कफीमा आकर्षण बढे पनि उत्पादन बढेन, ५ वर्षमा आयात दोब्बरले बढ्यो
काठमाडौं । मुलुकमा कफी खाने प्रचलन विस्तारै बढ्दो छ । कफी उत्पादन आठ दशक अघिदेखि नै सुरु भए पनि कफी पिउने चलन भने धेरैपछि मात्र शुरु भयो ।
२२ वर्ष अघि जब गगन प्रधानले हिमालयन जाभा शुरु गरे त्यसपछि काठमाडौंमा कफी खाने चलन शुरु भएको थियो । उनले स्वदेशी कफी प्रयोग गरिरहेका छन् ।
काठमाडौ र विभिन्न शहरमा खुलेका कफी सपले नेपालको मात्र होइन, विदेशबाट पनि कफी आयात गर्छन् । पछिल्लो ५ वर्षको अन्तरालमा कफीको आकर्षण बढ्दो रहेको कफी क्षेत्रमा संलग्न व्यवसायीहरूको भनाइ छ ।
नेपाल कफी व्यवसायी महासंघका महासचिव सन्तोष पोखरेलले पछिल्लो ५ वर्षको अन्तरालमा कफीप्रतिको आकर्षण बढ्दो रहेको बताए । उनकाअनुसार ५ वर्षअघिसम्म साना, ठूला र मझौला गरेर ३ सय कफीसप थिए भने अहिले उक्त संख्या बढेर १५ सय नाघिसकेको छ ।
‘गाउँघरमा कफी खाने बानीमा विकास नभए पनि विस्तारै शहरी क्षेत्रमा कफी खाने बढ्न थालेको छ,’ उनले भने । नेपालमा कफीको आकर्षण बढ्दै गए पनि उत्पादन भने घट्दो अवस्थामा रहेको उनको गुनासो छ ।
नेपालमा एकल प्रजातीको कफी उत्पादन भएकाले विश्व बजारमा परिचित भए पनि पर्याप्त उत्पादन भएको छैन ।
पछिल्ला दिनमा आन्तरिक बजारमा मात्रै वार्षिक १८ सयभन्दा बढी मेट्रिक टन कफी खपत हुँदै आएको छ । उक्त कफीलाई पनि आयातमै भर पर्नुपर्छ ।
नेपालको एकल प्रजातीका कफी विश्व बजारमा निकै माग भएकाले उत्पादन बढाउन सकेमा धेरै लाभ लिनसक्ने महासंघको भनाइ छ । साथै, निर्यात गर्न नसके पनि आन्तरिक बजारलाई आवश्यक कफी उत्पादन गर्न सकेमा धेरै फाइदा लिनसक्ने पोखरेलले बताए ।
आर्थिक वर्ष २०७३/७४ मा दुई हजार ६ सय ५० हेक्टर क्षेत्रफलको खेतीबाट ४ सय ६६ मेट्रिक टन कफी उत्पादन भएको थियो । आव २०७७÷७८ मा आइपुग्दा उत्पादन घटेर ३ सय १४ मेट्रिक टनमा सीमित भएको छ ।
आव २०७५/७६ मा ५ सय ३० मेट्रिक टन ग्रिनबिन कफी उत्पादन भएकोमा आव २०७६/७७ मा घटेर २ सय ९६ मेट्रिक टनमा सीमित भयो । साथै, आव २०७७/७८ मा ३ सय मेट्रिक टन उत्पादन भएको छ ।
नेपाल सरकारले कफी उत्पादनमा विभिन्न योजना बनाए पनि प्रतिफल देखिएको छैन । सरकारले पछिल्लो पटक २०१७–२०२१ को ५ वर्षे रणनीति अपनाएको थियो ।
दीर्घकालीन सोचलाई साकार पार्न ४ वटा रणनीतिक उद्देश्यहरू तयार गरिएको थियो । जसमा पहिलो प्राथमिकता सरकारको गुणस्तरीय कफीको उत्पादनमा वृद्धि गर्ने थियो ।
दोस्रोमा कफी क्षेत्रमा संलग्न सहकारी संस्थाहरूको सहायता उपलब्ध गराउने क्षमतामा विकास गरी कफीका हरियो दानाको गुणस्तरमा सुधार गर्ने र प्राङ्गारिक प्रमाणीकरणको व्यवस्था गर्ने रणनीति अपनाएको थियो ।
साथै, तेस्रोमा राष्ट्रिय क्षेत्रगत विकास समन्वय सुदृढ गर्ने र आन्तरिक र चौथोमा बाह्य बजारमा हिमाली विशिष्ट कफीको पहिचान बढाउने लक्ष्य लिएको थियो । तर, करिब ५ वर्षको अन्तरालमा उक्त रणनीति अपनाएपनि लक्ष्य पूरा गर्न नसकेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड स्वीकार्छन् ।
बोर्डका सुचना अधिकारी डा. दिपक खनालले सरकारले अपनाएको लक्ष्यअनुसार कफीको क्षेत्रमा सुधार गर्न नसकेको बताए । उनकाअनुसार सरकारले प्रत्येक वर्षमा उत्पादन बढाउँदै लैजाने भनिएको थियो । तर, मौसमलगायत अन्य विविध समस्याले गर्दा लक्ष्य भेटाउन नसेकेको हो ।
