा मत जाहेर गर्नु भएको छ ।

अहिलेका अध्यक्षज्यूले गर्ने राजनीति र मैले गर्ने राजनीति फरक हो । कतिपय अवस्थामा हाम्रा विचारहरु मिलेका हुन सक्छन् । तर मैले विधान संशोधनको मस्यौदा पेश गर्दै गर्दा केही साथीहरुले पत्र पठाउनु भयो । विशेष सधारणसभामा गणपुरक संख्या पुगिसकेपछि मात्रै पत्र आयो । त्यो पत्र ३ महिनाअघि नै आउनुपर्ने थियो । तर, त्यो समयमा पत्रको कुनै अर्थ थिएन । यहाँ व्यक्तिगत सम्बन्ध फरक हुन्छ ।

महासंघ अध्यक्ष शेखर गोल्छा प्राविधिक र विषयवस्तुमा अब्बल भएपनि राजनीति खेलाडी होइनन् । पृष्ठभूमिमा बसेर तपाईंले खेल्नुभयो भनिन्छ नि ?

यो सरासर झुट कुरा हो । शेखरजी राजनीति गर्न नजान्ने भएको भए महासंघजस्तो संस्थाको अध्यक्ष हुन सक्नुहुन्थेन । मैले शेखरजीलाई सफल बनाउनका लागि उहाँले लगाएको काम गरिदिएको मात्रै हुँ । यस अर्थमा शेखरजीले चाहीँ मलाई चलाएको हो । र, अर्कोकुरा म पृष्ठभूमिमा बसेर किन खेल्नु ? मलाई फेरि अध्यक्ष भएर आऔंला भन्ने छैन, महासंघबाट अन्य फाइदा लिऔंला भन्ने पनि छैन । शेखरको पृष्ठभूमिमा बसेर पशुपतिले खेल्यो भन्नु शेखरजीको क्षमता माथि प्रश्न उठाउनु हो । म भन्छु शेखरजी अत्यन्तै क्षमतावान र स्मार्ट मान्छे हो । उहाँलाई के गर्दा कसो हुन्छ भन्ने सबैकुरा थाहा छ । र, उहाँ प्रष्ट धारणा बोकेर हिँड्नुभएको छ ।

केहीदिन अघिमात्रै पदाधिकारीमध्येकै एकजनाले मसँग के भन्नु भयो भने निर्वाचनको समयमा विश्वास गरेका साथीहरुले अहिले फसाउन खोजे भन्दै गुनासो हुनुहुन्थ्यो । के साँचो हो ?

कुन ठाउँमा फसाइएको हो ? केका लागि फसाइएको हो ? कुन प्रसंगमा फसाइएको हो भन्ने स्पष्ट हुनुहुन्छ । तर एउटा कुरा के स्पष्ट हो भने महासंघको अध्यक्ष बनिसकेपछि शेखर गोल्छाले निर्वाचन सकिएसँगै गुट छाड्नु भएको हो । निर्वाचनसम्म ठीक हो । त्यसपछि सबैको अध्यक्षका रुपमा काम गर्ने भन्ने सोच राख्नु भएको छ । उहाँले गुटभन्दा माथि उठेर सबैलाई समान व्यवहार गरिरहनु भएको छ । र, यो महासंघको हितकै लागि हो भन्ने मेरो विश्वास छ ।

के कुरा स्पष्ट हो भने महासंघको अध्यक्ष बनिसकेपछि शेखर गोल्छाले निर्वाचन सकिएसँगै गुट छाड्नु भएको हो । निर्वाचनसम्म गुट ठीक हो । त्यसपछि सबैको अध्यक्षका रुपमा काम गर्ने भन्ने सोच राख्नु भएको छ । उहाँले गुटभन्दा माथि उठेर सबैलाई समान व्यवहार गरिरहनु भएको छ । र, यो महासंघको हितकै लागि हो भन्ने मेरो विश्वास छ । गुटभन्दा माथि उठेर शेखरजीले नै महासंघको विधान संशोधनको मस्यौदा लैजाँदै हुनुहुन्छ ।

मस्यौदा पारित भयो भने महासंघलाई कसरी बलियो बनाउँछ ?

अहिले महासंघको निर्वाचनमा पैसाको तडकभडक भयो भन्ने आरोप छ त्यो पनि हट्छ भन्ने हाम्रो विश्वास छ । विधान संशोधन भयो भने पैसा नहुने व्यवसायी पनि अध्यक्षमा लड्न पाउनु अवस्था हुनुपर्छ । प्रदेशमा निर्वाचन भयो भने यो समस्या पनि हट्छ । प्रदेशका संरचना बलियो हुँदैन । यसले महासंघलाई एक ठाउँमा ल्याउन सहयोग गर्छ । अर्को कुरा संशोधनको कुरा भइरहन्छन् । आवश्यकताअनुसार भइरहनु स्वभाविक नै हो । तर, मूलभूलरुपमा संशोधन गर्नुपर्ने आवश्यकता तत्कालका लागि नहोला ।


क्लिकमान्डु