‘कोभिड आउनुभन्दा अगाडि २०१९ मा नेपालमा अत्यधिक चिसोका कारणले १३ जिल्लाका झण्डै १ हजार हेक्टरका कफीका बोटहरू तुसारोले गर्दा नष्ट भए । जसले गर्दा उत्पादन निकै कम भएको हो,’ उनले भने ।
उत्पादन वृद्धि गर्न युवा लक्षित कार्यक्रम गर्दै
सरकारले अपनाएको रणनीतिअनुसार उत्पादनमा वृद्धि गर्न नसकेपछि सरकारले आगामी वर्षदेखि युवा लक्षित कार्यक्रम अगाडि सार्ने भएको छ । बोर्डले आगामी आर्थिक वर्षदेखि ‘युवा लक्षित कफी विस्तार’ कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
बोर्डका सूचना अधिकारी खनालले कफीमा युवाहरुलाई रोजगारीको अवसर दिन र मुलुकको समृद्धिमा योगदान पु¥याउन आगामी आर्थिक वर्षबाट सो कार्यक्रम सञ्चालन गर्ने योजना तय भएको बताए ।
त्यस्तै, युरोपेली युनियनको आर्थिक सहयोगमा अन्तर्राष्ट्रिय व्यापार केन्द्र्र प्राविधिक सहयोगमा उद्योग वाणिज्य मन्त्रालयद्वारा सञ्चालित नेपाल व्यापार तथा लगानी कार्यक्रम (टीआइपी) ले ४ वर्षे योजना अगाडि बढाएको छ ।
टीआइपी अन्तर्गतको योजनामा हालै सिङ्गापुरबाट प्रशिक्षक ल्याएर तालिम प्रदान गरेको छ । उक्त तालिम प्राप्त विद्यार्थीहरूले विश्वका जुनसुकै मुलुकमा काम गर्न चाहे पनि योग्य हुने जनाएको छ । जसमा बोर्ड, मन्त्रालय र कफी व्यवसायी महासंघको सहकार्यमा सो कार्यक्रम गर्न सफल भएको महासंघका महासचिव पोखरेल बताउँछन् ।
साथै, सोही योजनाअन्तर्गत किसान पहिचान कार्यक्रम र तथ्याङ्क संकलन भइरहेको उनको भनाइ छ ।
५ वर्षमा आयात दोब्बर
वार्षिक उल्लेख्य रुपमा खपत हुन थालेपछि उच्च रुपमा आयात बढेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ । जसमा ५ वर्षको अन्तरालमा आयात दोब्बर भएको छ ।
आर्थिक वर्ष २०७३/७४ मा ५ करोड ४ लाखको कफी आयात भएकोमा आव २०७७/७८ मा आइपुग्दा १० करोड ६७ लाख रुपैयाँको आयात भएको छ ।
त्यस्तै, आव २०७६/७७ मा ११ करोड ८८ लाखको, २०७५/७६ मा ९ करोड ८० लाखको र २०७४/७५ मा ६ करोड ५८ लाख रुपैयाँको आयात भएको थियो । साथै, ५ वर्षको अन्तरालमा मात्रै ५ करोड १२ लाखको आयात गरिसकेको छ ।
५ वर्षमा करिब ५३ लाखको निर्यात
नेपालले ५ वर्षमा ५२ करोड ७६ लाख रुपैयाँ बराबरको ४ लाख ५४ हजार ६ सय केजी कफी निर्यात गरेको तथ्याङ्कमा उल्लेख छ । आर्थिक वर्ष २०७७/७८ मा ९ करोड ६० लाखको निर्यात गरेको थियो ।
त्यस्तै, आव २०७६/७७ मा ५ करोड ७७ लाखको, आव २०७५/७६ मा ९ करोड ९६ लाखको, आव २०७४/७५ मा ९ करोड १९ लाख र आव २०७३/७४ मा ८ करोड ४५ लाख रुपैयाँको निर्यात गरेको थियो ।
साथै, चालु आवको ५ महिनामा ३ करोड ६४ लाख रुपैयाँको निर्यात गरेको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।
नेपालले जर्मनी, कोरिया, जापान, अमेरिका, फ्रान्सलगायत मुलुकमा कफी निर्यात गर्दै आएका छन् । नेपालको एकल प्रजाती, हाइ हिमालय, अर्गानिक भएकाले विदेशी बजारमा माग बढ्दो रहेको छ ।
नेपालमा गुल्मी, पाल्पा, अर्घाखाँची, ललितपुर, तनहुँ, काभ्रे, सिन्धुपाल्चोक, लमजुङ, कास्की, गोर्खा, स्याङ्जा, पर्वत, बागलुङ लगायत अन्य २१ जिल्लामा व्यवसायिक खेती गर्दै आएका छन् भने ४२ वटा जिल्लामा भने उत्पादन गर्न सकिने एक अध्ययनले देखाएको छ ।